काठमाडौं । ‘दक्ष नेपाल सक्षम नेपाल’को नारासहित इन्टरनेसनल स्कुल फर स्किल्स (आइएसएस)ले नेपालमा आफ्नो यात्रा सुरु गरेको छ । सोमबार एक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष पंकज जलानले नेपालमा शिक्षा र सिपको दुरी कम गर्ने आइएसएसको स्थापना गरेको जानकारी दिए ।
‘कम्पनीले उद्योग सान्दर्भिक पाठ्यक्रम प्रदान गरी कम्पनीका कर्मचारी, कुनै पनि व्यक्तिलाई दक्ष बनाउन अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गर्ने मद्धत गर्नेछ,’ उनले भने ।
कम्पनीले नेपालमा लेभल ४ सर्टिफिकेट इन आइटी, लेभल ५ डिप्लोमा इन आइटी, लेभल सिक्स प्रोफेसनल ग्याजुएट डिग्री इन आइटीसहितको ब्रिटिश कम्प्युटर सोसाइटीले प्रदान गर्ने तालिम नेपालमा रहेको सेकेण्डरी लेभलभन्दा माथिका विद्यार्थीसहित आइटी तथा आइटीबाहेकका कुनै पनि संस्थामा काम गरिरहेका व्यक्तिहरुको लागि ल्याएको जलानले जानकारी दिए । 
कम्पनीले तालिम दिने विश्वको ४ ठुला संस्था मध्येको केपिएमजीसँगको सहकार्यमा अन्तराष्ट्रिय स्तरको तालिम दिने तयारी गरेको हो । कम्पनीको अनुसार व्यक्तिको दक्षताको आकलन गरी त्यस अनुसार तयारी गरी तालिम दिइने छ ।
यसका साथै आइएसएसले इजाँच नामक परीक्षा गराउने सफ्टव्येर पनि ल्याएको छ । यसमा एआई प्रविधीको प्रयोग गरीएको र कुनै पनि स्थानबाट यसबाट एकपटक ५० जनाको परीक्षा लिन सकिने कम्पनीले जनाएको छ । साढे १ वर्ष परीक्षण गरीएको यस सफ्टवेयरमार्फत सेन्चुरी बैंकको म्यानेजमेन्ट ट्रेनीको परीक्षाको साथै नेसनल आइसीटी स्कलरसिप पनि गरिसकेको कम्पनीले जनाएको छ ।