स्थानीय तहलाई अझै बलियो बनाउनु आवश्यक छ – उपाध्यक्ष खत्री

<p>धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशअन्तर्गत गुल्मी जिल्लामा अवस्थित गाउँपालिका हो । यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति एवं पर्यटन लगायतका पक्षमा निक्कै धनी छ । यस गाउँपालिकाका उपाध्यक्ष हुन् शिव बहादुर खत्री । उनी उपाध्यक्षको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो अवधिमा सामाजिक, आर्थिक शैक्षिक [&hellip;]</p>

धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशअन्तर्गत गुल्मी जिल्लामा अवस्थित गाउँपालिका हो । यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति एवं पर्यटन लगायतका पक्षमा निक्कै धनी छ । यस गाउँपालिकाका उपाध्यक्ष हुन् शिव बहादुर खत्री । उनी उपाध्यक्षको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो अवधिमा सामाजिक, आर्थिक शैक्षिक तथा पर्यटकीय क्षेत्रमा पालिकाले निक्कै प्रगति गरेको दाबी गर्छन् उनी । गाउँपालिकाको आर्थिक विकासको रणनीति, त्यहाँ गरिएका विकास निर्माणका काम, सम्भावना, चुनौती लगायत रोजगारी सृजनाका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले उनै उपाध्यक्ष खत्रीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सार :

स्थानीय सरकारको नेतृत्व सम्हाल्नुभएको ४ वर्ष पुरा भयो, धुर्कोट गाउँपालिकाको मुहार कत्तिको फेरियो होला त ?

नयाँ संघीय संरचनाअनुसार स्थानीय तहको चुनाव भएको ४ वर्ष पुरा भएको छ । सुरुसुरुमा हामीलाई सङ्घीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहयोगमा हामीले बिस्तारै हाम्रो आफ्नो गतिविधि तथा विकासका कामहरू अगाडि बढायौं । जनताको नजिकैको वा नागरिकको घर आँगनको सरकार स्थानीय तह हो ।

सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराअनुसारै सम्पूर्ण नागरिकले अपेक्षा पनि गरेका थिए । त्यो अपेक्षा अनुरूप पालिकाको ४ वर्षको गतिविधि हेर्दा एक किसिमले कायापलट नै भएको छ । यहाँ आएर अवलोकन गर्नेहरूले पनि पालिकाको विकास निर्माणको कामले तीव्रता पाएको अनुभूति गरेर जानुहुन्छ । यो अवधिभर जति पनि विकास निर्माणका कामहरू भएका छन्, ती सम्पूर्ण कामहरू उत्कृष्ट नै छ भन्ने हामीलाई लाग्छ । पहिलाको तुलनामा हाल पालिकाको मुहार धेरै नै फेरिएको छ ।

दुई वर्षदेखि कोभिड संंक्रमण छ, कोभिड रोकथाम तथा न्यूनीकरण लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू गरिरहनुभएको छ ?

कोभिडबाट हाम्रो पालिका पनि अछुतो रहन सकेन । अझै पनि यस भाइरसको रोकथाम र नियन्त्रणका लागि हाम्रो प्रयास जारी छ । हामी जनप्रतिनिधि भएका कारणले गर्दा नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका छौं । यस महामारीको रोकथामका लागि पालिकाले सक्दो प्रयास गरी रहेको छ भने प्रभावकारी कदम पनि चालेका छ । जनचेतना जगाउने, मास्क र स्यानिटाइजर वितरण गर्ने गर्नुका साथै साबुनपानीले हातधुने कार्यमा जागरण ल्याउने काम पनि गरेका छौं । पालिकामा कोभिडसँग सम्बन्धित स्वास्थ्यकर्मीहरू हुनुहुन्छ । उहाँहरुले स्वाब संकलन गरी परीक्षण गर्न, बिरामको उपचार गर्ने जस्ता काम गर्दै आउनुभएको छ ।

विद्यालय खुलाएर शिक्षा दिने कुरा, भौतिक दुरी कायम गरी विकास निर्माण र अन्य गतिविधि गर्ने काममा हामी उत्कृष्ट नै रह्यौं । पालिकाका धेरै नागरिकहरूमा संक्रमणको पुष्टि भएको छ । पालिकाका १७ जना नागरिकलाई कोभिडका कारण गुमाएका छौं । कोभिडको रोकथाम गर्ने कुरामा अगाडि नै रह्यौं । संघीय सरकारको समन्वयमा सबै नागरिकहरूलाई खोपको सुनिश्चितता गर्न पहल गरेका छौं । यहाँका ५० वर्षभन्दा माथि उमेर समूहका सबैले खोप लगाइसकेका छन् ।

स्थानीय तहमा निर्वाचित भएको चार वर्ष पुरा हुँदा के कस्ता महत्वपूर्ण कार्य सम्पादन गर्नुभयो ?

