
वेलका नगरपालिका प्रदेश १ अन्तर्गत उदयपुर जिल्लामा पर्छ । यस नगरपालिकाका नगरप्रमुख हुन् दुर्गा कुमार थापा । उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि नगरपालिकाको विकासमा निरन्तर खटिरहेका छन् । यो अवधिमा सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा पालिकाले निक्कै प्रगति गरेको उनी दाबी गर्छन् । भौतिक पूर्वाधार विकाससँगै नगरवासीलाई आत्मनिर्भर बनाउने नीति लिएको पनि नगरप्रमुख थापा बताउँछन् । उनै नगरप्रमुख थापासँग चार वर्षको अवधिमा नगरपालिकाले गरेको उपलब्धि, सामाजिक रूपान्तरण, काम गर्दाका चुनौती, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन, आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
नगरपालिकाको नगरप्रमुख भएपछिको सुरुवाती दिनलाई कसरी सम्झनुहुन्छ ?
स्थानीय तहको संरचना बनि सकेपछि नगरपालिकाको प्रमुखको रूपमा निर्वाचित भए । त्यो बेला नगरपालिकाको अवस्था निकै जीर्ण थियो । निर्वाचित भएर आए पछि बस्ने ठाउँ समेत थिएन । संघीयताको पहिलो पहिचान, कर्मचारीको व्यवस्थापन, प्रशासनिक भवन नभएको कारणले गर्दा धेरै चुनौती र समस्या भएको मलाई अनुभव छ । नगरको ९ ओटा वडा मध्ये एक जनामात्र वडा सचिव थिए । कुनै पनि वडा प्रशासनिक भवनहरू थिएनन् । त्यो बेला २५ प्रतिशतमा घरधुरीमा बिजुली पुगेको थियो भने सडक कमै ठाउँ पुगेको थियो । हामी पूर्वाधारको हिसाबले धेरै ठुलो संकटमा थियौं । कतिपय असहज परिस्थितिका बाबजुद पनि हामी निर्वाचित भएको चार वर्ष पूरा भएको छ ।
स्थानीय तहमा नेतृत्व समलेको चार वर्ष पुरा हुँदा के कस्ता महत्वपूर्ण कार्य सम्पादन गर्नुभयो ?
नगरपालिकाले सन्तुलित विकासको अवधारण ल्याएको छ । एक क्षेत्रलाई नभई समग्र क्षेत्रमा परिवर्तन र विकासमा नगर लागेको छ । हामीले पहिलो नगरसभाबाटै ‘आर्थिक समृद्धि, सामाजिक न्याय र भौतिक पूर्वाधार, सुशासन, सामाजिक परिचालन, दिगो विकासको आधार’ भन्ने नारा तयार गरेका थियौं । यसका साथै हामीले ५ वर्षको आवधिक योजनाहरू तयार गरेका थियौं ।
हामी निर्वाचित भएको एक महिना भित्र ३ ओटा ट्रस्ट भवन निर्माण गरेका थियौं । उक्त भवनमा नगरपालिकाको कार्यालय सञ्चालन गरी सेवा प्रवाह भएको थियो । सुरुवाती चरणमा नगरपालिको आन्तरिक आम्दानी ३० लाख रुपैयाँ थियो । हाल नगरको आन्तरिक आम्दानी ३ करोड रुपैयाँ छ । हामीले पहिलाको लक्ष्यलाई परिवर्तन गरी समुन्नत समाज, समावेशी पूर्वाधार, समाजवाद उन्मुख वेलका नगर भन्ने नारा तयार पारेका छौं ।
हामीले नगरमा कृषि, पशुपक्षी, माछाको विकास र गुणस्तर शिक्षा, स्वास्थ्य, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, समावेशी, विकास, सुशासन, न्यायिक क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।
कृषि क्षेत्रमा नगरपालिकाले धेरै कामहरू गरेको छ । वडा नं. १ मा एक हजार बिगामा चकला बन्दी खेती भइरहेको छ । यसै गरी ६१ हजार हेक्टर जमिनमा माछा ब्लकका कार्यत्रम सञ्चालन भइरहेको छ । नगरको जग्गामा ३१ ओटो माछा पोखरी एकै ठाउँमा बनेका छन् । यसै गरी वडा नं. ५ र ८ मा बाख्रोको स्रोत केन्द्र रूपमा विकास गरेका छौं । १, २, ३, ५, र ९ नं. वडालाई बहु बाली जोउ खेतीको घोषण गरेका छौं । वडा नं. ५, ६, ७, ८ लाई मसला बाली जोनको घोषण गरेका छौं । यसका साथै मैरीपालन पकेटको कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ ।
