काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले सर्वसाधारणलाई प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ दरको ३ लाख ९५ हजार ३५५.९७०४ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
उक्त सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त र क्यापिटलबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा लघुवित्तका तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।
सिवाईसी नेपाल लघुवित्त नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको संस्था हो । बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको छ । त्यसपश्चात वित्तीय संस्थाको अधिकृत पुँजी २० करोडर जारी पुँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ ।
संस्थापक समूहको ६७.५० प्रतिशत सेयर रहेको यस संस्थामा १ संस्थासहित ९९ जना संस्थापक सेयरधनीहरुबाट ८ करोड २१ लाख रुपैयाँ बराबरबको सेयर पुँजी चुक्ता भैसकेको छ ।
वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ४७ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिँदै आईरहेको छ । विगत २१ वर्षदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्तको नाममा २०७५ साल माघ २८ गते इजाजत प्राप्त गरेको हो । र, त्यसपछि २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।