हामीले घोषणापत्रमा लेखेका कुरा पूरा गरिसकेका छौं – नगरप्रमुख पोखरेल

<p>कोरोना महामारीको दोस्रो लहर व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिइरहँदा झापा जिल्लाको कनकाई नगरपालिकाले सो संक्रमण रोकथामका लागि देखाएको सक्रियता प्रशंसनीय छ । यो नगरपालिका पनि कोभिड–१९ बाट पिडित छ भने यहाँ अझैपनि संक्रमण फैलिइरहेको अवस्था छ । यसैक्रममा कोरोना भाइरस संक्रमणपछि नगरपालिकाले कसरी [&hellip;]</p>

कोरोना महामारीको दोस्रो लहर व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिइरहँदा झापा जिल्लाको कनकाई नगरपालिकाले सो संक्रमण रोकथामका लागि देखाएको सक्रियता प्रशंसनीय छ । यो नगरपालिका पनि कोभिड–१९ बाट पिडित छ भने यहाँ अझैपनि संक्रमण फैलिइरहेको अवस्था छ ।

यसैक्रममा कोरोना भाइरस संक्रमणपछि नगरपालिकाले कसरी उपचार सेवा सञ्चालन ग¥यो, त्यसैगरी स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले नगरपालिकामा विकास निर्माणको काम र सेवा कसरी प्रवाह गरेका छन् भन्ने लगायतका विषयमा केन्द्रित भएर सो नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोखरेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ ऊक्त कुराकानीको सम्पादित अंश :

कोरोना रोकथाम तथा न्यूनीकरणको लागि नगरपालिकाले के गरिरहेको छ ?

विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो नगरपालिका पनि अछुतो रहन सकेन । यस महामारीलाई नियन्त्रण गर्नका लागि नगरपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । महामारी नियन्त्रण गर्नको लागि हामीसँग जे जति स्रोतसाधन छ त्यसको भरपुर प्रयोग गरेका छौं । कोरोना संक्रमण दर हामीले कल्पना गरे भन्दा द्रुत रूपमा फैलिएको छ । नगरपालिकाले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने गरेको छ । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै नगरपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ ।

बजारमा भिडभाड हुन नदिनको लागि संघ, प्रदेश र स्थानीय तह मिलेर निषेधाज्ञा जारीगरेका छौं । तर, पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको र निषेधाज्ञालाई खुकुलो बनाएका छौं । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण फैलिनसक्ने जोखिम पनि उच्च छ । नगर भित्रका बजारहरु सञ्चालन गर्दा पनि स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्न लागि सबैलाई आग्रह गरेका छौं । नगरपालिका भित्र एउटा पीसीआर ल्याब छ, त्यसमा चाहिँ सबैले शुल्क तिरेर परीक्षण गर्न अवस्था छ ।

हालसम्म एन्टिजेन तथा पीसीआरमार्फत परीक्षण गर्दा ६ सय जना भन्दा बढिमा संक्रमित पुष्टि भएको छ । पालिकामा हालसम्म ४ सय जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि पालिकाबाट १८ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएका छौं । कोभिड बिरामीहरूका लागि अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिन्डरहरू भरेर तयारी अवस्थामा राखेका छौ ।

स्वास्थ्य सुविधा व्यवस्थापनको निमित्त स्वास्थ्यकर्मी टिम गठन भएको छ । यो टिमले चौविसौ घण्टा परिचालित छ । होम आइसोलेसनमा बसेकालाई यो टिमले आवश्यक परामर्श दिनु हुन्छ । कोभिड अस्पतालको रूपमा २० बेडको आइसोलेसन सेन्टरको स्थापन गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागी सबै लागिपरेका छौं भने महामारीलाई नियन्त्रण गर्नको लागी स्वास्थ्यकर्मीको ठुलो भूमिको छ । आइसियु बेड, भेन्टिलेटरमा राखि पनि जटिल बिरामीले उपचार गराइरहेका छौं । हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम गरे पनि महामारीसँग जुध्न निकै कठिन भइरहेको छ। पालिकामा हाल पनि संक्रमणको संख्या घटेको छैन । हाल पनि एक सय जनामा परीक्षण गर्दा १० जनामा कोरोनाको पुष्टि हुन्छ ।

कोरोना नियन्त्रणमा नगरपालिकालाई के–कस्ता समस्या छन् ? अबका चुनौती के छन् ?

चुनौती र समस्या त धेरै नै छन् । विश्वभरका उदाहरण बाट के देखिन्छ भने जसले भ्याक्सिन लगायो त्यो मानिस तुलनात्मक रूपमा सुरक्षित छ । त्यसो हुनाले जति सक्दो भ्याक्सिन खरिद गरेर ल्याउनु नेपाल सरकारको आजको आवश्यकता हो । भ्याक्सिन ल्याउनको लागि नेपाल सरकारले नसक्ने अवस्था छ भने जनताहरुले आफैं भ्याक्सिन खरिद गरी लगाउन सक्छन् । हाम्रो नगरपालिकाका ३० प्रतिशत मानिसहरुले भ्याक्सिन किनेर लगाउन सक्ने अवस्थामा छन् । यदि भ्यासिन ल्याउने हो भने नेपाल सरकारले आर्थिक बोझ हुन्छ कि भन्ने हिसाबले गाह्रो नमाने हुन्छ । धेरै संघसंस्था र मानिसहरुले हामी एउटा खोप लागउछौं र अरुलाई २ ओटा सम्म खोप सहयोग गर्छौं पनि भनेका छन् । वास्तवमा, अहिले सबैतिर भ्याक्सिन नै ठुलो आवश्यकताको रूपमा देखिएको छ ।

कमजोर आर्थिक अवस्था भएकाहरूको लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनुभएको छ ?

