
कर्णाली प्रदेश अन्तर्गतको दैलेख जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो गुराँस गाउँपालिका । यस गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, सांस्कृतिक एवं पर्यटन लगायतका पक्षमा निक्कै धनी छ । यो गाउँपालिका कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट २५ किलोमिटरको दुरीमा रहेको छ ।
यस गाउँपालिकामा गुराँस फुलको मनमोहक दृश्य र चिसो हावापानीका साथै व्यवसायीक र मनोरञ्जनको उद्देश्यले वर्षेनी हजारौं आन्तरिक र बाहेक पर्यटनहरू आउने गर्दछन् । यसैक्रममा, निर्वाचित जनप्रतिनिधिहरुबाट प्रभावकारी सेवा कसरी प्रवाह भइरहेको छ, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ तथा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा पालिकाका योजना लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सार :
स्थानीय सरकार बनेपछि गुराँस गाउँपालिकामा भएका विकास के–के हुन् ?
विगतका दिनमा गुराँस गाउँपालिका समस्या नै समस्याको बिचमा थियो । यहाँ पूर्वाधार विकास भएको थिएन, दुर्गम बस्तीहरू धेरै थिए भने कुनै पनि ठाउँमा सडक पुगेको थिएन । गाउँपालिकामा हाम्रो उपस्थितिपछि हामीले विशेष प्राथमिकताका साथ पूर्वाधार विकासमा जोड दियौं । ‘गुणस्तरीय शिक्षा, जनताको पहुँचमा स्वास्थ्य, व्यावसायिक कृषि, व्यावसायिक पर्यटन र दिगो पूर्वाधार’ गुराँस संवृद्धको ५ आधार भन्ने हाम्रो नारा छ । त्यही नारालाई अवलम्वन गरी पालिकाको विकास निर्माणको कामहरू गरेका छौं । पालिकामा पहिला १ सय ९१ किलोमिटर मात्र सडक थियो हाल पालिकामा ३ सय ६० किलोमिटर सडक निर्माण भएको छ । उक्त किलोमिटरको सडक निर्माण गरी प्रत्येक वडाको टोल टोलमा सडक पुर्याएका छौं । पालिकामा हाल १ सय १० ओटा सडकहरू सञ्चालनमा छन् ।
पालिका जम्मा ५ प्रतिशत वाहेक अन्य नागरिकहरुले बत्ती बाल्ने अवसर पाएका थिएनन् । अब आउने दशैसम्म प्रत्यके नागरिकको घरमा बिजुली पुर्याउने लक्ष्यमा छौं । हामी निर्वाचित भएर आइसकेपछि यो ४ वर्षको बिचमा २५ ओटा विद्यालयका भवनहरू निर्माण गरेका छौं । सबै विद्यालयहरूमा बसाई व्यवस्थापन र विद्यालयको पहिचान युक्त भवनहरू निर्माण भएका छन् । माध्यमिक विद्यालयहरू पालिकामा थिए तर दरबन्दी थिएन । ती विद्यालयहरू हामीले ४० दरबन्दी मिलाउने काम गरेका छौं भने हाल सबै विद्यालयमा आवश्यकिय दरबन्दीको व्यवस्थापन भएको छ ।
पालिकाको वडा नं. १, २ र ८ मा स्वास्थ्य संस्थाहरु थिएनन् । उक्त वडामा पनि स्वास्थ्य संस्थाको निर्माण गरी सेवा प्रवाह गरेका छौं । दुर्गम वस्ति स्वास्थ्य संस्था भनेर वडा नं. ५ पनि स्वास्थ्य सेवाको स्थापना गरेका छौं । गाउँपालिकामा वडागत स्वास्थ्य संस्था थिएनन् भने अस्पतालको त कल्पना नै थिएन । हाल वडा नं. ४ को रति खोलकामा अस्पताल निर्माणको काम सुरुवात हुँदै छ । उक्त भवन निर्माणको लागि २२ करोड रुपैयाँमा टेन्डर भएको छ । वडा नं. ५ को रानी घट्टामा २० शैयाको अस्पताल निर्माण भइसेवा पनि सुरु भइसकेको छ ।
तपाईंको पालिकामा संक्रमणको अवस्था कस्तो छ, कोभिड रोकथाम तथा न्यूनीकरणका लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू गरिरहनुभएको छ ?
