
थुलुङ दुधकोशी गाउँपालिका प्रदेश नं. १ अन्तर्गतको सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो । ९ ओटा वडा रहेको यस गाउँपालिकामा १९ हजार ६ सय ७२ जना मानिसको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका १ सय ४४ दशमलव ६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसले पालिकामा के–कस्तो असर पुर्यायो र यसलाई न्यूनीकरण गर्नको लागि पालिकाले के गर्दै छ, स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष असिम राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी ।
कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनीकरण गर्नको लागि कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?
अन्य ठाउँमा जस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । तथापी नियमित काम आफू सुरक्षित भएर मात्र गर्नुपर्छ भन्ने हिसाबले हामीले जनतालाई दिने सेवा रोकेका छैनौं । पालिकामा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर नै काम गरिरहेका छौं । पालिकाले ७ ओटा महत्वपूर्ण निर्णय गरी यहाँका जनतालाई सुरक्षित राख्नको लागि स्थानीय सरकारले कुनैपनि कसर बाँकी राख्दैन भन्ने किसिमको भावना पैदा गराउन सकारात्मक खालका भुमिका खेलेका छौं । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । कोभिडले पालिकाको समग्र विकास निर्माणका साथै विभिन्न क्षेत्रहरूमा प्रभाव पारेको छ । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने कोभिड अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एबुलेन्सको पनि व्यवस्था गरेका छौं । स्थानीय सरकार जुनसुकै परिस्थितमा पनि नागरिकको सुरक्षाको लागि उभिन्छ भनेर प्रत्याभूति दिन सकेका छौं । पालिकास्तरको ५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण गरी यस अस्पतालमा १० जनासम्म कोरोना संक्रमितलाई अक्सिजन दिँदै राख्न सक्छौं । पालिकामा भेन्टिलेटरको अभाव रहेको छ । पालिकामा पीसीआर गर्नका लागि ल्याब छैन । पीसीआर विधिबाट परीक्षण गर्नको लागि समस्या भएको कारण एन्टिजेन परीक्षण चाहिँ धेरै गरेका छौं । जिल्ला भरिका स्थानीय तह मिलेर ल्याब सञ्चालन गरी पीसीआर गर्ने हो कि नेर हामीले सल्लाह पनि गरेका छौं ।
यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । हामीले सबै नागरिकलाई होम आइसोलेसनमा नै बस्न आग्रह गरेका छौं । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागकिलाई मात्र कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बस्ने नागरिकहरूलाई पनि मेडिकलको सम्पुर्ण प्याकेज किट दिएका छौं । स्वास्थ्यकर्मीहरुले प्रत्येक २ दिनमा होम आइसोलेसनमा बसेका नागरिकलाई उनीहरूको स्वास्थ्य सम्बन्धी जनकारी पनि लिइरहनु भएको छ । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । यस महामारीलाई न्यूनीकरण गर्नको लागि सबै लागिपरेका छौं ।
पालिकाले कृषिक्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ?
हाम्रो पालिकामा खेतीतर्फ धेरैको आकर्षण बढ्दै गएको छ । यहाँको आवश्यकता र हावापानी अनुसार तरकारी खेतीको डिपीआर नै गरेर कृषि विकासको कामहरू गरेका छौं । कृषि विकासको लागि कृषिलाई आधुनिकिकरण गर्नमा विशेष जोड दिएका छौं । पालिकामा कृषकहरूलाई कृषिका विभिन्न तालिमहरू दिँदै आएका छौं । यहाँका धेरै नागरिकहरूले कृषि पेसा नै अँगालेका छन् । तरकारी खेतीले राम्रो फाइदा दिन थालेपछि धेरै किसान व्यवसायिक रूपमा तरकारी खेतीतर्फ आकर्षित भएका छन् । कृषकहरूलाई पशुपालनको तालिम पनि दिँदै आएका छौं । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषिक्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । बिदेसिएका केही युवाहरू पनि गाउँमै फर्किएर पशुपालन तथा कृषि पेशामा लागेका छन् । कृषि उत्पादनका हिसाबले हाम्रो पालिका उर्वर भूमि पनि हो । युवाशक्तिलाई गाउँमै रोजगारीसँगै आय आर्जनका सम्भावनामा उत्प्रेरित गराउनको लागि जोड पनि दिइरहेका छौं । परम्परागत खेती प्रणाली छाडेर व्यवसायमुखी बन्नु जरुरी ठानेर कृषिका विभिन्न कार्यक्रम पनि गर्दै आएका छौं ।
