२० वर्षसम्म हुन नसकेको विकास यो ४ बर्षमा भएको छ – गाउँपालिका अध्यक्ष कुर्मी

<p>मायादेवी गाउँपालिका लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लामा पर्छ । यस गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी हुन् । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो अवधिमा सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा पालिकाले निक्कै प्रगति गरेको उनी दाबी गर्छन् । भौतिक पूर्वाधार विकाससँगै गाउँवासीलाई आत्मनिर्भर बनाउने नीति लिएको पनि अध्यक्ष कुर्मी बताउँछन् [&hellip;]</p>

मायादेवी गाउँपालिका लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लामा पर्छ । यस गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी हुन् । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो अवधिमा सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा पालिकाले निक्कै प्रगति गरेको उनी दाबी गर्छन् । भौतिक पूर्वाधार विकाससँगै गाउँवासीलाई आत्मनिर्भर बनाउने नीति लिएको पनि अध्यक्ष कुर्मी बताउँछन् । यसैक्रममा गाउँपालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, त्यहाँ गरिएका विकास निर्माणका काम, सम्भावना, चुनौती लगायत विषयमा केन्द्रित रहेर उनै अध्यक्ष कुर्मीसँग विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

स्थानीय सरकारको नेतृत्व सम्हाल्नुभएको ४ वर्ष पुरा भयो, मायादेवी गाउँपालिकाको मुहार कत्तिको फेरियो होला त ?

नयाँ संघीय संरचनाअनुसार स्थानीय तहको चुनाव भएको ४ वर्ष पुरा भएको छ । पालिकाको पहिलाको अवस्था निकै जीर्ण थियो । २० वर्षको समयसम्म जनप्रतिनिधिविहीन भइरहेको अवस्थामा नेपालको संविधान २०७२ मा भएको व्यवस्थाअनुसार प्रथम पटक संघीयताको कार्यान्वयनसँगै स्थानीयतहको चुनावमार्फत हामी पालिकामा निर्वाचित भएर आयौं । निर्वाचित भएर आइसकेपछि संघियताको मर्म र भावनालाई मध्यनजर गर्दै विकास निर्माणको कामहरू अगाडि बढाएका छौं । विगतमा जनताहरूले खेपेको सास्ती अहिले स्थानीय तहको निर्वाचन पछि अन्त्य भइसकेको छ । हाल पालिकाको धेरै क्षेत्रमा सुधार र परिवर्तन आएको छ । जनताको नजिकैको वा नागरिकको घर आँगनको सरकार स्थानीय तह हो । त्यसैले जनताको आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढेका छौं ।

पालिकाले प्रदेश र केन्द्र सरकारसँग मिलेर बहुबर्षी योजनाहरू पनि अगाडि बढाएको छ । कतिपय योजनाहरू निर्माणाधीन अवस्थामा पनि छन् । सडकको कुरा गर्दा पालिकाको प्रत्येक वडामा सडकको पहुँच पुर्याएका छौं । सडकको स्तारोन्न्ती गर्ने तथा कालोपत्रे गर्ने काम पनि भएका छन् । शिक्षा क्षेत्रतर्फ पनि धेरै कामहरू गरेका छौं । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं भने पालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको छ । हामीले स्वास्थ्य क्षेत्रमा पनि उत्कृष्ट कामहरू गरेका छौं । नागरिकलाई स्वास्थ्य संस्थासम्म जनाको लागि प्रत्येक ठाउँमा एम्बुलेन्सको व्यवस्था गरेका छौं । स्वास्थ्य संस्थाको सुधिरिकरण गरी त्यहाँको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने काम समेत भएको छ । पालिकाको प्रत्येक वडामा प्रजनन् केन्द्र समेत रहेका छन् ।

पालिकामा खानेपानीको चरम अभाव थियो । खानेपानीको समस्यालाई समाधान गर्ने प्रदेश र केन्द्र सरकारसँगको साझोदारीमा पालिकाले ‘एक घर एक धारा’ खानेपानी अभियान सञ्चालन गरेको छ । जस अन्तर्गत हामीले हलसम्म धेरैको घरमा खानेपानी पुर्याई सकेका छौं । पालिका सम्पूर्ण नागरिकको घरमा खानेपानी पुर्याउने हाम्रा लक्ष्य छ । हामीले एक मात्र क्षेत्रमा नभई समग्र पालिकाको विकास निर्माणको काममा लागेका छौं । सिचाईका कामहरू पनि अगाडि बढाएका छौं ।

कृषि क्षेत्रमा कस्तो कामहरू भएका छन् ?