स्थानीय सरकार सञ्चालन भए पछि पालिकामा धेरै विकास निर्माणको कामहरू भएका छन् । एउटामात्र क्षेत्रमा विकास गरेर नागरिकलाई आत्मनिर्भर र संवृद्ध बनाउन सकिँदैन भन्ने कुरा हामीले पहिला नै अनुभूति गरेको विषय हो । त्यस कारणले गर्दा हामीले आर्थिक, सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण संरक्षण आदि सबै क्षेत्रको विकास गरी नागरिकलाई कसरी सुखमय बनाउने भन्ने कुरामा जोड दिँदै आएका छौं । हामीले शिक्षाको क्षेत्रमा पनि धेरै कामहरू गरेका छौं । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं भने पालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको छ ।

हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो कामहरू गरेका छौं । नागरिकलाई स्वास्थ्य संस्थासम्म जनाको लागि प्रत्येक ठाउँमा एम्बुलेन्सको व्यवस्था गरेका छौं । स्वास्थ्य संस्थाको सुधिरिकरण गरी त्यहाँको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने काम समेत भएको छ । पालिकाको प्रत्येक स्वास्थ्य संस्थामा प्रजनन् केन्द्र समेत रहेको छ । सुत्केरी महिलाको लागि निःशुल्क एम्बुलेन्स सुचारु गरी सेवा प्रवाह गरेका छौं । पालिका मातृ मृत्युदर र बाल मृत्युदरलाई शून्य बनाउने अभियानमा लागेको छ भने हामीले स्वास्थ्य क्षेत्रमा पनि उत्कृष्ट नै काम गरेका छौं ।

प्रत्येक वडा कार्यालयबाट गाउँपालिकाको केन्द्रसम्म आउने सडक १२ महिनै सञ्चालन हुन्छ । पालिकमा धेरै सडकहरूको स्तारोन्नती गर्ने काम भएको छ । सडक अवरुद्ध भएको कारणले सेवा प्रवाहमा समस्या भयो भन्ने कुरा नागरिकबाट सुन्नुपरेको छैन ।

औद्योगीकरणको सम्भावना भए पनि धेरै उद्योग नभएको कारणले यहाँका धेरै युवाहरूलाई रोजगारी दिन सक्ने अवस्था छैन । वैदेशिक रोजगारीबाट फर्केर आएका युवाहरूले गाउँमा बसि घर परिवारसँग रमाएर केही उद्यम गर्ने चाहनेको लागि स्वरोजगारतर्फ जोडी अगाडि बढेका छौं । युवाहरुका लागि पालिकामा विभिन्न स्वरोजगारका कार्यक्रमहरू पनि सञ्चालन गरेका छौं । अति विपन्न परिवारका घरका छानालाई खरमुक्त बनाउने अभियान अन्तर्गत ५ सय भन्दा बढि घर परिवारलाई जस्तापाता उपलब्ध गराइएको छ । हाल पालिकालाई खरका छानामुक्त घोषण गरी सकेका छौं ।

हाम्रो पालिकामा पहिला खानेपानीको चरम अभाव थियो । खानेपानीको अभाव भएको कारणले नै बसाईंसराईं गरी जाने अवस्था थियो । यस्तो समस्या भए पछि पालिकाले ‘एक घर एक धारा’ खानेपानी अभियान सञ्चालन गरेको छ । जस अन्तर्गत हामीले हलसम्म ३२ सय घरधुरीमा खानेपानी पुर्याई सकेका छौं । पालिका सम्पूर्ण नागरिकको घरमा खानेपानी पुर्याउने हाम्रा लक्ष्य छ । हामीले एक मात्र क्षेत्रमा नभई समग्र पालिकाको विकास निर्माणको काममा लागेका छौं । पर्यटन क्षेत्रमा पनि महत्वपुर्ण काम भएको छ ।