कृषि उत्पादन र स्वरोजगारी बढाउनका लागि भनेर विगत वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका छौं । गाउँमा समूह, सहकारी तथा व्यक्तिगत लगानीमा कृषिको व्यवसायिकतामा यहाँको कृषकहरू पछिल्लो समय आकर्षित हुँदै आएका छन् । उत्पादन र आम्दानी राम्रो भएपछि उनीहरू व्यवसायिक कृषिमा अगाडि बढ्न थालेका छन् । पालिकामा आलु, खुर्सानी, सिमी, बोडी, धनियाँ, गोलभेँडा, भान्टा, धान र मकै खेती हुने गरेको छ । पालिकामा केही गर्छौं भन्ने कृषकहरूलाई ४ प्रतिशत सुलभ ब्याजदरको ऋण दिने व्यवस्था मिलाएका छौं । कृषि सहकारीको साझेदारीमा काम गरेका छौं भने स्थानीयस्तरमा दर्ता भएका कृषि समूहमार्फत पालिकाको समग्र कृषि विकासको लागि काम गर्दै आएका छौं । पालिकामा कृषि समूहको पनि गठन भएको छ । कृषक र पालिकाको साझेदारीमा हामीले ५० प्रतिशत अनुदानमा बिउ बिजन पनि वितरण गर्दै आएका थियौं तर अनुदानले सबै किसानलाई लाभ नपुर्याएको हुँदा हामीले कृषि लोनलाई नै जोड दिएका छौं । कृषि लोन कार्यक्रम अलिक बढि प्रभावकारी पनि भएको छ ।
पालिकाको सबै वडालाई कृषि पकेट क्षेत्रको रूपमा छुट्याई कृषि विकासको कामहरू अगाडि बढाएका छौंं । पालिकामा गहुँ, आलु, बाख्रा, बङ्गुर पकेट क्षेत्रहरु रहेका छन् । पालिकामा सुन्तला र किवी जोन पनि रहेको छ भने विभिन्न ब्लकका कार्यक्रमहरू पनि रहेको छ । गाउँपालिकालाई समृद्ध बनाउने आधार पनि कृषि हो । गाउँपालिका भित्र तरकारी र फलफूल खेती नै मुख्य रूपमा हुने गरेको छ । उन्नत जातका बाख्रा तथा खसी, स्थानीय जातका कुखुरा पालनसँगै बेमौसमी तरकारी उत्पादन गरिँदै आएको छ । भौतिक पूर्वाधारको विकास गर्दै कृषि तथा पशुपालनलाई वृद्धि गर्दै लैजाने योजना हाम्रो रहेको छ । कृषि क्षेत्रबाट कतिपय कृषकहरुले राम्रो आम्दानी गर्न पनि सफल भएका छन् । खेती योग्य जमिनलाईलाई बाँझो नराख्न आग्रह गरेका छौं । स्थानीय बजारमै सबै तरकारीहरू खपत हुने भएकाले पालिकामा बजारको समस्या छैन ।
शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ?
शिक्षा विकासका लागि भनेर हामीले शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधि तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड पनि दिएका छौं । ग्रामीण क्षेत्रका बालबालिकालाई आफ्नै घरमा बसेर पढ्ने वातावरण बनाएका छौं । लगानीको हिसाबले शैक्षिक क्षेत्रमा नै धेरै बजेट छुट्याएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण गरेका छौं । कोभिडको कारण शैक्षिक क्षेत्र पनि प्रभावित बन्दै गएको छ भने हाल सबै विद्यालयहरू बन्द भएका छन् । हामीले अब व्यवसायिक शिक्षा विद्यार्थीलाई दिनुपर्छ भन्ने तर्फ जोड दिएका छौं । शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नका लागी विभिन्न विषयका विज्ञहरुबाट तालिम पनि दिँदै आएका छौं ।
गुणस्तरिय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयका प्रधानाध्यापक र समितिसँग समयसमयमा छलफल गरिरहेका हुन्छौं । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा नभएको भन्ने जुन खालको एउटा प्रवृत्ति छ त्यसलाई हटाउनको लागि शिक्षा क्षेत्रको विकासको कामहरू अगाडि बढाइरहेका छौं । निजी विद्यालयमा विद्यार्थीको चाप बढि हुने र सामुदायिक विद्यालयमा भने पढाई हुने ठाउँ होइन घुम्न जाने ठाउँ हो भन्ने जुन खालको सोचाई छ त्यो सोचाइलाई अन्त्य गरेर सामुदायिक विद्यालयलाई पनि विद्यार्थीको रोजाइको केन्द्र बनाउनको लागी कम्मर कसेका छौं । पालिकाको शैक्षिक क्षेत्रमा सुधार आएपछि पछिल्लो समयमा निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । शिक्षातर्फ जिल्लाकै सबैभन्दा राम्रो काम गरेको हाम्रो पालिकाले नै हो भन्दा फरक पर्दैन । पालिकाका विद्यार्थीहरूको भविश्य सुनिश्चित छ । प्रदेश नं. १ पहिलो बहुप्रविधिक शिक्षालयको स्थापना गर्ने पालिका पनि हाम्रो हो । शिक्षा विकासका लागि गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती प्रदान गर्ने गरेका छौं ।
तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ?
