आर्थिक अवस्था कमजोर भएका संक्रमितहरुलाई चामल, नुन र तेल वितरण गरेका छौं- गाउँपालिका उपाध्यक्ष केसी

<p>कोरोना भाइरस (कोभिड–१९) ले अन्य मुलुकहरुमा झैं नेपालमा पनि नराम्रो असर पुर्याएको छ । यस भाइरसबाट म्याग्दी जिल्लाको मंगला गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । गतवर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ । देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागी अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू [&hellip;]</p>

कोरोना भाइरस (कोभिड–१९) ले अन्य मुलुकहरुमा झैं नेपालमा पनि नराम्रो असर पुर्याएको छ । यस भाइरसबाट म्याग्दी जिल्लाको मंगला गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । गतवर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ ।

देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागी अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । मंगला गाउँपालिकामा चाहिँ फाट्टफुट्ट संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनीकरणका लागी गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ ।

गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

गाउँपालिकामा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनीकरण गर्नको लागी के कसरी काम गर्दै हुनुहुन्छ ?

तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । यस महामारीलाई न्यूनीकरण गर्नको लागी आइसोलेसन तथा अक्सिजनको व्यवस्था गरेका छौं । यो भाइरसबाट ३, ४ र ५ नं. वडाका धेरै नागरिकहरू संक्रमित भएका छन् । कोरोनाको समयमा पालिका भित्रका धेरै ठाउँमा पूजा तथा विवाहहरू भए । पूजाआजामा धेरै ठाउँबाट मानिसहरू आउने र भेटघाट हुने माहोल बन्यो, त्यसैले जहाँजहाँ मान्छेहरु धेरै भेला भए त्यही ठाउँमा कोरोनाले बढी प्रभाव पा¥यो । यो महामारी पालिकामा यसरी फैलिन्छ भन्ने हामीले सोचेका थिएनौं, यसलाई तुरुन्त नियन्त्रण गर्न सकिन्छ भन्ने आशा थियो । एकाएक पालिकामा कोभिड–१९ को प्रभाव तीव्र गतिमा बढ्यो र सुरुको चरणमा संक्रमण बढ्दै जाँदा यसलाई न्यूनीकरण गर्नको लागी समस्या पनि भयो । गत वर्षदेखि नै पालिकामा कोभिडको प्रभाव पर्न थालेपछि टोलटोलमा कोभिड न्यूनीकरण समिति गठन गरेका थियौं । त्यही समिति नै महामारी न्यूनीकरण गर्नको लागी यो वर्ष परिचालन गरेका छौं ।

यस महामारीको नियन्त्रणका लागी स्वास्थ्य शाखा, कार्यालयको टिम, जनप्रतिनिधिहरू दिनरात खटिरहनुभएको छ । पालिकामा संक्रमितहरुको संख्या पछिल्लो समयमा केही कम भएको हो कि भन्ने आभाष छ । पालिकाले पनि सबै नागरिकहरूलाई स्वास्थ्यका मापदण्ड अपनाउनको लागि अपिल गरेको छ । कोरोनासँग सम्बन्धित लक्षण देखिएका नागरिकहरूलाई टोलटोलमा गएर एन्टिजेन र पीसीआर परीक्षण गर्दै आएका छौं । कोभिडका बिरामीलाई उपचारका लागी अस्पतालसम्म पुर्याउने र उनीहरूलाई खान, बस्नका लागी निःशुल्क व्यवस्थापन पनि गरेका छौं ।

कोरोना संक्रमण दर बढ्न थालेपछि गाउँपालिकाको गाडीलाई पनि एम्बुलेन्सको रूपमा प्रयोग गरेका छौं । लक्षण देखिएका बिरामीलाई अस्पतालमा पनि राखेका छौं भने स्वास्थ्य अवस्था जटिल भएका बिरामीलाई पोखरासम्म उपचारका लागी पठाएका छौं । पालिकाका २ जना नागरिकको कोरोनाकै कारण मृत्यु भएको छ । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । पालिकामा हाल सक्रिय संक्रमितको संख्या २२ रहेको छ भने उनीहरू सबैको स्वास्थ्य अवस्था पनि सामान्य छ ।

होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनु भएको छ ?

हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरू प्रत्येक २–२ दिनमा घरघरमा गई उनीहरूको स्वास्थ्य अवस्था बारे बुझ्दै आउनुभएको छ । होम आइसोलेसनमा बसेका कोभिडका बिरामीहरूलाई आवश्यक पर्ने किट घरमै उपलब्ध गराएका छौं । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमै सुरक्षित बस्नको लागी आग्रह गरेका छौं । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्ष दिइरहनु भएको छ । साथै औषधि पनि उपलब्ध गराउँदै हुनुहुन्छ ।

अहिले गाउँपालिकालाई मुख्य चुनौती के छ ?

पालिकमा चुनौतीहरू धेरै छन् । बर्षायाम भएको कारण सडक बाटोघाटो भत्किएर बिरामीलाई तत्कालै उद्धार गर्न नसक्ने अवस्था छ । हाम्रो पालिका अलिक दुर्गम क्षेत्र पनि हो । अक्सिजन पालिकामा छ तर आवश्यक पर्याे भने पोखरा पुगेर ल्याउनुपर्ने हुन्छ । मुख्य चुनौती भनेको कोभिडको लहरलाई रोकथाम गर्न र उपचार गर्नुनै रहेको छ । अक्सिजनको आपूर्ति, गम्भीर बिरामीलाई कसरी समयमै उपचारका लागि पुर्याउने भन्ने नै प्रमुख चुनौती रहेको छ । स्वास्थ्यलाई प्रथमिकतामा राखेर बजेट बिनियोजन गर्ने हाम्रो योजना छ । पालिकामा १० शैया बेडको अस्पताल पनि निर्माण भइरहको छ । आवश्यक पर्ने स्वास्थ्य सामाग्री जुटाउनमा पनि चुनौती रहेको छ । तर, यी सबै चुनौतीको सामना गरी अगाडि बढिरहेका छौं ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा राहतका प्याकेजहरू पनि ल्याएको छ कि ?

हामीले पालिकामा राहत प्याकेजहरू ल्याएका छौं । गरिब र आर्थिक स्थिति कमजोर भएका परिवारलाई पालिकाबाट राहत वितरण गरिएको हो । कोरोना संक्रमित भएका विपन्न वर्गको लागी चामल, नुन, तेल आदि वितरण गरेका छौं भने अन्यलाई गरेका छैनौं । जो कोभिड प्रभावित छन्, जसले ज्याला मजदुरी गरेर परिवार पाल्छ, जसले यो समयमा कामै गर्ने सक्दैन, त्यस्तो व्यक्तिलाई मात्र हामीले राहत दिन्छौं । कोभिड बढ्दै गयो भने राहतको कार्यक्रमहरू ल्याउनु पर्ने अझ आवश्यक र अनिवार्य हुनेछ ।

कोरोना संक्रमण थप नफैलियोस् भन्नका लागी के रणनीति अपनाइएको छ ?

हामी संक्रमण थप नफौलियोस भनेर पालिकामा गर्ने भनेको सचेतनाको कार्यक्रम नै हो । यस महामारी नियन्त्रण गर्नको लागी पालिका स्तरबाट स्वास्थ्य सामाग्री र आइसोलेसनको व्यवस्थापन गर्ने हो । यसलाई नियन्त्रण गर्नका लागी पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो, मास्कहरू लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गरी भिडभाडमा जानु हुँदैन र नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ । पीसीआर र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । जहाँजहाँ कोभिडको केसहरू देखिएका छन् त्यहाँ तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमण फैलन नदिने र परीक्षणको दायरा पनि बढाएर अघि बढ्ने हो भने कोरोना अवश्य नियन्त्रण हुनेछ । आइसोलेसन र क्वारेन्टिन पनि थपेर चुस्त दुरुस्त रूपमा अघि बढ्ने योजना रहेको छ । अबको वर्षको निति तथा कार्यक्रम पनि हामीले बनाउँदै छौं । यो महामारी नियन्त्रण गर्नको लागी के कस्ता कार्यक्रमहरू राख्दा ठिक हुन्छ भनेर छलफल पनि गरी रहेका छौं ।

पुरै पालिकावासीलाई भ्याक्सिन लगाउनेबारे के सोच्नु भएको छ ? कहिले लगाउन पाउँछन् पालिका बासीले भ्याक्सिन ?

कोभिड विरुद्धको खोप ल्याउन र लगाउनको निमित्त हामीले नेपाल सरकारसँग पटकपटक आव्हान गरी रहेका छौं । विश्वमा नै खोपको चरम अभाव छ, यो समयमा खोप पाउन पनि समस्या छ । ६० देखी ६५ वर्ष सम्मकालाई खोप लगाउन सुरु गरेका छौं । यो महामारीको असर कम गर्न सङ्घीय सरकारले खोप किनेर दिनु पर्ने हो । तर, खोप अभाव विश्वमा नै भइरहेको समयमा हाम्रो पालिकाबासीले यो समयमा नै सबैले खोप लाउन सक्छन् भनेर अनुमान गर्न सकिँदैन । भ्याक्सिन पाए त अहिले पनि हामी पालिकावासीलाई लगाइदिन्छौँ ।

निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ?

यसबारे यकिनसँग भन्न सकिँदैन । पालिकामा जेष्ठ ३१ गतेसम्मको लागी निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालयको बैठक बसेर ३१ गतेबाट खोल्ने या निषेधाज्ञा जारी गर्न भनेर टुङ्गो हुन्छ । ७ बजेदेखि १० बजेसम्म मात्र किराना पसललाई खोल्न दिएका छौं भने अन्य पहसलहरु बन्द गरेका छौं । कोरोनाको संक्रमण यहि अनुपातमा बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ । हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागी सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागी गरिएको हो र यसलाई पूर्ण रूपमा परिपालना गरियो भने संक्रमित हुनबाट बच्न सकिन्छ भनेर यहाँका पालिकावासीहरूले बुझ्नु भएको छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । बिस्तारै निषेधाज्ञालाई खुकुलो बनाउने तयारी हुँदै छ ।

कति संक्रमित धान्न सक्छ त अब गाउँपालिकाले ?

पालिकामा १० बेडको आइसोलेसन कक्ष छ । यो भन्दा भयावह स्थिति आयो भने गाउँपालिकाले बनाएको सिमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । कोभिडका जटिल बिरामीहरूलाई आएभने जिल्ला अस्पतालमा उपचारको लागी पठाउने गरेका छौं । कोभिडका १० जना बिरामीलाई मात्र पालिकाको अस्पतालले धान्न सक्छ ।

कोरोना नियन्त्रणका लागी बजेटको प्रबन्ध कस्तो छ ?

गत वर्ष पनि हामीले कोभिड नियन्त्रणको लागि बजेट छुट्याएका थियौं । प्रदेश सरकाबाट पनि यो महामारी नियन्त्रण गर्नको लागी ५ लाख रुपैयाँ सहयोग मिलेको छ । वडाहरूले पनि महामारी नियन्त्रण गर्नको लागी बजेट छुट्याएका छन् । बिदेशमा रहनु भएका पालिकाबासिले पनि पालिकालाई स्वास्थ्य सामाग्रीको उपलब्ध गराउनु भएको छ । महामारी नियन्त्रण गर्नको लागि जनप्रतिनिधि कर्मचारीहरूले पनि रकम सहयोग गर्नुभएको छ । हाल नै कोरोना महामारी नियन्त्रणको लागी पालिकामा बजेटको अभाव भएको छैन । बिकास निर्माणको बजेटबाट पनि महामारी नियन्त्रण र संक्रमितको उपचार गर्नको लागी खर्च गरेका छौं ।

गाउँपालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ कि छैन ?

पालिकामा कोरोना फैलिन जोखिम क्षेत्रहरूको पहिचान भएको छ । २, ३, ४ र ५ नं. वडा कोरोनाबाट निकै प्रभावित भएका छन् । पछिल्लो समयमा कोरोना महामारी पालिकामा धेरै न्यूनीकरण भएको छ । बजारी इलाकाहरूमा कोरोनाको संक्रमण बढि फैलिने सम्भावना देखिन्छ तर खासै ठुलो बजारी क्षेत्र पनि पालिकामा छैन ।

पालिकाले गम्भीर खालका बिरामीलाई थप उपचारका लागि के व्यवस्था गरेको छ ?

कोभिडका केही गम्भीर बिरामीहरू जिल्ला अस्पतालमा पुर्याउने व्यवस्था गरेका छौं । गरिब विपन्न आर्थिक कमजोर भएका नागरिकहरु संक्रमित भए भने उपचारको लागी १५ हजार रुपैयाँ दिने भनेर निर्णय गरेका छौं ।

कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चहनुहुन्छ त ?

मंगला गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगरी दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारी पालिकमा नियन्त्रण भएको छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

Share News