काठमाडौं, १६ असार । बीमा समितिले एजेन्ट कमिसनमा कडाइ गरेको छ । केही अगाडि मात्रै तेस्रो पक्ष बीमामा एजेन्ट कमिसन हटाएको समितिले यही साता मात्रै बैदेशिक रोजगार बीमामा एजेन्ट कमिसन हटाएको थियो । अब भने जीबन बीमा ब्यवसायमा एजेन्टले पाउँदै आएको कमिसन पनि उल्लेख मात्रामा घटाइएको छ ।

बीमा समितिले जीबन बीमा कम्पनीको एजेन्ट कमिसन तोकेको छ । नयाँ सीमा अनुसार बीमा कम्पनीहरुले बीमा शुल्कको ६ प्रतिशत रकम मात्रै ‘इन्सेन्टिभ’ र ब्यापार प्रवद्र्धनको लागि खर्च गर्न पाउने भएका छन् । बीमा एजेन्टको कमिसन यिनै दुई शिर्षकबाट दिइँदै आइएको थियो ।
यसअघि यस्तो खर्चको सीमा तोक्ने गरिएको थिएन । बीमा समितिले बुधवार सवै जीबन बीमा कम्पनीहरुलाई निर्देशन दिदै ‘इन्सेन्टिभ’ र ब्यापार प्रवद्र्धन खर्च ६ प्रतिशतमा सिमित गर्न भनेको छ । ‘इन्सेन्टिभ’ र ब्यापार प्रवद्र्धनका नाममा अत्याधिक रकम खर्च हुन थालेपछि यसरी सीमा तोक्नु परेको समितिका एक अधिकारीले जानकारी दिए ।
‘बीमा शुल्कको ३० प्रतिशतसम्म रकम एजेन्ट कमिसन र ब्यापार प्रवद्र्धनका नाममा खर्च हुने गरेको पाइयो, यो निकै धेरै हो, यसमा नियन्त्रण गर्नैपर्ने देखिएकोले सीमा तोकिएको हो,’ समितिका एक अधिकारीले भने । समितिका अनुसार ‘इन्सेन्टिभ’ र ब्यापार प्रवद्र्धनका नाममा अहिले जीबन बीमा कम्पनीहरुले कुल बीमा शुल्कको २० प्रतिशत जति रकम औसतमा खर्च गर्ने गरेको पाइएको छ । खर्च बढी भएको भन्दै समितिले औसत खर्चलाई एक तिहाइमा सिमित गर्ने प्रयास गरेको हो ।
एजेन्ट कमिसन र ब्यापार प्रवद्र्धन खर्चमा कडाइ भएपछि आफूहरुको ब्यापार नै खुम्चने चिन्ता बीमा कम्पनीका अधिकारीहरुले गरेका छन् । जीबन बीमा कम्पनीहरुको ब्यवसायको ९९ प्रतिशत नै स्रोत एजेन्टबाट आउने ब्यापार भएकोले यस्तो खर्च कटौतिले आफ्नो ब्यवसाय नै धरापमा पर्ने चिन्ता कम्पनीहरुको छ ।
‘हाम्रो ब्यवसाय ९९ प्रतिशत नै एजेन्सी (एजेन्ट मार्फत आउने) मा आधारित छ, यस्तो खर्च यति धेरै कटौति गरेपछि ब्यवसाय नै संकटमा पर्ने अवस्था आउछ,’ एक जीबन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । समितिले एजेन्ट कमिसन भारी मात्रामा कटौति गरेपछि अब कसरी अगाडि बढ्ने भनेर एजेन्ट एसोसिएसन र जीबन बीमा कम्पनीका पदाधिकारीले बुधबार नै आकस्मिक छलफल गरेका छन् ।
कम्पनीहरुले एजेन्ट कमिसन र ब्यापार प्रवद्र्धनका नाममा सर्वसाधारणले तिरेको बीमा शुल्क रकममा मनपरी खर्च गर्ने गरेको आरोप समितिको छ । कम्पनीका संचालक र ब्यवस्थापन तहका उच्च अधिकारीले एजेन्टका नाममा आफू नजिकका ब्यक्तिको नाममा रकम खर्च देखाएर लिने गरेको पाइएको समितिको आरोप छ । यस्तै केही कम्पनीका अधिकारीले नक्कली एजेन्ट देखाएर आफूहरुले नै यस्तो रकम लिने गरेको पनि समितिको आरोप छ ।
‘नक्कली एजेन्ट देखाउने र आफ्ना मान्छेलाई एजेन्ट बनाएर मोटो रकम आफैले खाने गरेको पनि पाइयो, यस्तो प्रबृत्ति निरुत्साहित गर्न पनि सीमा तोक्नुको विकल्प रहेन,’ समितिका एक अधिकारीले भने । बीमा एजेन्ट बिना ब्यवसाय नै आउदैन भन्नु र बीमा शुल्कको ३० प्रतिशतसम्म रकम एजेन्ट कमिसन र ब्यापार प्रबद्र्धनका नाममा खर्च गर्नुले आर्थिक अनुसारहिनता बढाएको आरोप समितिको छ ।
कम्पनीले भने इन्सेन्टिभ र ब्यापार प्रवर्दनका नाममा रकम खर्च गर्नु आफूहरुको बाध्यता भएको उल्लेख गरेका छन् । ‘बैंकमा पैसा राख्ने भन्दै सर्वसाधारण बैंकसम्म आफै जान्छन्, तर बीमा गराउनको लागि स्वतस्फूर्त रुपमा कोही पनि आउदैन, कर गर्नै पर्छ, यस्तो अवस्थामा एजेन्ट कमिसन र ब्यापार प्रवद्र्धन खर्च कटौतिले समस्या पार्ने प्रष्ट देखिन्छ,’ बीमा कम्पनीका अधिकारीहरुको भनाइ छ ।