यो वर्ष केराको पकेट क्षेत्र पनि छुट्याउदै छौं । दूधका डेरीहरू सञ्चालन भएका छन् । नगरले दिएको अनुदानमा मासु पसलहरूसञ्चालन भएका छन् । हामीले बजारको छैउमा सानासाना किसान केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएका छौं । ५ सय टनको किसान केन्द्र निर्माण भइरहेको छ । उक्त केन्द्रको निर्माणको काम अन्तिम चरणमा छ । नगरपालिकामा बोका, खसी संकलन केन्द्र पनि छ । नगरमा बिउ, बिजन भण्डारण केन्द्र ३ ओटा छन् । ११ कोठा भएको कृषि संकलन केन्द्र नगर परिषदमा नै निर्माण भएको छ । पशु र बाली बीमामा नगरपालिले थप अनुदानको व्यवस्था मिलाएको छ । नगरका सम्पूर्ण किसानहरूलाई किसान परिचय पत्रको व्यवस्था गरेको छौं । किसानहरुलाई ऋणको आवश्यकता पर्याे भने नगरले बैकसँग सम्झौता गरी ऋणको पनि व्यवस्था मिलाइ दिने छ । यसका साथै व्यवसायिक योजनाहरू बनाएका छौं ।
नगरपालिका र युवा स्वरोजगार कोष मिलेर हामीले एउटा फन्ट बनाएका छौं । त्यो फन्टबाट ३० हजार देखि २ लाख रुपैयाँसम्म २ प्रतिशत व्याज दर ऋण युवा अथवा कृषकलाई दिने व्यवस्था मिलाएका छौं । कृषि र कुमारी बैंकमा पनि समूह धितो राखेर अथवा नगरपालिकाले जिम्मा लिएर ऋणको व्यवस्था मिलाएको छ । यसै गरी नगरपालिकाले ऋणसम्बन्धी मापदण्ड पनि बनाएको छ । नगरपालिको दिएको तालिम आधारित रहेर उनीहरूको सिप अनुसार काम गर्नको लागि ऋणको प्रवाह पनि गरी रहेको छ ।
अनि स्वास्थ्य र शैक्षिक क्षेत्रमा कस्ता कामहरू भएका छन् नी ?
शिक्षा क्षेत्रमा पनि धेरै कामहरू गरेका छौं । हामी निर्वाचित भएको पहिलो वर्ष नै क्याम्पस बनाउने निर्णय गरी हाल बेलका जनता क्याम्पस भनेर चलाइरहेका छौं । नगर क्षेत्रमा ३ ओटा प्लस टु का विद्यालयहरू सञ्चालन भइरहेका छन् । जनता माविलाई नमुना विद्यालयको रूपमा घोषणा गरेका छौं ।
कोसो माविमा कानुन पढाई हुन्छ । प्राविधिक धारहरूलाई पनि नगरपालिकाले स्थापित गरी नमुना विद्यालय बनाएर वर्षको ३ करोड रुपैयाँ बजेट छुट्याउने गरेको छ । विद्यालयका २२ ओटा भवन यो ४ वर्ष भित्रमा निर्माण गरेका छौं । यसै गरी नगरका प्रत्येक विद्यालयमा बाल विकास केन्द्रको स्थापना गरेका छौं ।
नगर भित्रका प्रत्येक विद्यालयमा सिसिटिभी जडान भएको छ भने इन्टरनेटको पहुँच सबै विद्यालयमा पुगेको छ । स्थानीय पाठ्यक्रम नगरपालिका आफैले तयार पारेको छ । शिक्षा ऐन र नियावलिको पनि निर्माण गरेका छौं । शिक्षकहरूको पनि वर्षेनी योग्यता परीक्षा पनि लिन्छौं । नगरले एक सय ११ जना नगर शिक्षाहरू विद्यालयमा थपी दिएको छ । दलित समुदायमा निःशुल्क कोचिङ पढाउन टोल टोलमा शिक्षकको व्यवस्थापन गरेका छौं ।
स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो कामहरु गरेको छ । पालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवा उपलब्ध गराएका छौं । नागरिकलाई स्वास्थ्य संस्थासम्म जनाको लागि एम्बुलेन्सको व्यवस्था गरेका छौं । नगर अस्पतालमा हाल २४ औं घण्टा इमरजेन्सी सेवा खुल्छ । कोभिड अस्पताल पनि नगरमा छ । अक्सिजन प्लान्ट पनि जडान भएको छ । उक्त प्लान्टबाट प्रति दिन ५१ ओटा अक्सिजन सिलिन्डर उत्पादन हुन्छ । सो प्लान्ट नगरको आन्तरिक स्रोतबाट नै जडान गरेका हौं । यसै गरी नगर अस्पताल निर्माणको लागि टेन्डर लगाएका छौं । उक्त भवन निर्माणको लागि ११ करोड रुपैयाँ बजेट छुट्याएका छौं ।
