काठमाडाै । विद्यार्थीको भौतिक उपस्थितिमा साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा शुरु हुने भएको छ । परिक्षा बोर्डले कोभिड–१९ का कारण रोकिएको उक्त परीक्षा साउन मसान्तबाट गर्ने निर्णय गरेको हो ।
यसअघि गत जेठ २६ गतेबाट सञ्चालनको तयारी भएको उक्त परीक्षा दोस्रो हरको कोभिड संक्रमणका कारण रोकिएको थियो । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
होम सेन्टरबाटै परीक्षा
बोर्डले विद्यार्थीले अध्ययन गरेकै विद्यालय अर्थात होम सेन्टरबाट परीक्षा दिन पाउने व्यवस्था गरेको हो । साउन ३१ गतेबाट शुरु हुने परीक्षा भदै ९ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । यसअघि बोर्डले नै परीक्षा केन्द्र तोक्ने गरेको थियो ।
यस वर्षको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै गराउने तयारी गरेको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको बोर्डले जनाएको हो।
परीक्षा उपनियन्त्रक सुवास पन्तका अनुसार परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने तयारी भएको छ ।
यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।