काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले बुधबार सो अध्ययन प्रतिवदेन सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले २०७८ बैशाख महिनाको ५ गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तरर्वार्ता मार्फत सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा ०७७ असारमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ८४ प्रतिशत अर्थात ५६२ जना उद्योगी तथा व्यवसायीहरुले सहभागिता जनाएका छन् ।
प्रतिवेदनका अनुसार हालसम्म देशको उद्योग व्यवसाय गत वर्षको तुलनामा सुधार भएपनि यही अवस्था लम्बिए थप समस्या पर्ने देखिन्छ ।
कोभिड महामारीपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत मात्र उद्योग व्यवसायहरु पूर्णरुपमा सञ्चालनमा रहेकोमा २०७८ बैशाखमा बढेर ८१.२ प्रतिशत पुगेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
सर्वेक्षणमा सहभागी विद्युत् ग्याँस तथा पानी र सञ्चार क्षेत्रका शत प्रतिशत उद्योग तथजा व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ भने हालसम्म पनि ४.२ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आउन नसकेको प्रतिवेदनले देखाएको छ ।
गत वर्षको तुलनामा सुधार
सर्वेक्षण नतिजा अनुसार २०७७ असारको तुलनामा २०७८ बैशाखमा उद्योग/व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको छ । गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको हो ।
कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग÷व्यवसायहरुले २०७८ बैशाखमा ९३.८ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । मझौला तथा ठूला उद्योग/व्यवसायहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । पूर्ण रुपमा सञ्चालनमा रहेपनि मझौला तथा ठूला उद्योग/व्यवसायहरु आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेको कारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको अनुमान छ ।
तलब–ज्याला खर्च बढ्यो
२०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको औसत तलब—ज्याला खर्च वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ बैशाखमा आइपुग्दा ८८.५ प्रतिशत पुगेको देखिएको छ । २०७७ असारको तुलनामा खानी तथा उत्खनन क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब—ज्याला खर्च बढेको पाइएको छ भने विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका उद्योग÷व्यवसायहरुको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ ।
बैंकहरुले उद्योगीलाई सहयोग गरेनन्
बैंकले गरेको सर्वेक्षणका अनुसार उद्योगीहरुले आफुहरुलाई सहयोग नगरेको गुनासो गरेका छन् । निषेधाज्ञामा उद्योगीहरुले मुख्य पाँच वटा समस्याहरु देखाएका छन् । बजार माग घटेर कारोबारमा ह्रास आएको, पुनरकर्जा तथा सहुलियत कर्जा प्राप्त गर्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको, बैंकको किस्ता तिर्न कठिनाइ भएको र बैंकको सहयोग प्राप्त नभएको लगायतका समस्याहरु उद्योगीहरुले राखेका हुन् ।
पुनः व्यवसाय सञ्चालन गर्न कठीन
गत वर्षको लकडाउनपछि सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले कोभिड–१९ का कारण बजार माग घटेर चालु खर्च धान्न समस्या रहेको कारण उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले व्यक्तिगत कारणले गर्दा अब उद्योग/व्यवसाय पुनः शुरु गर्न नचाहेको बताएका छन् भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने बताएका छन् ।
सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले बन्द उद्योग/व्यवसायहरु पुनः सञ्चालनमा ल्याउन समस्यामा रहेका उद्यमीहरुलाई लक्षित पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
कारोबारमा पनि सुधार
गत २०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा पनि सुधार आएको देखिएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन/कारोबार रहेकोमा २०७८ बैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१.४ प्रतिशत पुगेको अध्ययनले देखाएको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोवारको स्थिति ४०.८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरु भन्दा सबैभन्दा कम हो ।
अर्थतन्त्र थप प्रभावित हुने निश्कर्ष
नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्र यही अवस्थामा अगाडि बढे थप प्रभावित हुने उल्लेख गरेको छ । यद्यपि अझै पनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा भने उद्योग/व्यवसायहरु पुग्न नसकेको राष्ट्र बैंकको भनाई छ । हाल कोभिड–१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने देखिएको छ ।
कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाइरहनु पर्ने खाँचो रहेको बैंकले उल्लेख गरेको छ । यो दोस्रो पुनरावृति सर्वेक्षण गरिसक्दा कोभिड—१९ को दोस्रो लहरले गर्दा अधिकांश जिल्लाहरुमा पुनः निषेधाज्ञा जारी भएको छ । यसले गर्दा अर्थतन्त्र पुनः प्रभावित हुन पुग्ने देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
सर्वेक्षण प्रतिवेदनकाे पूर्णपाठ
[pdf id=274972]