गाउँपालिका अध्यक्ष भन्छन्- पालिकामा पैसा भएर पनि स्वास्थ्य सामाग्री किन्न नपाइने अवस्था छ

<p>विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । दिन प्रतिदिन कोरोनाबाट प्रभावित बनिरहेको भएपनि गाउँपालिका सङ्कटलाई परास्त गर्नमा लागि परेको छ । धेरै ग्रामीण क्षेत्र रहेको यो पालिकाका सम्पूर्ण कामकाजमा कोरोनाले ठुलो असर पुर्याएको छ । गाउँपालिकामा फाट्टफुट्ट रूपमा संक्रमितहरु देखापर्ने क्रम जारी नै छ भने त्यति [&hellip;]</p>

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । दिन प्रतिदिन कोरोनाबाट प्रभावित बनिरहेको भएपनि गाउँपालिका सङ्कटलाई परास्त गर्नमा लागि परेको छ । धेरै ग्रामीण क्षेत्र रहेको यो पालिकाका सम्पूर्ण कामकाजमा कोरोनाले ठुलो असर पुर्याएको छ । गाउँपालिकामा फाट्टफुट्ट रूपमा संक्रमितहरु देखापर्ने क्रम जारी नै छ भने त्यति हुँदाहुँदै पनि कोभिड न्यूनीकरणका लागी गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ ।

गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागी कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् :

कोभिडको प्रभाव पालिकामा पनि बढ्दो छ, कोभिड–१९ को महामारीसँग जुध्नको लागी पालिकाले कस्तो प्रयास गरिरहेको छ ?

तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका त छैनन् । यो महामारी पालिकामा यसरी फैलिन्छ भन्ने हामीले सोचेका थिएनौं । एकाएक पालिकामा कोभिड–१९ को प्रभाव तीव्र गतिमा बढ्दै गयो । यस महामारीलाई न्यूनिकरण गर्नको लागि आइसोलेसन तथा अक्सिजनको व्यवस्था गरेका छौं । एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी पालिकामा लकडाउन पनि जारी गरेका छौं । पालिकामा उपचार हुन नसक्ने अवस्था आयो भने कोभिडका बिरामीहरूलाई एम्बुलेन्स मार्फत बिराटनगरसम्म लैजाने व्यवस्था मिलाएका छौं । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन्ट परीक्षण गर्ने व्यवस्था मिलाएका छौं ।

हामीले मास्क क्वारेन्टिन भन्दा होम क्वारेन्टिनलाई जोड दिएका छौं भने होम आइसोलेसनमा पनि कोभिडका बिरामीहरू बसेका छन् । होम आइसोलेसन बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले फोन मार्फत उनीहरूको स्वास्थ्य अवस्था बारे बुझिरहनु भएको छ । होम आइसोलेसनमा बसेका कोभिड बिरामीलाई सामान्य औषधी स्वास्थ्यकर्मीहरुले वितरण गर्नु भएको छ । जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं । अस्पतालको क्षमता बढाउने र संक्रमणको दर घटाउने कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नु आजको आवश्यकता छ । पालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागी सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेको छ । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । पालिकामा हालसम्म ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने केही नागरिकहरू निको भएर घर पनि गएका छन् । यस महामारी नियन्त्रणको लागी स्वास्थ्य शाखा कार्यालयको टिम खटिरहनु भएको छ । पालिकामा संक्रमितको संख्या पछिल्लो समयमा केही कमि भएको भन्ने आभाष छ । हाम्रो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने पालिकामा हामीले लकडाउनको घोषणा गरेका छौं ।

गाउँपालिकामा अक्सिजनको अभाव छ कि छैन ?