कोभिड एउटा चुनौतीको विषय हो । कोभिडका कारणले धेरै समस्या पनि आयो । समस्या सँगसँगै अवसरको पनि सुरुवात भयो । कोभिड नआएको भए पालिकामा २ ओटा अस्पताल निर्माणको काम एकै पटक सुरुवात गर्ने थिएनौं होला । हाम्रो पालिकाको ५ जना नागरिकलाई कोभिडका कारण गुमाएका छौं । हालसम्म २ सय ८९ जनामा संक्रमणको पुष्टि भएको छ ।
कतैकतै अझै पनि फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी नै छ । तर, पछिल्लो समयमा पालिकामा संक्रमणको अवस्था सामान्य नै छ । धेरै संक्रमित भएका नागरिकहरू निको हुनुभएको छ । अझै पनि पालिकामा कोभिडको रोकथाम र नियन्त्रणको लागि हाम्रो सम्पूर्ण प्रयास जारी छ । अहिले पनि पालिका सम्पूर्ण स्वास्थ्य संस्थालाई क्रियाशील रूपमा राखेका छौं ।
अब कृषि क्षेत्रको प्रसंग जोडौं, गाउँपालिकाले कृषि क्षेत्रमा हालसम्म गरेको उपलब्धिबारे बताईदिनुहोस् न
अन्य पहाडी र हिमाली जिल्लाहरूमा जानको लागि मुलद्धारको रूपमा रहेको गुराँस गाउँपालिका कृषि, पशुपंक्षि, वन, जडीबुटी, तथा साना अन्य उद्योगहरूको लागि उपयुक्त स्थान रहेको छ । हाम्रो गाउँपालिकाको मुख्य आय आर्जनको सम्भावना भएको क्षेत्र कृषि नै हो । यहाँका धेरै नागरिकहरूले पनि कृषि पेसा नै अँगालेका छन् । कृषिका अनेक समस्या र चुनौती रहेको सन्दर्भमा ती चुनौतीको समाधान गरी कृषिको व्यवसायीकरण र दिगो कृषि विकासको योजना बनाई पालिकाले कृषि विकासको रणनीति र कृषि क्रान्तिको कार्यक्रम अगाडि बढाएका छौं । त्यसैका आधारमा कृषि प्रोत्साहन कार्यक्रम अन्तर्गत कृषकलाई ५० हजार देखि एक लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने कार्यक्रम हामीले ल्याएका छौं । कृषि उत्पादन र स्वरोजगारी बढाउनका लागि भनेर विगत वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका हौं । अध्यक्ष स्वरोजगार कार्यक्रम अन्तर्गत किसानहरूको क्षमता विकास र कृषिका विभिन्न तालिम पनि दिँदै आएका छौं ।
परम्परागत खेती प्रणाली छाडेर व्यवसायमुखी बन्नु जरुरी ठानेर कृषिका विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं । गाउँपालिकाले गरिब किसानको लागि बाख्रा तथा कुखुरा आदि अनुदानमा वितरण गर्दै पनि आएको छ । त्यति मात्र नभई गाउँपालिकाकाले किसानका ठुला व्यवसायिहरुसँगको साझेदारीमा विभिन्न व्यवसाय कृषिका कामहरू पनि सञ्चालन गरेको छ । औधोगिककरणको गति मन्द रहेकोले यहाँको कृषि तथा पशु व्यवसाय नै आर्थिक विकासको मुख्य आधार क्षेत्र हो । व्यावसायिक कृषिमा किसानहरूलाई अगाडि बढाउनको लागि तरकारी, आलु, फलफूल, बाख्रापालन, गाईपालन आदिको पकेट क्षेत्र पनि छुट्याएका छौं । कृषिलाई आधुनिकिकरण गर्ने र व्यावसायिकीकरण गर्ने प्रयास हाम्रो जारी छ ।
गाउँपालिकामा पूर्वाधार निर्माणको लागि प्रदेश र संघ सरकारसँग कस्तो सहकार्य भइरहेको छ ?
विकासको खाका एकद्वार प्रणालीबाट आउन सकेन । प्रदेश र संघ सरकार आ–आफ्नै तरिकाले अगाडि बढ्ने र स्थानीय तहसँग पर्याप्त समन्वय साझेदारी नगर्नाले योजना वितरण लगायतमा थुप्रै समस्याहरू आए ।
चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ?
हामी निर्वाचित भएर आएको पनि चार वर्ष भइसकेको छ । हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका सम्पूर्ण कामहरु सकिसकेका छौं भने पालिकामा थप कामहरू गरेको पनि अनुभूति गरेका छौं । हामी लिखित प्रतिविद्धताका साथ जनतामाझ गएका थियौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं, भनेका थियौं । त्यो अनुसार काम पनि भएको छ भने चुनावी बाचा पनि पुरा गरिसकेका छौं ।
कार्यकालको अन्तिममा पनि हुनु हुन्छ, आगामी योजनाहरू के–के छन् ?
अब बाँकी रहेका कार्यकाल भनेको हामी नागरिक लागि समय खर्च गर्छौं । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई चाहिँ जनताको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं । त्यो अनुसार पनि काम भएको छ । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ । पालिकाको संवृद्ध नै हाम्रो अन्तिम लक्ष्य हो ।
युवा स्वरोजगार गाउँपालिकाले कसरी गरिरहेको छ ?