नेपालको सबै स्थानीय तहमध्येको अब्बल पालिका भनेर दाबी पनि हामी गर्छौं । हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेभन्दा धेरै कामहरू पुरा गर्न सफल भएका छौं । हामीले गरेको कामको परिणाम धेरै समय पछि देखिन थाल्छ नै । त्यस कारणले गर्दा हामीले काम नै गर्न नसक्ने कुराहरू घोषणापत्रमा लेखेका पक्कै थिएनौं । काम गर्नसक्ने कुराहरू मात्र हामीले प्रतिबद्धता गरेका थियौं । कोभिडको कारण गौरवका आयोजनाहरू सबै रोकिएका छन् । हामीसँग आएको बजेट बढिभन्दा बढि जनताको पक्षमा लगेर नै विकास निर्माणको कामहरू अगाडि बढाएका छौं । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेका छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुरा बाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपुर्ण हुन सक्छन् भन्ने ठानेर समग्र पालिकाको विकास निर्माणमा जुटेका छौं । स्वास्थ्य सेवाको पहुँच सबै नागरिकलाई पुगोस् भनेर हामी काम गरिरहेका छौं । पालिकामा ५० शैयाको अस्पतालको पनि निर्माणकार्य सकिन लागेको छ । जनस्तरबाट नै हामीले अस्पताल निर्माणको लागि १० करोड रुपैयाँ पैसा उठाएका थियौं । यी कुराहरूलाई पुरा गर्न पछिल्लो राजनैतिक अवस्था, सरकार परिवर्तन, प्रदेश सरकारको परिवर्तन र अन्य कारणले गर्दा केही असर पनि भएको छ ।
तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?
सडक सञ्जाल पालिकाको सबै ठाउँमा पुगेको छ । हामीले गाउँपालिकासम्म आउने सडकको कालोपत्रे गर्ने कार्य अगाडि बढाएका छौं । प्रत्येक वडाबाट गाउँपालिकासम्म आउने सडक हाम्रो कार्यकालमानै स्तरोन्नती भइसक्छ । हाम्रो पालिका आउनको लागि वारी र पारी कोशी भएको हुनाले लगभग १ अर्बको जति मोटरेबल पुल निर्माण गर्ने चरणमा छौं । प्रदेश र केन्द्र सरकारको समन्वयमा यो काम पनि अगाडि बढेको हो । ग्रामीण विद्युतिकरणको लागि उज्यालो गाउँ बनाउने अभियानमा लागिपरेका छौं ।
स्थानीयस्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ?
रोजगार बन्नको लागि मान्छेमा सिप हुनुपर्छ । पालिकामा सिप भएका युवाहरू कमै मात्र छन् । सिप विकासको लागि प्राविधिकसँग अन्तर सम्बन्धित विभिन्न तालिम पनि दिँदै आएका छौं । युवालाई स्वरोजगार बनाउनको लागि ठुलो बजेट छुट्याएका छौं । कृषिका अतिरिक्त केही मानिसहरू सरकारी तथा गैरसरकारी सेवामा संलग्न रहेका छन् भने केही व्यापार व्यवसायमा संलग्न भएका छन् । धेरै यूवाशक्ति भने वैदेशिक रोजगारीमा जाने गरेका छन् । युवाहरूलाई कृषिमा जोडिनको लागि आग्रह गरेका छौं । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । धेरै रोजगारी सिर्जना गर्नको लागि पालिकामा ठुला उद्योग छैनन् । पालिकाको विकास निर्माणको काममा पनि युवाहरूलाई परिचालन गर्दै स्वरोजगार बनाइरहेका छौं । युवालाई स्वरोजगार बनाउनको लागि पनि हामीले जोड नै दिएका छौं ।
तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ?
जनताको सेवा नै हाम्रो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि हो । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ केही उपलब्धिहरू भएको छ । हामी निर्वाचित भएर आइसकेपछि ‘आमा सुरक्षा’ भन्ने कार्यक्रम सञ्चालन ग¥यौं । यो पालिकामा अन्यत्रभन्दा बढी मातृ मृत्युदर हुने गथ्र्यो । हाल हामीले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्दै गर्भवती भएका महिलालाई ५ हजार रुपैयाँसम्म भत्ता दिँदै आएका छौं । एकमात्र क्षेत्रमा नभएर पालिकाको विभिन्न क्षेत्रहरूमा सुधार र परिवर्तन ल्याउनु नै मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि हो ।
अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?
अब १ वर्ष मात्र हाम्रो कार्यकाल बाँकी छ । १ वर्षको अवधिमा पनि धेरै काम त गर्न सक्छौं । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास लगायतका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । जनताको सेवाका लागी सधैं तत्पर छौं । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । जनताको आर्थिक स्थिति सुधार गर्नकोलागि कृषि र पशु क्षेत्रलाई विकास गर्ने प्रयासमा छौं । नागरिकको जीवनस्तरलाई उकास्ने र पछाडि परेका टोल क्षेत्रलाई विकास गर्ने सोचमा पनि छु । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ ।
अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । जनताको सुरक्षाका लागि स्थानीय सरकार सधैं तत्पर रहन्छ । मानिसले सोचेभन्दा बढि मात्रामा पालिकामा कोभिड फैलिरहेको छ । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु ।