काठमाडौं । केही समययता सेयर बजारमा हरियाली छ । बजार बढेका कारण सेयर लगानीकर्ताको सम्पत्ति दैनिक जस्तै बढिरहेको छ । बजारमा कारोबार गर्नेहरुले पनि राम्रैसँग कमाई भएको बताइरहेका छन् ।
बजारले निर्धारण गर्नुपर्ने सेयर बजारलाई पछिल्लो केही समययता राजनीतिले निर्धारण गर्न थालेको छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजार मापक नेप्से परिसुचक ३ हजार विन्दुमा पुर्याउन अनौपचारिक रुपमा निर्देशन नै दिएका थिए ।
मन्त्री पौडेल हटेपछि पनि सेयर बजार माथिको राजनीति कम भएन । गत शुक्रबार बसेको संघीय प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिले पुँजी बजारलाई नकारात्मक असर र प्रभाव नपर्ने मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन नै दियो ।
अहिलेका अर्थमन्त्री जनार्दन शर्माले पनि पुँजी बजारमा नकारात्मक असर पर्ने नीतिगत व्यवस्था नगर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । पछिल्लो समय अर्थमन्त्रीको सफलता वा असफलताको मापक नै सेयर बजारमा देखिने नेप्से परिसुचक हुन थालेको छ । यस्ता गतिविधिले सेयर बजार ‘राजनीतिक बाली’का रुपमा परिणत हुन थालेको छ ।
पुँजी बजारमा बढ्दो राजनीतिक चासोले बजारलाई बजारको रुपमा प्रतिक्रिया जनाउँन अवरोध सिर्जना हुन थालेको आभास मिलेको छ । यद्यपि, सेयर बजारमा संलग्न लगानीकर्ता भने आफ्नो सम्पत्ति बढेको र कारोबारीले बजारबाट दैनिक राम्रै कमाई गरेको कारण उनीहरु खुसी देखिन्छन् ।
यही सन्दर्भमा हामीले पछिल्लो एक महिनामा नेपाली सेयर बजारका सबइन्डेक्सको ग्राफ कस्तो बनेछ भनेर विश्लेषण गर्ने प्रयास गरेका छौं । पछिल्लो समय असाध्यै बढेको जलविद्युत क्षेत्रका कम्पनीको सेयर मूल्यका कारण जलविद्युत क्षेत्रको सबइन्डेक्सको ग्राफ वर्षाको कोशी नदी जस्तै गरी बढेको बढ्यै देखिएको छ ।
अंग्रेजी महिनाको जुलाई ११ मा २७७६.७ विन्दुमा रहेको जलविद्युत समुहको सबइन्डेक्स अगष्ट ५ मा ३५०७.३३ विन्दुमा पुगेको छ । जलविद्युत समुहको सबइन्डेक्स यसबीचमा घटेको देखिदैन । करिब बढेको बढ्यै छ ।
नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनी रहेको अन्य समुहको सबइन्डेक्सले भने टेलिकमको टावर जस्तै ग्राफ बनाएको छ । कुनै समय ज्यादै बढ्ने र लगत्तै ह्वात्तै घट्ने गरेका कारण अन्य समुहको सबइन्डेक्सको ग्राफ टेलिकमको टावर जस्तै देखिएको हो ।
गत जुलाई ११ मा २१७७.१८ विन्दुमा रहेको अन्य समुहको सबइन्डेक्स १५ जुलाईमा २१३२.८२ मा झरेको छ । यस्तै, १९ जुलाईमा भने २१८१.७५ विन्दुमा, २६ जुलाईमा २१४०.४९ तथा २८ जुलाईमा २२१५.१९ र ५ अगष्टमा २१४८.९३ विन्दुमा छ । अन्य समुहको ग्राफ हेर्दा कुनै यात्रुले एक महिनासम्म उच्च पहाडी क्षेत्रको लामो यात्रा गर्दा पार गरेको डाडा र खोला जस्तै लाग्छ ।
