काठमाडौं । काठमाडौं महानगरका खोप केन्द्रबाट ४३ हजार बढीले कोभिडविरुद्ध खोपको दोस्रो डोज (भेरोसेल) लगाएका छन् ।
गत जेठ २ गतेदेखि ५ गतेसम्ममा महानगरका खोप केन्द्रबाट ४३ हजार १८ जनाले भेरोसेल खोप लिएका हुन् । महानगरको ३२ वडाका खोप केन्द्र र शि. वि. शिक्षण अस्पतालमा गरी ३३ वटा खोप केन्द्रबाट २३ हजार ४८५ जना पुरुष र १९ हजार ५३३ जना महिलाले खोप लगाएका हुन् ।
जेठ ५ गते मात्र ५ हजार ८४७ पुरुष र ५ हजार ८९४ जना महिला गरी ११ हजार ७४१ जनाले खोप लिएका थिए । जसमा सबैभन्दा धेरै वडा २६ को खोप केन्द्र वडा लैनचौर २ हजार ४९२ जनाले खोप लिएका थिए भने त्यसपछि वडा १६ को १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट २ हजार ४२७ जनाले खोप लिए । तेस्रोमा वडा ३२ बाट २ हजार ३८५ जनाले खोप लिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको थियो । यसमा ०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा खोप लिएकाहरुलाई जेठ २ गते दोस्रो डोज लगाइएको थियो ।
जेठ ११ गतेसम्म चल्ने खोपमा (०७७) चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइँदैछ । यसका लागि तोकिएका दिनमा तोकिएका आफूलाई नजिक पर्ने खोप केन्द्रमा गएर खोप लगाउने व्यवस्था मिलाइएको छ । यस अवधिमा हरेक दिन विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर खोप केन्द्रमा गएपछि खोप लिन पाइन्छ ।
दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको हो ।
जसअनुसार २०७७ चैत २९ र ३० गते पहिलो खोप लिएका व्यक्तिहरुले जेठ ३ गते, ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकाले जेठ ४ गते र बैशाख ३ र ४ गते पहिलो खोप लगाएकाले बैशाख ५ गते दोस्रो मात्राको खोप लगाएका छन् ।
आज बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई दोस्रो खोप दिइँदैछ । भोलि (जेठ ७ गते) बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई र पर्सि (जेठ ८ गते) बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई दोस्रो मात्रा खोप दिइनेछ । बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।