वातावरण क्षेत्रको कुरा गर्दा अहिले चाडपर्वको समय छ । चाडपर्वको समयमा भारतमा उत्पादन भएका प्लास्टिकका माला पालिकामा भित्र्याउन मनाहि गरेका छौं । प्लास्टिकका मालाका लागि धेरै रकम बाहिर जाने र यसले वातावरणमा पनि प्रत्यक्ष असर पार्ने भएकोले यस्तो कामलाई रोक लगाएका हौं । हाल हामीले पालिकाको हरेक घरमा करेसा हुनुपर्छ र करेसाबारीमा अनिवार्य फुल हुनुपर्छ भनेका छौं । प्लास्टिकका माला प्रयोग गरेमा सजाय वा जरिवाना समेत गरिने भनिएको छ ।

कृषि क्षेत्रको विकास कसरी गर्नुभएको छ ?

हाम्रो गाउँपालिकामा कृषितर्फ धेरैको आकर्षण बढ्दै गएको छ । यहाँको आवश्यकता र हावापानी अनुसार कृषि विकासको कामहरू भएका छन् भने कृषिलाई आधुनिकिकरण गर्नमा विशेष जोड दिएका छौं । यहाँका धेरै नागरिकहरूले कृषि पेसा नै अँगालेका छन् । पालिकाले कृषकहरूलाई पशुपालनका तालिम पनि दिँदै आएका छ । बिदेसिएका केही युवाहरू पनि गाउँमै फर्किएर पशुपालन तथा कृषि पेशातर्फ लागेका छन् । कृषि उत्पादनका हिसाबले हाम्रो पालिका उर्वर भूमि पनि हो । युवा शक्तिलाई गाउँमै रोजगारीसँगै आय आर्जनका सम्भावनामा उत्प्रेरित गराउनको लागि जोड पनि दिइरहेका छौं । पालिकाले पकेटका कार्यक्रमहरू पनि अगाडि बढाएको छ । अनुदानमा आधारित कृषि मल, बिउबिजन, औषधि आदि वितरण गरिएको छ । हाम्रो पालिकाको कृषि र पशुपालन नै आय आर्जनको प्रमुख स्रोत हो । हामी गाउँपालिकामा निर्वाचित भइसके पछि गाउँसभाको पहिलो निर्णय बमोजिम नागरिकहरुले खेती योग्य जमिनलाईलाई बाँझो नराख्न पनि किसानहरूलाई आग्रह गरेका छौं ।

चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ?

हरेक कार्य गर्दा बाधाव्यवधान र अप्ठ्याराहरू आइपर्ने रहेछन् । नागरिकको अपेक्षा अत्यधिक बढि हुन्छ । हामीसँग सीमित स्रोत साधन छन् भने हाम्रो आन्तरिक आय पनि खासै हुँदैन । यसका बाबजुद पनि हामीले पालिकामा धेरै काम गरेका छौं । चुनावी प्रतिबद्धता पूरा गर्न हामी सदैव लागिरहेका छौं । निर्वाचनमा जनतामाझ गरिएका अधिकांश प्रतिबद्धता पूरा गरेका छौं । नयाँ कार्यहरू पनि गरेका छौं । समग्रमा हामीले आफ्नो स्रोत र साधनले भ्याएसम्मको सबै कार्य गरेका छौं । हाम्रो पालिका विकास निर्माणको काममा उत्कृष्ट र अबल नै छ ।

अहिलेसम्मको काम गराईबाट सन्तुष्ट हुनुहुन्छ ?

हामी त अहिलेसम्मको काम गराईबाट सन्तुष्ट नै छौं । सडक सञ्जाल, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य खानेपानी आदिका क्षेत्रमा गाउँपालिकाले निकै महत्वपुर्ण काम गरेको छ । काम गर्ने क्रममा जनताबाट धेरै सुझाव पनि आएका छन् । स्रोत साधनाको भरपुर उपयोग गरी पालिकाको विकास निर्माणको काम गरेका छौं । म मात्र नभई हाम्रो कामबाट पालिकाको नागरिकहरू पनि खुसी र सन्तुष्ट हुनुहुन्छ भन्ने आशा छ ।

न्यायिक क्षेत्रमा कस्तो काम गर्नुभएको छ ?

