काठमाडौं । एयरबस फाउण्डेसनले नेपालमा कोभिड-१९ मा सहायतास्वरुप उपलब्ध ७ टन चिकित्सकीय उपकरणहरु पठाएको छ । यूरोप र विदेश मामीला सम्बन्धी फ्रान्सेली मन्त्रालयको संकट तथा सहायता केन्द्र (सिडिसिएस) सँग मिलेर फाउण्डेसनले उक्त उपकरणहरू नेपाल पठाएकाे हाे ।
ती सहायता सामग्रीहरु बोकेर एयरबस परीक्षण विमान ए ३५० ले टोयुलो टूलूज फ्रान्सबाट नयाँ दिल्ली, भारत हुँदै काठमाडौं, नेपालसम्म उडान भरेको छ ।
सीडीएस, फ्रान्सको स्वास्थ्य मन्त्रालय तथा भिजाइरे सोलिडेरद्वारा उपलब्ध गराइएको सहायता सामग्रीहरुमा मास्कहरु, सुरक्षा चश्माहरु, रेस्पिरेटर्स साथसाथै एन्टिजेन परीक्षण उपकरणहरु रहेका छन् । यसरी प्रदान गरिएको सहयोगले नेपाल सरकारलाई देशभित्र कोभिड-१९ को व्यवस्थापन गर्न सघाऊ पुग्ने विश्वास गरिएको छ ।
‘नेपालको अवस्था अझै पनि गंभीर, यसैले हामीलाई उपलब्ध भएका स्रोतहरुका साथ देशले चालिरहेको कोभिड-१९ विरुद्धको लडाईंमा सहायता दिइरहन हामी प्रतिबद्ध रहीरहने छौं । एयरबस फाउण्डेसनका निर्देशक रचेल स्क्रोइडरले भने- ‘नेपाली जनताहरुसम्म यस किसिमको मानवीय सहायता ल्याउन हाम्रो साझेदारलाई साथ दिन पाएकोमा म अत्यन्त हर्षित छु । हामीलाई आशा छ हाम्रो यो योगदानले प्रभावितहरुलाई थप राहत पुग्नेछ ।’
सहायता सामग्रीहरु बोकेको विमान जेठ १९ गते नयाँ दिल्लीबाट काठमाडौं आइपुगेको छ । एयरबस फाउन्डेशनले भारतमा पनि कोभिड-१९ को दोस्रो लहरबाट प्रभावितहरुका लागि प्रदान गरिएका मेडिकल उपकरणहरु पुर्याएको थियो ।