राम्रो उत्पादन गर्ने कृषकहरुले पुरस्कार स्वरूप ४० हजार रुपैयाँ नगद पाउँदै आएका छन् – गाउँपालिका अध्यक्ष शर्मा

<p>बरेङ गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लामा पर्ने भौगोलिक विविधतामा एकता कायम रहेको, प्राकृतिक हिसाबले सुन्दर र विकासका अनेक सम्भावनाहरू भएको गाउँपालिका हो । बरेङ बजारको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको छ । ५ ओटा वडा रहेको यस गाउँपालिकामा १४ हजार ४ सय ९२ जना मानिसको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका ७५ दशमलव २८ [&hellip;]</p>

बरेङ गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लामा पर्ने भौगोलिक विविधतामा एकता कायम रहेको, प्राकृतिक हिसाबले सुन्दर र विकासका अनेक सम्भावनाहरू भएको गाउँपालिका हो । बरेङ बजारको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको छ । ५ ओटा वडा रहेको यस गाउँपालिकामा १४ हजार ४ सय ९२ जना मानिसको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका ७५ दशमलव २८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ यस गाउँपालिकामा कृषि विकासका लागि के–कसरी काम हुँदै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनीकरण गर्नको लागि कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

कोरोना महामारी पालिकामा पनि दिन प्रतिदिन बढ्दै गएको छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकामा पनि बढ्दो रूपमा फैलिएको कारण पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । भारतबाट सीमा पार गरी २ दिन हाम्रो पालिकामा हिँडेर नै नागरिकहरू आउन सक्ने भएकाले बाहिरबाट आउने संख्या पनि धेरै छ । कोभिडले पालिकाको समग्र विकास निर्माणको र विभिन्न क्षेत्रहरूमा प्रभाव पारेको छ । पालिकास्तरको विभिन्न सङ्घ संस्था मिलेर उच्च स्तरिय समितिको गठन गरेका छौं । यो समिति मार्फत जनचेतना वा सचेतनाका कार्यक्रम सञ्चालन हुर्दै आएको छ । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । हामीले मास्क क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । हामीले सबै नागरिकलाई होम आइसोलेसनमा नै बस्न आग्रह गरेका छौं ।

पालिकामा कोरोना संक्रमित पनि बढ्दो छ । पालिकास्तरको कोभिड अस्थायी अस्पतालको निर्माण गरेका छौं । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागकिलाई कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं । पालिकामा अक्सिजन सहितको ५ बेडको अस्पताल रहेको छ । हामीले कोरोनासँग मिल्दोजुल्लो लक्षण देखिएका नागरिकहरुकोस्वाब सङ्कलन गरी धौलागिरि अस्पतालमा पठाउने गरेका छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । हालसम्मको अवस्थालाई मध्यनजर गर्दा कोरोनाको प्रभाव पालिकामा पनि उच्च भइसकेको छ भने यसलाई न्यूनीकरण गर्नको लागि सबै जुटेर मिलेर लागी परेका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ?

लगानीको हिसाबले शैक्षिक क्षेत्रमा नै धेरै बजेट छुट्याएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण गरेका छौं । कोभिडको कारण शैक्षिकक्षेत्र पनि प्रभावित बन्दै गएको छ भने हाल सबै विद्यालयहरू बन्द भएका छन् । फरक फरक क्षमता भएका विद्यार्थिहरुलाई उनिहरुको रुची अनुसारको कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौं । हामीले अब व्यवसायिक शिक्षा विद्यार्थीलाई दिनुपर्छ जोड दिएका छौं । शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नका लागी विभिन्न विज्ञयहरुबाट तालिम पनि दिँदै आएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । सरकारी विद्यालयमा गुणस्तर शिक्षा नभएको भन्दै बसाइसराई गरेर पनि धेरै मानिसहरू गएका छन् । निजी विद्यालयमा विद्यार्थीको चाप बढि हुने र सामुदायिक विद्यालयमा भने पढाई हुने ठाउँ होइन घुम्न जाने ठाउँ हो भन्ने जुन खालको सोचाइ त्यो सोचाइलाई अन्त्य गरेर सामुदायिक विद्यालयलाई पनि विद्यार्थिको रोजाइको केन्द्र बनाउनको लागी परेका छौं ।

नेपाल सरकारको तलब खाने जनप्रतिनिधि तथा कर्मचारीहरु वा कसैले पनि सरकारको सेवा सुविधा लिन्छ भने उनिहरुको पनि बालबच्चा सामुदायिक विद्यालय भन्दा बाहिर पढ्न नपाउने पहिले गाउँभाबाट नै यो निर्णय गरेका छौं । शिक्षा विकासका लागि गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती प्रदान गर्ने गरेका छौं । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । शिक्षा विकासका लागि भनेर हामीले शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधि तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड दिएका छौं । पालिकाको शैक्षिक क्षेत्रमा सुधार आएपनि पछिल्लो निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ४ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ?

हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेका कुराहरु करिब करिब पुरा गर्न सफल भएका छौं । हामीले गरेको कामको परिणाम धेरै समय पछि देखिन सकिन्छ । त्यस कारणले गर्दा हामीले काम नै गर्न नसक्ने कुराहरू घोषणापत्रमा लेखेको थिएनौं । काम गर्न सक्ने कुराहरूमा मात्र हामीले प्रतिबद्धता गरेका थियौं । हामीसँग आएको बजेट बढि भन्दा बढि जनताको पक्षमा लगेर नै विकास निर्माणको कामहरू अगाडि बढाएका छौं । कोभिडको कारणले पूर्वाधारको काम पनि रोकिएको अवस्था छ । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । केही कामहरू त बाँकी पनि रहेको छ तर हाम्रो कार्यअवधी सकिदा बाँकी कामहरू पनि सक्छौं भन्ने आशा रहेको छ । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुरा बाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपुर्ण हुन सक्छन् भन्ने ठानेर समग्र पालिकाको विकास निर्माणमा जुटेका छौं । स्वास्थ्य सेवाको पहुँच सबै नागरिकलाई पुगेस् भनेर हामी काम गरिरहेका छौं । स्वास्थ्य क्षेत्र प्राथमिकता राखेर सामुदाईक स्वास्थ्य इकाईहरूको निर्माण पनि गरेका छौं । स्वास्थ्य इकाईहरू टोल टोलमा पुर्याएका छौं । पालिकामा ४ ओटा स्वास्थ्य इकाई र १ ओटा अस्पताल रहेको छ ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?

पालिकाको मुख्य बजार भनेको बुटवल हो । बुटवल देखि पालिकाको केन्द्रसम्म बाह्रै महिना यातायात सञ्चालन हुने अवस्था छ । सडक सञ्जाल पालिकाको धेरै ठाउँमा पुगेको छ । पालिकाको केन्द्र देखि आर्के स्थानीय तहसम्म जोडने १ किलोमिटर सडकको कालोपत्रे गरेका छौं । गाउँपालिकाको तर्फबाट पनि धेरै सडकहरू निर्माण भएका छन् । पालिकाका धेरै सडकहरू पिच हुने क्रममा छन् भने केही सडकहरू ग्राबेल पनि भएका छन् । हामीले सडकको स्तरोन्नती पनि गरेका छौं । पालिकाको धेरै सडकहरू कच्ची छन् भने सडक सञ्जाल सबै वडामा पुर्याएका छौं । एउटा वडाबाट पसेपछि पालिकाको ७ ओटै वडामा पुग्न सकिने गरी सडक निर्माण भएका छौं ।

गाउँपालिकाले कृषि क्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ?

यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषि क्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । पालिकाको ५ नं. वडामा राम्रो आलु उत्पादन हुने गरेको छ । पालिकामा बाजारको अभाव छ । कृषि शाखा मार्फत कृषकहरूलाई अनुदान स्वरूप विभिन्न बिउ बिजनहरू पनि वितरण गर्दै आएका छौं । तर ठूलो परिमार्जनमा हामीले कृषकहरूलाई तरकारीको बिउ दिन सकेका छनौं । पहाडी भूभाग भएको हाम्रो पालिकामा मध्यम प्रकृतिको तरकारी उत्पादन हुने गरेको छ । कृषि विकाससँगसँगै पशु क्षेत्रका कार्यक्रमहरू पनि अगाडि सारेका छौं । कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आइरहेका छन् भने कृषिलाई आधुनिकिकरण गर्नमा हामीले विशेष जोड दिइरहेका छौं । केही युवाहरुले व्यवसायिक रूपमा कृषि खेती पनि गर्न थालेका छन् । कृषि क्षेत्रमा केही समस्याहरू पनि रहेका छन् । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउनु पर्छ भनेर किसानहरूलाई प्रोत्साहन पनि गर्दै आएका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । पालिकाको मुख्य पेशा खेती किसानी भएको कारण यहाँ प्रायः सबै नागरिकले कृषि पेशा नै अँगालेका छन् । करिब ८५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । उद्योग कलकारखाना नभएको ठाउँमा स्वभाविक रूपले आम्दानीको स्रोत नै कृषि हो । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप सहयोग गर्ने गरेका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई छनोट गरी हामीले पुरस्कार दिने व्यवस्था पनि मिलाएका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई नगद ४० हजार रुपैयाँसम्म दिँदै आएका छौं । व्यवसायी खेती गर्ने कृषकलाई र राम्रो नमुना खेती गर्ने कृषकलाई मात्र पुरस्कार दिन्छौं । आधुनिक उत्पादन पद्धतिमा लागेका कृषकहरूलाई अगुवा कृषक भनेर हामीले पालिका छुट्याएका छौं ।

स्थानीय स्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ?

युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । पालिकामा युवाहरूले व्यवसायिक खेती गरी रोजगारी मूलक पनि बनिरहेका छन् । धेरै रोजगारी सिर्जना गर्नको लागी पालिकामा ठुलो उद्योग त छैन । विभिन्न युवा स्वरोजगारका तालिमहरू पनि दिँदै आएका छौं । आर्थिक विकाससँग अन्तरसम्बन्धी पालिकाले प्रयोग गरेको योजनालाई रोजगार सिर्जना हुने गरी कृषिमा युवाहरूलाई जोडिनको लागि आग्रह गरेका छौं । यस संधर्वमा बाँझो जमिन नराख्नको निम्ति र जग्गा नभएका युवाहरूलाई जग्गा उपलब्ध गराउँदै आएका छौं ।

‘एक घर एक रोजगार’ भन्ने कार्यक्रम सञ्चालन गरी युवाहरूलाई रोजगार बनाई रहेका छौं । यो रोजगार कार्यक्रम अन्तर्गत युवाहरुले कुनै वित्तीय संस्थासँग कर्जा लिन सक्छन् भने पालिकाले ब्याजमा सहज गराइदिन्छ । युवाहरू प्रति लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि लागु भएको छ । यो रोजगार कार्यक्रम अन्तर्गत ५ सय जनाले रोजगार पनि पाएका छन् । युवाको सिप विकास गर्नको लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौं । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

स्थानीय सरकारको व्यवस्थापनको सन्दर्भमा २ ओटा पक्ष जस्तो कर्मचारी र जनप्रतिनिधि पक्ष्य हुन्छ । जनप्रतिनिधिको काम भनेको नीति बनाउने र निर्णय गर्ने हो । कार्यान्वयन गर्ने भनेको कर्मचारीले हो । सही तरीकाले काम गर्ने र सञ्चालन गर्न सक्ने कर्मचारी भइदियो भने मात्र सोचेको जस्तो काम गर्न सकिन्छ । कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर रहेको छ । जनप्रतिनिधि र कर्मचारीको सामूहिक भावनाले मात्रै पालिकाको विकास निर्माणको काम देखि लिएर अन्य काम गर्ने सकिन्छ । हालसम्म कर्मचारी र जनप्रतिनिधिको मनमुटाब भएको छैन । नागरिकको आवश्यकता पुरा गर्नमा जनप्रतिनिधि र कर्मचारी खटी रहेका छौं । जनताको सेवाको लागी तत्पर रहन सबै कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडि बढाउने हो । अहिलेसम्म सम्बन्ध राम्रो नै रहेको छ ।

तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ?

हामीले गर्नुपर्ने केही कामहरू अझै बाँकी छन् । सडक सञ्जाल सबै वडामा पुर्याउन सफल भएका छौं । शिक्षा क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ । पालिकामा बाल कक्षको पनि सञ्चालन गरेका छौं । भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रतर्फ केही उपलब्धिहरू भएको छ । एक मात्र क्षेत्रमा नभएर विभिन्न क्षेत्रहरूमा सुधार र परिवर्तन ल्याउनु नै मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि हो ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

करिब करिब हाम्रो कार्यकाल १ वर्ष मात्र बाँकी रहेको छ । १ वर्षको अवधिमा पनि धेरै काम त गर्न सक्छौं । पालिकास्तरको रिङ रोडको परिकल्पना छ हाम्रो । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । जनताको आर्थिक स्थिति सुधार गर्नको लागि कृषि र पशुको क्षेत्रलाई विकास गर्ने प्रयासमा छौं । नागरिकको जीवनस्तरलाई उकास्ने र पछाडि परेका टोलक्षेत्रलाई विकास गर्ने सोचमा पनि छु । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ ।

अन्त्यमा, आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ?

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । मानिसहरुले सोचे भन्दा बढि पालिकामा कोभिड फैलिरहेको छ । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु । पालिकाका बासिन्दालाई सचेत र सुरक्षित रहन पनि आग्रह गर्छु ।

Share News