पालिकामा हाल निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञाको समयमा पनि हामीले सानासाना भौतिक निर्माणको कामहरु रोकेनौं । भौतिक वा सामाजिक दुरी कायम गरेर पनि विकास निर्माणको कामहरू सञ्चालन ग¥यौं । विकास निर्माण र आर्थिक गतिविधि निरन्तर सञ्चालन भए । दिनभरि मजदुरी गरेर साँझ चुलो धुवाउनेहरू निषेधाज्ञामा बिचल्ली परेका छन् भने उनीहरूलाई वडाको सहकार्यमा राहत वितरण गरेका छौं । गत वर्ष हामीले राहतका कार्यक्रमहरू सञ्चालन गरेका थियौं भने राहत वितरण गर्नले विकृति पनि भयो भने राहत भन्नाले सरकारको दिएको सुविधा भन्ने बुझाई भयो । यो वर्ष हामीले जहाँ अफ्टयारो पर्छ त्यहाँ मात्र राहतका कार्यक्रमहरू पुर्यायौं । हाल राहतमा भन्दा कोभिड नियन्त्रणमै सबैको चिन्ता र चासो छ ।

तपाईं नगर प्रमुखको रूपमा निर्वाचित भएको आएको ४ वर्ष पूरा भयो, जनताले अत्यधिक मत दिए, तपाईंंले पालिकालाई के दिनुभयो ?

हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम सकिसकेका छौं । निर्वाचित भएर आइसके पछि यहाँको पूर्वाधार, शिक्षा, पर्यटन, स्वास्थ्य, युवा दक्षता अभिवृद्धिलगायत रोजगार सिर्जनाका काममा केन्द्रित भएका छौं । पालिकामा दीर्घकालीन योजना बनायौं यसै योजनाअन्तर्गत हरेक वडामा नयाँ बाटो खन्ने, सडक स्तरोन्नति गर्ने काम भए । हरेका क्षेत्रहरूमा सुधार र परिवर्तन आएको छ । हामीले नगरपालिका भित्रका अधिकांश नागरिकहरूलाई पालिकाको तर्फबाट सेवा प्रवाहमा न्यूनतम आधारभूत कुराहरू परिपुर्ति गर्नको लागि हाम्रो प्रयत्न जारी छ ।

आजसम्म तपाईंले संघर्ष नै गर्नुपरेको र जुध्नुपरेका काम जुन अहिले पनि पूरा भएन, त्यो के होला ?

यो अवधिभर समस्या र चुनौतीहरू धेरै आए । खानेपानीको काममा धेरै बजेट लाग्ने भएको हुनाले यस तर्फ राम्रो काम गर्न सकेको छैन । ठुलाठुला विकास निर्माणको कामहरू छन्, सडक निर्माणको काममा हामीले जति गर्नुपर्ने थियो त्यति गर्न सकेका छौं । अर्को कुरा पर्यटन क्षेत्रमा पनि राम्रो काम गर्न सकेका छैनौं । नितिग कुराले पनि हामीले केही कुराहरू गर्न सकेका छैनौं । हामीले पालिकाको पुजिले भ्याउने जति काम चाहिँ गरेका छौं ।

नगरपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने पहिलो पालिका नै हाम्रो होला । सुरुमा हामीले ५२ लाख रुपैयाँ बजेट विनियोजन गरी ५२ जना कृषकहरुलाई कृषिको तालिम दिएका छौं । हामीले एउटा बैंकसँग साझेदारी गरेर ४ सय युवाहरूलाई रोजगारी दिनका लागि सम्झौता गरेका छौं । युवाहरूलाई कृषि उत्पादनसँग जोड्नु पर्छ भनेर हामीले भनिरहेका छांै । कृषि पेसामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं ।

अन्त्यमा, आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

सबैभन्दा पहिला त पालिकाका वासिन्दाहरुलाई धन्यवाद भन्न चाहन्छु । यहाँहरूकै साथ तथा सहयोगले नगरपालिकालाई एउटा बेग्लै पहिचान दिएर देशभरी चिनाउन सफल भएका छौं । विकास निर्माणको काम जनप्रतिनिधि एक्लैले मात्र गरेर भएकाे हाेइन बरू यहाँका राजनैतिक दल, नागरिक आदि सबैको सहयोगले यो सफलता पाउन सकेका हौं । कोभिडको समय पनि छ, भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफूमात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ । त्यसकारण कर्तव्यबोध हुन जरुरी पनि छ । तपाईंको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागिपरेका छौं । नआत्तिनुहोस्, धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहनुहाेस् भन्न चाहन्छु ।

Share News