यसका साथै प्रत्येक वडामा स्वास्थ्य संस्थाको भवन निर्माण गरी सकेका छौं । सहरी स्वास्थ्य किल्नीकका भवनहरु निर्माण गरी सकेका छौं । पालिकामा ३ ओटा प्रजनन् केन्द्र छन् । नगरले सर्व दमश उपचार केन्द्र सञ्चालन गरेको छ । उक्त अस्पतालमा भेन्टिलेटर पनि जडान भएको छ । नगरले आँखा अस्पताल पनि सञ्चालनमा ल्याएको छ । वडा नं. ४ मा नगरपालिका आफैले आयुर्वेद अस्पताल सञ्चालन गरी सेवा प्रवाह गरेको छ । घुम्ती स्वास्थ्य सेवाको सञ्चालन गरी बिरामीको घर घरमा गएर उपचार गरेका छौं । सुरक्षित मातृत्वका लागि एम्बुलेन्स सेवा सुचारु गरेका छौं ।
यसका साथै नगरपालिकाले शव वहानको पनि व्यवस्था मिलाएको छ । सहुलियत औषधी पसल पनि नगरले सञ्चालन गरेको छ । बच्चा जन्माउनुभन्दा अघि नै अस्पतालमा आउने महिलाहरूलाई बस्ने, खानेको व्यवस्था मिलाएका छौं । नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याएका छौं । स्वास्थ्य संस्थाको सुधिरिकरण गरी त्यहाँको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने काम समेत भएको छ ।
भौतिक पूर्वाधार विकासमा स्थानीय सरकारले झेल्नुपर्ने समस्या के–के हुन् ?
भौतिक पूर्वाधारमा स्थानीय सरकारले झेल्नु परेका सबै भन्दा ठुलो समस्या भनेको नै कानुनी जटिलता हो । अनि सबै भन्दा ठुलो समस्या जग्गा प्राप्तिको पनि हो । पहिलाको जस्तो कुनै भौतिक संरचना निर्माण गर्नको लागि व्यक्तिले जग्गादिँदैन, संरचना निर्माणको लागि सरकारी जग्गाको आवश्यकता पर्दछ । उपलब्ध जग्गा छन् तर, ती जग्गामा संरचना निर्माण गर्ने बेलामा संघीय सरकारबाट धेरै समस्याहरू आउने गरेको छ । बसपार्क निर्माणको लागि जग्गा प्राप्ति गर्न म लागि रहेको छु तर, अहिलेसम्म जग्गा प्राप्ति गर्न सकेका छैनौं ।
पूर्वाधारको क्षेत्रमा जग्गा प्राप्ति गर्न नसक्नु नै ठुलो समस्या हो । हामी विकासको लागि बजेट छुट्याउँ छौं । कोसी करिडोलबाट किमाथान्कासम्म पुग्ने सडक पोहोरै पिच हुनुपर्ने थियो । उक्त सडक प्राविधिक जनशक्तिको कमी, ठेक्का व्यवस्थापनमा कठिनाई, पर्याप्त बजेट विनियोजन नहुनु, अदालतमा गएका विषयहरू टुङ्गो नलाग्नुका कारण समस्या भइरहेको छ । अन्तर मन्त्रालयको समन्वयको अभाव त्यसै गर्दा पनि पूर्वाधारको विकासमा ठुलो समस्या परेको छ । चुरे क्षेत्रमा ठुङगा, बालुवा गिटि निकाल्न नदिने भएकाले गर्दा संरचना निर्माणमा समस्या छ । विकास निर्माण कामले तीव्रता नपाएको कारण पनि समस्या छ ।
यसै गरी सबै काम ठेक्काबाट हुँदैन । बजेट अभावको कारण निर्माण समयमै सम्पन्न हुन सक्दैन । बहु वर्षीय योजनाका रूपमा अघि बढाउँदा एउटै निर्माण व्यवसायीबाट निर्माण गर्न सकिने हुनाले स्रोत सुनिश्चित हुन आवश्यक पनि छ । राम्रो काम गर्नको लागि कठिन छ । यद्यपी हामी जनप्रतिनिधि, कर्मचारी, नागरिक आदिको सहयोगमा नै विकास निर्माणको काम अगाडि बढाइरहेका छौं ।
कोरोनाको पहिलो र दोस्रो लहरमा नगरपालिकाले कति बजेट खर्च गर्याे ?
