काठमाडौं । ललितपुर महानगरपालिका भित्र सञ्चालन भएका सबै विद्यालयहरुले जेठ २५ गतेसम्म सबै तहको परीक्षा सञ्चालन गरिसक्नुपर्ने भएको छ । शुक्रबार बसेको महानगर अन्तरगतको परीक्षा तथा समन्वय समितिको बैंठकले उक्त निर्णय गरेको हो ।
शिक्षा शाखाले एक सूचना प्रकाशन गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्यांकनको आधारमा आएको नतिजा २५ गतेभित्र शिक्षा महाशाखामा पठाउन निर्देशन दिएको छ ।
सूचनामा भनिएको छ विद्यालयले यसअघि लिएको परीक्षा, विद्यार्थी निरन्तर मूल्यांकन, आन्तरिक मूल्यांकन र अन्य बैकल्पिक विधिबाट विद्यार्थी मूल्यांकनको आधारमा र कक्षा ८ को विद्यार्थीको हकमा विद्यार्थीले प्राप्त गरेको विषयगत प्रयोगात्मक प्राप्तांक (अंकमा) समेत खुलाई तोकिएको एक्सेल सीटमा प्रविष्ट गरी जेठ २५ गतेभित्र शिक्षा महाशाखामा पठाउनुपर्ने छ ।
विद्यालयले विद्यार्थी विवरण पठाएकै एक्सेल सीटमा उल्लेख भए बमोजिम विषयगत प्राप्तांक (अंकमा) प्रविष्ट गरी मेल गर्न निर्देशन दिएको हो ।
