काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) ले चालु आवको ९ महिनामा ५ अर्ब ८९ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा २२ प्रतिशतले घटी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तमा ७ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ५२.३६ रुपैयाँमा सीमित भएको छ । गत वर्षको चैत मसान्तसम्मा कम्पनीको प्रतिसेयर आम्दानी ६७.२७ रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ६५३.१२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५ गुणा रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको लगानी भने बढेको छ । गत वर्षको तुलनामा कम्पनीको लगानी १० प्रतिशतले बढेर ६१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ८२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।
यसकारण घट्यो कम्पनीको नाफा तथा व्यवसाय
काभिड १९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको । बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आर्थिक वर्षमा घट्न गएको हुँदा व्याज आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ ।
कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकको सुविधाका लागि निकै कम मूल्यमा डेटा प्याकेज उपलव्ध गरिएको हुँदा अघिल्लो वर्षको तुलनामा डेटाको कन्जुम्सन बढे तापनि राजश्व आशातित रुपमा वृद्धि हुने अवस्था नरहेको कम्पनीको भनाई रहेको छ ।
यो महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको छ ।
समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा फोरजी तथा फिट्थ जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई कम्पनीको नाफामा असर परेको छ ।