काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले निरन्तर रुपमा सञ्चालन भइरहेका र समय तोकिएका परीक्षाहरु नरोकिने बताएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले फेरि निषेधाज्ञा गर्ने र परीक्षाहरु पनि रोकिने प्रचार भइरहेको बेला त्रिभुवन विश्वविद्यालयले भने अब निर्वाद रुपमा परीक्षा सञ्चालन हुने बताएको हो ।
त्रिभुवन विश्व विद्यालयका रजिष्टार पेशल दाहालले परीक्षा नरोकिने बताएका हुन् ।
‘अहिले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा त्रिविले परीक्षा रोक्ने भन्ने प्रचार भइरहेको छ, यसले विद्यार्थीलाई एक किसिमको मानसिक तनाव पनि सिर्जना हुन्छ, सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा हामी रोक्ने योजनामा छैनौं, परीक्षा तोकिएकै समयमा हुन्छ,’ उनले विकासन्युजसँग भने ।
उनले सम्पूर्ण विद्यार्थीहरुलाई त्यस्ता खालका दुष्प्रचारबाट भ्रमित नहुन र परीक्षाको तयारीमा लाग्न पनि आग्रह गरेका छन् । हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतका स्नातक तह प्रथम वर्षका परीक्षा भइरहेका छन् भने साउन २० गतेदेखि पनि स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरु तोकिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोभिडको तेस्रो लहरको जोखिम बढ्ने संकेत गर्दै सबै परीक्षा रोक्ने प्रस्ताव गरेकाे छ । मन्त्रालयले कक्षा १२ सहित विभिन्न विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा रोक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव गरेको हो ।
मन्त्रालयले कोभिड-१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने उल्लेख गरेकाे छ ।