कृषि क्षेत्रमा पनि पालिकाकोतर्फबाट धेरै कामहरू भएका छन् । नागरिकको आय आर्जनको मुख्य स्रोत कृषि हो । गाउँपालिकाले कृषिका विभिन्न कार्यक्रमहरू पनि गर्दै आएका छौं । जस अन्तर्गत प्लास्टिकमा तरकारी खेती, व्यवसायिक किसानलाई तालिमहरू दिने, गोष्ठी गर्ने गरेर उहाँहरूलाई कृषिमा उत्प्रेरणा गर्ने र प्रोत्साहित गर्ने पनि गर्दै आएका छौं । किसानहरूको माग अनुसार सेवा गरिरहेका छौं । हाम्रो पालिकाको प्रत्येक वडामा कृषि प्राविधिकहरू हुनुहुन्छ । उहाँहरूले कृषिमा आएको समस्यालाई समाधान गर्न र सेवालाई निरन्तरता दिनको लागि प्राविधिकहरूले हरेक ठाउँमा गएर सेवाहरू दिने गरेका छन् । उनीहरूले कृषिमा लागेका रोगको समाधान गर्ने काम गर्दै आउनु भएको छ । पालिकामा ८९ प्रतिशत नागरिकहरुले कृषि पेशा अँगालेको पाइन्छ । किसानहरूलाई ५० प्रतिशत अनुदानमा बिउ विजन वितरण गर्दै पनि आएका छन् ।

काम गर्ने क्रममा कस्ता चुनौती भोग्नुभयो र यसको सामना कसरी गर्नु भयो ?

स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । यो भनेको जनप्रतिनिधिमूलक संस्था भएकाले यहाँ, राजनैतिक विषय जस्ता अन्य विषय पनि आउन सक्छन् । चुनौतीलाई समाधान गरी नै हामी अगाडि बढेका छौं । चुनौती आयो भनेर दबाउने होइन, कसरी यसलाई समाधान गर्ने र सरलीकृत तरीकाले अगाडि बढेका छौं । चुनैतिको समाधान गरी पालिकामा विकास निर्माणको कामलाई तीव्रता दिएका छौं । हामी गाउँगाउँमा पुगरे स्थानीय तहको अनुभूति नागरिकलाई दिन सफल भएका छौं ।

अहिलेसम्मको काम गराईबाट सन्तुष्ट हुनुहुन्छ ?

हामी त अहिलेसम्मको काम गराईबाट सन्तुष्ट नै छौं । पालिकामा भएका विकास निर्माण पनि उपलब्धि मूलक नै छन् । ३० वर्षसम्म नभएका विकास यो ४ सालमा भएको छ । स्रोत साधनाको भरपुर उपयोग गरी पालिकाको विकास निर्माणको काम गरेका छौं । म मात्र नभई हाम्रो कामबाट पालिकाको नागरिकहरू पनि खुसी र सन्तुष्ट हुनुहुन्छ भन्ने आशा छ । हामीले सिंहदरवारको अधिकार नागरिकको घरघरमा पुर्याएका छौं ।

चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ?

स्थानीय तहको संरचना बनि सकेपछि चुनावको बेला घोषणापत्र लिएर नागरिकको घर आगनमा गएका थियौं । यो ५ वर्षको अवधिमा गर्न सक्ने कामकोहरु घोषपत्रमा उल्लेख गरेको थियौं । त्यही अनुरुप नै पालिकामा विकास कामहरू अगाडि बढाएका छौं । चुनावी प्रतिबद्धता पूरा गर्न हामी सदैव लागिरहेका छौं । निर्वाचनमा जनतामाझ गरिएका ८० प्रतिशत प्रतिबद्धता पूरा गरेका छौं । नयाँ कार्यहरू पनि गरेका छौं । समग्रमा हामीले आफ्नो स्रोत र साधनले भ्याएसम्मको सबै कार्य गरेका छौं । पालिका भएको विकास निर्माणको काममा उत्कृष्ट नै छ । २० वर्षसम्म हुन नसकेको विकास यो ४ बर्ष भित्रमा भएका छ् ।

आगामी दिनका योजना कस्ता छन् ?

हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ । गाउँपालिका भित्र जनताको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने पनि हाम्रो प्रमुख योजना छ ।

कोभिडको रोकथाम र नियन्त्रणको लागि गाउँपालिकाकोतर्फबाट कस्तो प्रयासहरू भएका छन् ?

यस महामारीको रोकथाम र नियन्त्रणका लागि पालिकाले सक्दो प्रयास गरी रहेको छ भने प्रभावकारी कदम पनि चालेका छौं । गाउँपालिकाले जब कोरोना संक्रमणको दोस्रो लहर सुरुभयो, लगत्तै हामीले क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनदेखि नगारिकहरुलाई यातायातको व्यवस्थासँगै जनचेतनाका कार्यक्रम गर्यौं । स्वास्थ्य क्षेत्रमा केही पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापन गरेसँगै कोरोना अस्पताल सञ्चालनमा ल्याएका छौं ।

कोरोनाको दोस्रो लहर पालिकामा फैलिएसँगै हामी कोरोना रोकथाम र नियन्त्रण गर्नको लागि अहोरात्र खटेर काम गर्यौं । पहिलाको तुलनामा पालिकामा संक्रमण दर घटे पनि संक्रमण बढ्न सक्ने जोखिम भने उच्च नै छ । पालिकामा सबैको सहयोगमा कोरोना रोकथाम र नियन्त्रण गर्न सकिएको छ । पालिकामा हालसम्म २ सय भन्दा बढिमा संक्रमणको पुष्टि भएको छ ।

अब, अन्त्यमा के भन्न चाहनुहुन्छ ?

विकास निर्माणको व्यापक कामहरु गरेर नागरिकलाई समृद्ध बनाउन हामी लागि परेका छौं । सुन्दर र समृद्ध गाउँपालिका निर्माण गर्न जनप्रतिनिधिको सक्रियतासँगै आम नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक छ । हामी नागरिकको सेवाका लागि सधैं तत्पर छौं ।

Share News