पालिकामा अक्सिजन भएता पनि पर्याप्त मात्रमा चाहिँ छैन । हाल कोभिडका बिरामीलाई अक्सिजन दिएर राख्नु परेको छैन भने धेरै कोभिडका बिरामीहरू होम आइसोलेसनमा बसेका छन् । त्यसै गरी स्वास्थ्य जनशक्तिको पनि अभाव छ । हामीले एन्टिजेन्ट परीक्षण गर्ने मेशिन पनि खरिद गरेका छौं । पालिकाको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण गरेका छौं । पालिकामा ५ ओटा अक्सिजन सिलिन्डर रहेको छ ।

आइसोलेसन बेड पालिकामा कति छ, आइसोलेसन कक्षको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

पालिकामा अक्सिजन सहितको ५ बेड आइसोलेसन कक्ष छ । पालिकाकै एउटा विद्यालयमा पनि आइसोलेसन सेन्टर बनाएका छौं । यो महामारी नियन्त्रण गर्ने भन्न चाहीँ सजिलो छ, तर स्थानीय तहमा आइसोलेसन कक्ष र स्वास्थ्य सामाग्री जुटाउनको लागी समस्या छ । यो रोग नियन्त्रणका लागि तयारी पुगेकाे छैन जस्ताे मलाई लाग्छ । हाम्रो पालिकाको अस्पतालमा दरबन्दीका डाक्टर नै छैनन् ।

पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ?

पीसीआर गर्नको लागी पालिकामा ल्याब छैन । पीसीआर गरे पछि चेक गर्नको लागी अन्य ठाउँ लानु पर्छ, रिपोर्ट आउन पनि धेरै समय लाग्ने गरेको छ । बर्खाको समयमा यातायात सञ्चालन हुन पनि समस्या छ । स्वाब सङ्कलनसम्म हाम्रो पालिकामा हुने सक्छ तर हामीले पीसीआर चाहिँ गरेका छैनौं । हाम्रो जस्तो दुर्गम स्थानमा पीसीआर गर्न पनि समस्या छ । एन्टिजेन्ट परीक्षण छिटो हुने भएकाले यस मार्फत कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरीकको परीक्षण गर्दै आएका छौं । एन्टिजेन परीक्षणलाई पालिकामा थप प्रभावकारी र व्यवस्थित बनाउनका लागी पनि जोड दिइरहेका छौं । एन्टिजेन परीक्षण गर्ने मेशिन पनि खरिद गरेका छौं । कोरोनासँग अन्तसम्बन्धित लक्षण देखिएका नागरिकहरूको एन्टिजेन परीक्षण गर्दै आएका छौं ।

जिल्लामा निषेधाज्ञा छ, पालिकामा लकडाउन छ, नागरिकले हाल लकडाउनलाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ?

नागरिकहरूले लकडाउनलाई सामान्य रूपमा लिएका छन् । निषेधाज्ञा भनेको केही होइन भन्ने मानिसहरुकाे साेचाइ छ । कार्यालयहरु बन्द भएको कारणले मानिसलाई सामान्य पिडा चाहिँ परेको छ । विस्तारै कोरोना लाग्यो भने समस्या हुँदो रहेछ भन्ने जनतामा चेतनाको विकास हुँदैछ । लकडाउन प्रति त्यति नराम्रो प्रतिक्रिया आएको छैन । निषेधाज्ञामा गाउँका मानिसहरू विभिन्न कृषिका कामहरू गरिरहेका हुन्छन् । हाम्रो जस्तो ठाउँमा निषेधाज्ञाको कुनै अर्थ पनि हुँदैन । यहाँका धेरै नागरिकहरू कृषिमा आवद्ध भएको कारण यो समयमा खेतमा काम गरिरहेका छन् । मानिसहरूलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाे र मृतकको संख्या पनि बढ्दो भएका समाचार तथा सूचनाले नागरिकहरू पनि त्रसित अवस्थामा छन् । निषेधाज्ञा भनेकाे जटिल कुरा हो तर यहाँका नागरिकहले बुझदैनन् । लकडाउनमा चाहिँ हिड्न नहुने रहेछ भने बुझ्ने भएकोले पालिकाले छुट्टै निर्णय गरी २२ गतेसम्मको लागी लकडाउन जारी गरेको छ भने जिल्लाले २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागी के कस्तो सहयोग मिलेको छ नि ?

