काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले भोलि (असार २३ गते) देखि आरविवि म्युचुअल फण्ड खुला गर्ने भएको छ । मर्चेन्टले आरविवि म्युचुअल फण्ड १ नामक एक अर्ब रुपैयाँ बराबरको योजना सो दिनदेखि निष्काशन तथा बिक्री खुला गर्ने लागेको हो ।
यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहने छ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । प्रतिईकाई मुल्य १० रुपैयाँ रहेको म्युचुअल फण्डमा अधिकतम एक करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ ।
इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गर्न लागिएको हो ।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताले मेरो सेयरको वेवसाइटमा गई आवेदन दिन सक्नेछन् । छिटोमा यही असार २७ गते बिक्री बन्द हुने यो फण्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने छ ।