काठमाडाैं । दया फाउण्डेशनले देशमा व्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा भएका चुनौती तथा समस्याहरुको समाधानमा राहत पुर्याउने उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।
संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेण्टरमा हालसम्म ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ ।
फाउण्डेशनका अध्यक्ष राजेश प्रधान यस्ताे समयमा थोरै नै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै विपन्न वर्गको कोभिड–१९ को उपचारमा सहयाेग पुर्याउने बताए
फाउण्डेशनले क्रिटिकल केयर नर्सिङ्ग संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउण्डेशनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ्ग सम्बन्धी भर्चुयल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
दया फाउण्डेशन समाजसेवी स्व.दयाराम भक्त माथेमाको स्मृतिमा उनका परिवारद्वारा पारिवारिक ट्रस्टको रुपमा समाजसेवाको लागी सन् २००९ मा स्थापित संस्था हो जसको मूलभूत उद्देश्यमा शिक्षा, स्वास्थ्य र संस्कृति पर्दछ ।
कोरोना महामारीको पहिलो लहरमा उल्लेख्य स्वास्थ्य सेवा उपलब्ध गराए बापत टेकु अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको कोभिड नर्सिङ्ग युनिटलाई दया फाउण्डेशनले “एक्सलेन्स अवार्ड”बाट सम्मानित गरेकाे थियाे ।