हामी संघीयतमा गए पछि प्रदेश, केन्द्र र स्थानीय तहको बिचको समन्वय अभाव देखेको छु । केन्द्र र प्रदेशमा स्वास्थ्य सामाग्री आयो भन्ने सुनिन्छ तर स्थानीय तहमा आइपुगेको छैन । प्रदेश र केन्द्रबाट सहयोग नै आएको छैन भनौं भने केही कुरा आउने त प्रदेश र केन्द्र देखि नै हो । एन्टिजेन्ट परीक्षण गर्ने मेशिन पनि हामी आफै खरिद गरिरहेका छौं । केही समय अगाडि एन्टिजेन परीक्षण गर्ने मेशिन नभएर परीक्षणको दायरा बढाउन सकेनौं तर यो नभए पनि आतङ्क चाहिँ भई हालेकाे थिएन । हाल परीक्षण गर्ने मेशिन पनि आइसकेको छ । यो ३ ओटा सरकार बिचको अन्तरसम्बन्ध राम्रो हुन आवश्यक छ । जिल्लामा कुरा गर्याे भने स्थानीय तह आफैंले स्वास्थ्य सामग्री जुटाउने भन्ने सुनिन्छ । केन्द्र र प्रदेश सरकारको यति बेला जुन खालको सक्रियता हुुनुपर्ने थियो त्यति चाहिँ नभएको महशुस गरेको छु ।

जोखिम न्युनिकरण गर्नको लागी पालिकामा बजेट अभाव छ कि छैन ?

प्रदेश र केन्द्रबाट जोखिम न्यूनिकराण गर्नको लागी माथिबाट कुनै पनि बजेट पठाएकाे जानकारी छैन । हामी आफैंले गत साल पनि केही बजेटहरू छुट्याएका थियौं । कोरोना रोकथाम र नियन्त्रणको लागी जति बजेट हुर्नुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं । पालिकामा भएको विकास बजेटहरू पनि सबै तिरबाट आइरहेको छैन । बिकास निर्माणको कामलाई रोकेर भए पनि सकेसम्म स्वास्थ्य सामाग्री खरिद गर्ने भनेका छौं । यो समयमा स्वास्थ्य सामाग्री खरिद गर्न पनि सक्ने अवस्था छैन । ५ सय एन्टिजेन परीक्षण गर्ने किट किन्नको लागी हामीले २ महिना पर्खिनु पर्याे। किन्न पाइयो भने पनि स्वास्थ्य सामाग्री बेच्ने मानिसले बढि दाम भन्छ । बढि दामको बिल स्वास्थ्य सामाग्री बेच्ने मानिसले दिन मान्दैन भने कम दामको बिल उसले दिन्छ । यो खालको प्रक्रियाले गर्दा अत्यतै समस्या छ । यो एक स्वास्थ्य सम्बन्धि क्षेत्रमा भएको समस्या पनि हो । पालिकासँग पैसा भएर पनि स्वास्थ्य सामाग्री किन्न नपाइने अवस्था छ । हामीले अक्सिजनका सिलिन्डर त किन्नै पाएनौं । यो बेला स्वास्थ्य सामाग्रिको मूल्य पनि बढि छ । बढि मूल्य भएको सामाग्री खरिद गर्याे भने समस्या पनि हुन्छ ।

कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ?

कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ । विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । एक ठाउँबाट अर्काे ठाउँमा नजाऊ भनिएको छ । विकास निर्माणको काम त धेरै प्रभाव परेको छ । ८/९ जना कर्मचारीहरू होम आइसोलेसनमा बसिरहनु भएको छ । मानविय क्षति हुनबाट बचाऔं भन्ने छ । टेन्डरका काम अनि सानासाना तालिमका कामहरू पनि रोकिएका छन् । लकडाउन भएको समयभर अतिआवश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ । कर्मचारी नै संक्रमित भएपछि समस्या चाहिँ छ । यस्तो समयमा पनि काम गर्नुपर्दा निकै चुनाैति छ, जनताहरू रिसाएका छन्, यो रोगदेखि डराएका छन् । यसरी नै यो भाइरस फैलिरह्यो भने अब भोक देखि डराउने बेला पनि हुन्छ । कोरोना महामारी सकियो भने आगामी दिनमा यत्तिको अप्ठ्याराे चाहिँ स्थानीय तहले भाेग्नुपर्दैन जस्ताे लाग्छ ।

भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, यो समयमा तपाईंले चुनावमा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला र ?

यो एक राजनैतिक मुद्दा हो । राजनैतिक र संवैधानिक हिसाबले विशिष्ट ढंगले आउने कुरा हो । चुनावभन्दा राज्यले पहिलो प्राथमिकता जनताको स्वास्थ्यमा राख्नु पर्ने हो । राजनैतिक मुद्दा भएको कारण प्रक्रियामा छिरिसके पछि यो पनि एउटा आवश्यकता हो । सधै हामीले कोरोना भन्दै बस्नु पर्ने अवस्था आउँदैन होला र यो महामारी सधै यसरी नै बढिरहन्छ भन्ने अपेक्षा पनि गरेका छैनौं । कोरोना महामारी नियन्त्रण भयो भने चुनाव पनि आवश्यक हो । पहिलो प्राथमिकता जनताको स्वास्थ्यको हो तर अहिले नै चुनाव हुँदैन भन्ने बेला हैन । त्यो बेलासम्म हामी अपेक्षा गरौं । यो कोरोनाको कहर नियन्त्रण हुँदै गयो भने र सहज वातावरण बन्दै गयो भने चुनाव पनि आवश्यकतै हो ।

यदि कोरोनाको संक्रमण नेपालमा पनि रहिरह्यो भने त्यो बेला विशिष्ट खालको एउटा राजनैतिक तथा संवैधानिक निर्णय होला । खाली संविधानको कुरालाई मात्र पढेर भएन । मान्छे गाउँगाउँमा मरिरहेका छन् । यो बेलामा चुनाव पहिलो प्राथमिकता होइन, पहिलो प्राथमिकता स्वास्थ्य हो । त्यसो भन्दैमा अहिले नै चुनाव हुँदैन भनिहाल्ने बेला होइन । त्यो बलासम्म अपेक्षा तथा आशा गरौं कोरोना नियन्त्रण हुँदै जाला । आर्थिक वर्ष ७७/७८ को बजेटमा मानिसको स्वास्थ्यमा ख्याल गरेर राज्यले धेरै बजेट ल्याएको पनि बुझेको छु । सबै जनतालाई कोरोना विरुद्धको खोप लगाएर जनतालाई सुरक्षित गरेर एउटा नियमित प्रक्रियाबाट जानुपर्ने हुन्छ । यो महामारीलाई नियन्त्रण गर्नमा सबै जना लागिपर्याैं भने यो अवश्य पनि नियन्त्रण हुन्छ । चुनाव भनेको दोस्रो पाटो हो । महामारी बढ्दै गयो भने चुनावलाई सार्नुपर्ने पनि हुन सक्छ ।

पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको छ, तर पीसीआर गर्न ढिला भएको भन्ने सुनिन्छ, किन यस्तो भएको होला ?