गत वर्ष नगरपालिकाले विपत् व्यवस्थापन कोष भन्दै पैसा जुटाउन एक अभियान सञ्चालन गरेको थियो । उक्त अभियानमा विभिन्न संघसंस्था र व्यतिहरुले चन्दा दिएका थिए । पहिले वर्ष ३५ लाख रुपैयाँ चन्दा उठेको थियो । सो रकमबाट हामीले पहिलो लहरको कोभिड रोकथाम र नियन्त्रण गर्नको लागि रकम खर्च गरेका थियौं । संक्रमितको उपचार खाने, बस्ने, औषधी, राहत, क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनको लागि दोस्रो लहरमा लगभग २० लाख रुपैयाँ जति खर्च भएको छ । यस महामारीमा नगरपालिकालाई विभिन्न संघसंस्थले पनि सहयोग गरेका छन् ।
अनि चुनावी बाचा कति पुरा गर्नु भयो नी ?
हामीले चुनावी बाचा भन्दा बढि नगरमा काम गरेका छौं । हामीले घोषणापत्रलाई नै आधार मानेर ५ वर्षको आवद्धिक योजना बनाएका थियौं । हामीले लगभग घोषणापत्रमा लेखेका तथा निर्वाचित हुँदा बेलेको कुरा पुरा गरी सकेका छौं । हामीले एउटा काम गर्न सकेनौं । वडा नं. २ बर्खाको समयमा डुबानमा पर्छ । उक्त वडाका छेउछाउमा पर्ने खोलाहरुको पानी नियन्त्रण गर्न सकिरहेका छैनौं । निरन्तर परिरह्यो भने तत्काल उद्धारका लागि पनि समस्या हुन्छ । यसलाई नियन्त्रण गर्नको लागि बाँध त बाँध्यौं तर त्यो बाँध नै पानीले फुटाएर बस्तीमा पसेर बस्न नहुन अवस्था आएको छ ।
त्यस ठाउँको बस्ती स्थानान्तरण गर्ने अथवा नदिलाई नियन्त्रण गर्ने भन्ने बाचा थियो । त्यो काम हामीले पुरा गर्न सकेका छैनौं । उक्त वडाको सामपुरबाट २ नं. प्रदेश फत्तेपुरसम्म जोड्ने सडक पिच गर्ने भनेका थियौं । उक्त सडक २२ किलोमिटरको छ । तर त्यो मध्ये ४ किलोमिटर मात्र सडक पिच गरेका छौं । सो सडक पिच गर्नको लागि ६ करोड रुपैयाँ बजेट छुट्याएका छौं । यो वर्ष पनि सडकका लागि बजेट छुट्याएका छौं । अदालतको कारणले गर्दा स्थानीयको नम्बरी जग्गा पर्ने भएकोले अदालतले बाटो नै भत्काउनु भनेको छ । भनेको भन्दा धेरै काम पुरा गरेका छौं ।
अन्त्यमा नगरवासीलाई भन्नुपर्ने केही छ ?
म के भन्न चाहन्छु भने एकला एक्लै तानातान सबै मिले समाधान हुन्छ । विकासको काममा सबैको रचनात्मक सहयोग चाहियो । विकासमा जनताको निगरानी हुनुपर्छ । नगरले गरेको कामको निगरानी जनताले गर्नु पर्याे । नगरले काम गर्दैगर्दा कुनै ठाउँमा गल्ती भएको छ भने जनताको तर्फबाट राह्य सुझाव सल्लाह नगरलाई हुनुपर्छ ।
अनि समस्त नेपालीहरुमा शुभ दीपावली तथा छर्ठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यी चाडपर्वमा धेरै खर्च नगरी आफ्नो गक्ष अनुसार पर्व मनाउन र कोभिड–१९ को महामारी अझै पनि न्यूनीकरण भइनसकेको हुनाले सुरक्षित रहि चाडपर्व मनाउन तथा स्वास्थ्य रही जस्तोसुकै रोगलाई पनि जित्न सक्ने सामथ्र्यको विकास होस् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।