नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनीया गान्धीले कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेकी छिन्
प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार पत्र लेख्दै भारतको प्रमुख प्रतिपक्षी दलकी अध्यक्ष गान्धीले कोरोनाका कारण बावुआमा दुवै गुमाएका वा कमाउने व्यक्ति गुमाएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेका हुन् ।
“कोरोनाभाइरसको महामारीले धेरैलाई नकारात्मक असर पारेको छ, तर आफ्ना बाबुआमा गुमाएका बालबालिकाहरु थप समस्यामा छन्, त्यसैले उनीहरुका लागि विषेश व्यवस्था गर्नुपर्दछ,” गान्धीले पत्रमा उल्लेख गरेकी छिन् ।
कोरोनाका कारण अविभावक गुमाएकै कारणले कुनै पनि बालबालिका शिक्षा लिनबाट बञ्चित हुनु नहुनेमा उनले जोड दिएकी छिन् ।
उनले आफ्ना श्रीमान् राजिव गान्धीको सक्रियतामा स्थापना भएको नवोदय विद्यालयमा त्यस्ता बालबालिकाहरुलाई निःशुल्क पठन पाठनको व्यवस्था गरिने पनि बताईन ।
उनका अनुसार त्यस विद्यालयले उच्च गुणस्तरीय शिक्षा दिदै आएको छ भने देशभरी ६६१ शाखा विद्यालयहरू रहेका छन् । गरिब तथा जेहेन्दार र प्रतिभाशाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिने उद्धेश्यले यस विद्यालयको स्थापना गरिएको पनि अध्यक्ष गान्धीले पत्रमा चर्चा गरेकी छिन् ।
“नवोदय विद्यालयका शाखा विद्यालयहरुमा बाबुआमा गुमाएका सवै बालबालिकाहरूलाई निःशुल्क अध्ययनको व्यवस्था हामीले मिलाउने भएका छौँ, त्यसका लागि समन्वय गरिदिनुहुन मैले यो पत्र लेखेको हुँ,” उनले पत्रमा उल्लेख गरेका छन् । रासस÷एएनआई