भाइरल ज्वरोको मौसम भएको कारणले पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको हो । कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएकालाइ एन्टिजेन परीक्षण गर्दै आएका छौं भने पीसीआर गर्नको लागी पालिकामा ल्याब छैन । सबैलाई पीसीआर गर्न सक्ने अवस्था पनि छैन । पहिलो हामीसँग एन्टिजेन्ट परीक्षण गर्ने किट पनि थिएन । हामीले किट खरिद गरी एन्टिजेन्ट परीक्षणको लागी सुरुवात गरेका हौैं । एन्टिजेन्ट परीक्षण गर्ने मेशिन र किट खरिद गरी जो–जो मानिसलाई कोरोनासँग सम्बन्धित लक्षण देखिएको थियो उनीहरूको घर घरमा गएर परीक्षण पनि गर्यौं ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएता पनि जनचेतनाको अभावले कोरोना परीक्षण गर्न मानेका छैनन् । कोरोना देखियो भने मानिसले समाजले तिरस्कार गर्छ भन्ने नागरिकको मानसिकता छ । एन्टिजेन परीक्षण गर्ने किट आएपछि जेठ ४ गतेबाट परीक्षण अहिलेसम्म गरिरहेका छौं । संक्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउने काम गरिरहेका छौं । सबै काम कोरोना रोकथाम नियन्त्रण गर्ने औषधी ल्याउने, परीक्षण गर्ने सबै काम जनप्रतिनिधि र २/४ जना स्वास्थ्यकर्मीले गर्नुपर्ने हो भन्ने छ । यो महामारी नियन्त्रण गर्नको लागी सबै जनप्रतिनिधि, कर्मचारी, नागरिकसमाज सबै राजनीतिक दल आदि लाग्नु पर्ने हो । तर, यो महामरी नियन्त्रण गर्नको लागि यस्तो खाल्को माहोल बनेन । सबै भन्दा बढि लकडाउन गरेर कोरोना संक्रमण धेरै हदसम्म रोक्न सफल भएको हाम्रो पालिका हो । कोरोना महामारीको समयमा बिवाह पनि भयो । मानिसहरुले जम्मा भएर भोज पनि खाए र धेरै ठाउँबाट मानिसहरू आउने र भेटघाट हुने माहोल बन्यो । त्यसैले जहाँजहाँ मानिसको जमघट धेरै भए त्यही ठाउँमा कोरोनाले बढी प्रभाव पार्यो ।

स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा के छ ?

फेरी यस किसिमको महामारी आउँछ भनेर हामीले कल्पना गरेका थिएनौं । सबै पालिकामा ठुलो अस्पताल बनाउन सक्ने क्षमता हुँदैन । राम्रो स्वास्थ्यकर्मीको पनि स्थानीय तहमा अभाव छ । सरकारले पनि हाम्रो जस्ता ठाउँको स्वास्थ्य अवस्था बारे ख्याल गर्दैन । डाक्टरको अभावका कारण पालिकाले डाक्टरको तलब थपेरै भएपिन महामारी नियन्त्रण गर्नमा लागेका छौं । यो महामारी नियन्त्रण गर्नकोलागि प्रमुख जिम्मेवारी राज्यको हो । जबसम्म जनता सचेत रहँदैनन् तबसम्म स्थानीय तहको नेतृत्वले मात्र केही हुँदैन । सबै स्थानीय तहहरू समान खाल्का छैनन् । स्थानीय तहहरू सजग छन् तर स्रोत, साधन तथा उपकरण जुटाउने कुरामा सरकारले नयाँ खाले ढाँचा ल्याउनु पर्छ । किनभने यदि स्थानीय सरकार थिएन भने यो महामारी भयावह हुन सक्ने थियो । राज्यले पनि विकसितभन्दा कम विकसित भएको स्थानीय तहको विकास गर्नुपर्ने आवश्यकता छ ।

स्थानीय तहले गरेको कामले नै आज संक्रमण धेरै ठाउँमा फैलिन पाएकाे छैन । यो महामारी नियन्त्रण गर्नमा स्थानीय तहको ठुलो भूमिका रहेको छ । त्यसैले स्थानीय सरकारले नै कोभिड नियन्त्रण गर्नमा पहल गरेन भन्न पाइँदैन । स्वास्थ्य, शिक्षा र रोजगारीमा राज्यले जिम्मा लिनुपर्ने आवश्यकता छ । स्थानीय तहमा धेरै काम हुन्छन् । यो महामारी नियन्त्रण गर्नमा सक्दाे काम त हामी गरीरहेकै छौं ।

Share News