११ जुलाईमा ३६५०.३२ विन्दुमा रहेको होटल समुहको सबइन्डेक्स २९ जुलाईमा उछालिएको देखिन्छ । सो दिन होटल समुहको सबइन्डेक्स २९६८.०४ विन्दुमा पुगेको थियो । ५ अगष्टमा भने सो समुहको सबइन्डेक्स ३८१२.८६ विन्दुमा छ ।
यसबीचमा बैंकिङ समुहको सबइन्डेक्स ‘भलाद्मी पारामा बढेको देखिन्छ । ११ जुलाईमा १९५७.०३ विन्दुमा रहेको बैंकिङ समुह २५ जुलाईमा २१५०.०६ विन्दुमा पुगेको थियो । ५ अगष्टमा बैंकिङ समुहको सबइन्डेक्स २१०५.२९ विन्दुमा छ ।
यो एक महिनाको बीचमा डेभलपमेन्ट बैंक समुहको सबइन्डेक्स भने बढ्ने, नयाँ उचाई कायम गर्ने र फेरि बढ्ने क्रममा देखिन्छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत जुलाई ११ मा ४५३१.६ विन्दुमा रहेको डेभलपमेन्ट बैंक समुहको सबइन्डेक्स ५ अगष्टमा ५०२८.५५ विन्दुमा पुगेको छ ।
एक महिना अवधिको ग्राफ विश्लेषण गर्दा म्यानुफ्याक्चरिङ एण्ड प्रडक्सन समुहको सबइन्डेक्सले पनि लगानीकर्तालाई फसाएको देखिदैन । ११ जुलाईमा ६२१४.४१ विन्दुमा रहेको सो समुहको सबइन्डेक्स २८ जुलाईमा ६७५९.४५ विन्दुमा पुगेको थियो । ५ अगष्टमा सो समुहको सबइन्डेक्स ६७३४.९५ विन्दुमा छ ।
विगत एक महिनाको अवधिमा माइक्रोफाइनान्स समुहको सबइन्डेक्सले दिपावली मनाइरहेको छ । नेप्सेका अनुसार गत जुलाई ११ मा ५३००.८५ विन्दुमा रहेको सो समुहको सबइन्डेक्स ५ अगष्टमा ५८१५.३५ विन्दुमा छ ।
एक महिनाको ग्राफ हेर्दा जीवन बीमा समुहको सबइन्डेक्स समुन्द्रको छाल जस्तै गरी अघि बढ्दैछ । जुलाई ११ मा १७२५१.९७ विन्दुमा रहेको जीवन बीमा समुहको सबइन्डेक्स ५ अगष्टमा १८०७७.७३ विन्दुमा छ ।
एक महिनाको अवधिमा निर्जीवन बीमा समुहको सबइन्डेक्स समुन्द्रको छाल जस्तै गरी अघि बढेपनि त्यसको दुरी अलि लामो छ । ११ जुलाईमा १४१३४.४५ विन्दुमा रहेको निर्जीवन बीमा सहुमको सबइन्डेक्स ५ अगष्टमा १४७२९.४६ विन्दुमा छ ।
यो एक महिनाको अवधिमा फाइनान्स कम्पनीहरुको सेयरमा उल्लासमय आकर्षण देखिएको छ । नेप्सेका अनुसार गत ११ जुलाईमा २२८८.९८ विन्दुमा रहेको फाइनान्स समुहको सबइन्डेक्स ५ अगष्टमा बढेर २७३४.३५ विन्दुमा छ । यो बीचमा फाइनान्स कम्पनीको सेयरमा लगानी गर्नेहरुले कुनै दिन पनि खासै गुमाउनु परेको ग्राफले देखाउँदैन । तर, कम्पनी अनुसारको ग्राफ भने बेग्लै देखिन सक्छ ।
कोभिड महामारीका कारण सर्वसाधारणको आम्दानी र व्यापार व्यवसायमा नकारात्मक असर परेको भएपनि नेप्सेको ट्रेडिङ समुहले भने निरन्तर ग्राफ बृद्धि गरिरहेको छ । ११ जुलाईमा ३७५२.५१ विन्दुमा रहेको ट्रेडिङ समुहको सबइन्डेक्स ५ अगष्टमा ४११०.५५ विन्दुमा पुगेको छ ।
विगत एक महिनाको म्युचुअल फण्ड समुहको सबइन्डेक्सको ग्राफ हेर्दा कुनै उपत्यकाका मानिसहरु पिकनिक खान डाडामा पुगेर रमाइरहेको समय जस्तै लाग्छ । गत ११ जुलाईमा १५.५३ विन्दुमा रहेको सो समुहको सबइन्डेक्स डाडा उक्ले जस्तै गरी १८.३२ विन्दुमा पुगेको थियो । ५ अगष्टमा म्युचुअल फण्ड समुहको सबइन्डेक्स १७.५२ विन्दुमा छ ।