गाउँपालिकामा २०७४ सालमा नै पहिलो पटक बेरोजगार युवाहरूको संभेलन गर्यौं । देश भरका स्थानीय तह मध्ये बेरोजगार युवाहरूको संभेलन गर्ने पहिलो पालिका नै हाम्रो हो । हामीले त्यतिखेर २८ सय ३१ जना बेरोजगार युवाहरूको सूचि संकलन गरेका थियौं । यी बेरोजगार युवाहरूलाई रोजगार वा स्वरोजगारेको पाटोमा आवद्ध गर्ने र उनीहरूको सिप विकास गर्ने हाम्रो योजना थियो । उक्त कार्यक्रम अन्तर्गत १ सय ५३ युवाहरूलाई गुराँस स्वरोजगार कार्यदलको रूपमा विकास निर्माणको कामहरूमा लगाएका छौं । यो ४ वर्षको बिचमा पालिकाको तर्फबाट ३ हजार भन्दा बढि व्यक्तिहरूले रोजगार पाएका छन् । पालिकाका १ सय भन्दा बढि युवाहरूलाई सिप मूलक तालिम पनि दिएका छौं । रोजगारी सिर्जना गर्नको लागि पालिकाको तर्फबाट ३ ओटा पाटोहरू छुट्याएका छौं । जस्तै, रोजगार आफै उपलब्ध गराउने, स्वरोजगारमा पालिकाले समर्थन गर्ने, युवाको सिप विकास गरी उनीहरूलाई रोजगारी बनाउने भनिएको छ । गुराँस गाउँपालिका एउटा सन्देश मूलक पालिका पनि हो ।
युवा लक्षित गर्दै पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम पनि लागु भएको छ । उक्त कार्यक्रम अन्तर्गत पहिलो वर्ष २ सय र दोस्रो वर्ष ३ सय युवाहरुले रोजगार पाएका छन् । यो वर्ष पनि ३ सय जना युवालाई एक सय दिने कार्यक्रम आवद्ध गर्नका लागि रकम पालिकामा आएको छ । हाम्रो पालिकाकोतर्फबाट युवालाई रोजगार बनाउनको लागि भनेर नै विभिन्न स्वारोजागरका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । युवालाई उद्यमशील विकास तालिम दिनु पर्छ भनेर हामी लागिपरेका छौं । कतिपय युवाहरूलाई भने विकास निर्माणको काममा लगाएका छौं । यो कोभिडपछि आएको बेरोजगारीको सम्बन्धमा हामीले मुख्यतः कृषिमा आधारित व्यवसाय सञ्चालन गरेर रोजगारी दिने सोच बनाएका छौं ।
अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?
हामीले पालिकामा केही नविनतम कामहरू गरेका छौं । हाम्रो गाउँपालिकाले गरेको कामबाट देशभरका स्थानीय तहले सिक्नु पर्छ जस्तो लाग्छ । अन्य पालिकाले पनि केही राम्रो काम गरेका छन् भने त्यो काम पनि हामीले सिक्न जरुरी छ । हामीले हाम्रो पालिकाको तर्फबाट गरेको नविनतम कामहरूमध्ये ‘जीवन सुरक्षा’ कार्यक्रम एक हो । यही कार्यक्रम अन्तर्गत २०७४ सालभन्दा पछि गुराँस गाउँपालिकामा जन्मिएर २० वर्ष उमेर पुगेकाहरूलाई १ लाख ५० हजार रुपैयाँसम्म दिने व्यवस्था गरेका छौं ।
पालिकामा जोखिम बालबालिका कार्यक्रम पनि रहेको छ । उक्त कार्यक्रमअन्तर्गत आमाबुबा नभएका बालबालिकालाई पनि पालिकाले समर्थन गर्ने र स्थिर पुँजीको रुपमा उनीहरुलाई विकास गरिदिएका छौं । गाउँपालिकाले ५० प्रतिशत छुट्मा एम्बुलेन्स सेवा उपलब्ध गराएका छ । राउटे समुदायको संरक्षण र राउटेलाई स्थानीय नागरिकको रूपमा विकास गर्न पालिकाले उनीहलाई जन्मदर्ताको रूपमा परिचय पत्र उपल्बध गराएको छ । पालिकामा ‘मेरी छोरी जीवन भरी’ भन्ने कार्यक्रम पनि सञ्चालन भएको छ । दुईभन्दा बढि बच्चा नजन्माउन अभिभावकलाई प्रोत्साहन पनि गर्दै आएका छौं । त्यसैगरी, पालिकामा असल बुहारी प्रोत्साहन कार्यक्रमको सुरुवात भएको छ ।
गाउँपालिकाले उच्च शिक्षा अध्यापनका लागि विद्यार्थीलाई आर्थिक सहयोग गर्न थालेको छ । डाक्टर, इन्जिनियर जस्ता प्राविधिक धारमा अध्ययन गर्न अभिप्रेरित गर्ने उद्देश्यले गाउँपालिकाले सहयोग गर्दै आएको छ । यस्ता थुप्रै नयाँ कामको सुरुवात पालिकामा भएका छन् । यसको संरक्षण तथा उपयोग गर्ने काम नागरिकहरूको हो । पालिकाले ल्याएका कार्यक्रमहरूको संरक्षण सदुपयोग गर्न म नागरिकहरूलाई अनुरोध गर्छु । पालिकाले गरेका यी नयाँ कामहरू अन्य ठाउँमा पनि प्रचार गरिदिनुहोस् भन्ने मेरो आग्रह छ ।