न्यायिक क्षेत्रमा हामीले धेरै काम गर्दै आएका छौं । अवश्य पनि स्थानीय तहको संरचना पछि हरेक स्थानीय तहमा उपाध्यक्ष संयोजकत्वमा न्यायिक समिति रहने व्यवस्था आयो । न्यायिक क्षेत्रलाई प्रभावकारी रूपमा अगाडि बढाउनको लागि सबैभन्दा पहिला न्यायिक समितिको गठन गर्यौं । म आफैँ संयोजक भएर एक जना कार्यपालिका सदस्य र वडा अध्यक्ष गरी जम्मा ३ जनाको समिति बनाई कर्मचारी, कार्यालय सहयोगी, कानुनी अधिकारी आदिको सहयोगमा यसलाई प्रभावकारी बनाउनको लागि संघीय कानुनबाट स्थानीय तहको कार्यविधि अगाडि बढायौं । यो कार्यविधि साथसाथै यो गाउँपालिका क्षेत्र भित्रका समस्या तथा अन्यायमा परेका व्यक्तिहरुलाई न्याय दिनको लागि कानुनी परामर्शका साथ न्याय सम्पादन गर्ने गरेका छौं । गाउँपालिकाको प्रत्येक वडामा मेलमिलाप केन्द्र पनि गठन भएको छ ।

आगामी दिनका योजना कस्ता छन् ?

हामी कार्यकालको अन्तिम बजेट पनि ल्याइसकेका छौं । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ । गाउँपालिका भित्र जनताको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने पनि हाम्रो प्रमुख लक्ष्य छ । उद्योग, कलकारखाना स्थापनाको वातावरण सिर्जना गर्ने काम वा अन्य क्षेत्र खोजी गरी रोजगारी सिर्जना गर्ने कार्यमा पनि लाग्ने छौं । अब निर्वाचित भएर आउने जनप्रतिनिधिहरूलाई जिम्मेवारी हस्तान्तरण गर्दा हामीले सुरुवात गरेका कामलाई निरन्तरता दिनका अलावा नयाँ सोच र नयाँ कामको थालनी गर्न लगाउने हो ।

तपाईंले जनप्रतिनिधिको हैसियतमा ४ वर्षको अनुभव बटुल्नुभएको छ, यो अवधिमा स्थानीय तहमा देखिएका समस्या कस्ता छन्, र संघ तथा प्रदेश सरकारले स्थानीय तहलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

स्थानीय सरकार नागरिकको घरआँगनको सरकार हो । हामी नागरिकको सेवामा समर्पित भएर समाजसेवामा लागिसकेको मान्छेहरूका लागि यो एक अवसर थियो । संघ तथा प्रदेश सरकारका कर्मचारी, नेता आदि सबै आफ्नो आधिकार आफैसँग राख्नु पर्छ भन्ने मानसिकतामा छन् । त्यो मानसिकताले गाउँको विकास सम्भव छैन भन्ने हाम्रो अनुभव हो । स्थानीय तहलाई अझै बलियो बनाउनु आवश्यक छ भन्ने पनि मलाई लाग्छ ।

अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

म के भन्न चाहन्छु भने विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । पछिल्लो समयमा संक्रण घट्दै गएको छ । तर, पनि नजिकिँदै गरेको चार्ड पर्वमा भिडमा भाड गर्यौं भने संक्रमण फेरी फैलिन सक्छ । त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

अनि स्थानीय सरकार सञ्चालन भइसकेपछि हामीले पारदर्शीको कुरालाई एकदमै ख्याल गरेका छौं । गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले सदैव सुझाव, सल्लाह र साथ सहयोग गरी सहकार्य गर्नुहुन हार्दिक अनुरोध गर्दछु । नमुना गाउँपालिका धुर्कोट भन्ने अभियानमा सबै नागरिकले सहयोग गर्नु भएकोमा आर्दिक आभार पनि व्यक्त गर्ने चाहन्छु । आगमि दिनमा पनि यहाँहरूको साथ र सहयोग रहिरने छ भन्ने कुराको अपेक्षा गर्न चाहन्छु ।

Share News