
कोरोनाको कहरमा सबैतिर निषेधाज्ञा छ । यो बेला भौतिक रुपमा आफन्तजन तथा साथीभाइसँग भेट्नु भनेको निशेघाज्ञा उल्लंघन गर्नु हो । र, जानीजानी अर्कालाई कोरोना सार्न खोज्नु पनि हो ।
कोरोनाले मान्छेलाई सताउन थालेदेखि देश विस्तारै भर्चुअल बन्दैछ । मान्छेको दिनचर्या टेलिफोन, मोवाइल र इन्टरनेटबिना असम्भव झैं लाग्न थालेको छ । वास्तवमै भौतिक दुरी घट्दै गएको नै छ ।
आज बिहान एकजना बैंकर साथीसँग फोनबाटै कुरा गरेको थिएँ । शायद मैले चिनेजानेकामध्ये ऊ पहिलो मान्छे हो, जसले यत्रो कोरोना महामारीले सबैलाई इन्तु न चिन्तु बनाएको अवस्थामा पनि खुसी हुँदै आफ्नो हालखबर सुनाउँदै थियो ।
‘म त वर्क फ्रम होम गर्दैछु है, मज्जाले परिवारसँग रमाइरा’ख्या छु । मिठोमिठो खायो, टिभी हेर्यो, एकछिन अल्छि लाग्या वेला तास पनि खेल्यो… क्या मज्जा । बुझेऊँ– यो कोरोना त नहटे पनि हुने नि ! अफिस जानै पर्दैनथ्यो ।’
ऊ आफ्ना कुरा रमाई रमाई सुनाइरहेको थियो । म भने उसको कुरा सुनेर त्यसै ट्वाँ परेँ ।
बैंकर साथीमा वर्क फ्रम होमका कारण छाएको खुसी देखेर मलाई झट्ट एकजना स्वास्थ्यकर्मी साथीको अवस्था चैं के होला भन्ने लाग्यो । अनि त्यो साथीलाई फोन लगाएँ ।
‘के गर्नु, कोरोनाले सखाप बनायो, रातदिन नभनी चौबिसै घण्टा सेवा दिइरहेका छौं । जति गरेपनि मानिस मर्न छाडेका छैनन् । असाध्यै दिक्क लाग्दो अवस्था छ यार ।’
मैले हालखबर सोध्न नपाउँदै उसले न्याउरो बोलीमा सुनायो ।
सोेधें– तिमीलाई डर लाग्दैन ?
‘अति आवश्यकीय क्षेत्रको काम र जिम्मेवारी रोजेपछि आफ्नोभन्दा बढि समाजको बारेमा सोच्नुपर्ने रहेछ । डरभन्दा जिम्मेवारी ठूलो हुँदोरहेछ । यस्तो बेला हामीले डराएर मैदान छोड्यौं भने जनताको के हुन्छ नि ? जसरी देशका लागि विदेशी सत्रुसँग लडेका बेला सेनाले आफ्नो वारेमा सोचेर बस्दैन, ठिक त्यसैगरी हामीले पनि यो महामारीमा आफ्नो बारेमा पटक्कै सोच्नु हुँदैन ।’
ऊ यस्तै यस्तै सुनाउन लाग्यो । उसको कुरा सुनेर खुसी भएँ । अझ भनौं, गर्व महसुस भयो । उसको कुरा सुन्दै थिएँ, अलि पछि थाहा भयो, मेरो आँखा रसाउन थालिसकेका रहेछन् । त्यो साथीसँग धेरै कुरा हुन पाएन । सायद ऊ व्यस्त थियो । म पनि ऊसँग थप कुरा गर्ने हालतमा रहिनँ ।
फोन राखेँ । दिमाग रन्थन्निरहेको थियो । मथिंगलमा यी दुबै पात्र घुमिरहेका थिए । एउटा साथी जो आफ्नो खुसी सर्वस्व ठान्छ । र, अर्काे साथी आफू र आफ्नो परिवारभन्दा पनि समाज र देशको बारेमा संवेदनशील भएर दिनरात खटिरहेको छ । वा भनौं, मान्छेका लागि ऊ जीवन अर्पण गर्न तयार देखिन्छ ।
दिमागको पाटनमा पहिलो साथी डुलिरह्यो । बैंकिङ क्षेत्रलाई राज्यले त्यसै अत्यावश्यक सेवा अन्तरगत राखेको होइन । बैंक भनेको जनताको अर्बौंको सम्पत्ती सुरक्षा गर्ने स्थान हो, जहाँबाट जनताले आफूलाई चाहिएका वेला त्यो सम्पत्ति निकालेर लैजान पाउँछन् । आफूले कमाएको सम्पत्ती खर्च गर्ने भनेको आपत विपत र चाहिएको बेलामा न हो । नचाहिएको बेलामा त कसले पो पैसा झिक्छ र ! पैसा जोगाउने मन सबैलाई हुन्छ नि ।
कुरा खेलिरहे मनमा– यो महामारीको बेलामा को कतिबेला विरामी पर्छ भन्ने ठेगान हुन्न । जतिबेला पनि पैसा चाहिन सक्छ । आफूले दुःख गरेर कमाएको पैसा राखेको हुन्छ बैंकमा । त्यही आफ्नो कमाई पनि दुःखको बेला या भनौं आफू वा आफन्त बचाउने काममा चलाउन पाइएन भने त्यो पैसाको के काम ? यो बेला बैंक बन्द गर्ने नै होइन । बरु चौबिसै घण्टा खुल्ला राख्नुपर्छ ।
बैंकर साथी भर्चुअल बैंकिङको पाठ सुनाउँदै थियो । डिजिटल बैंकिङ, क्यासलेस बैंकिङ अनि इन्टरनेट बैंकिङदेखि क्युआर पेमेन्ट जस्ता अत्याधुनिक बैंकिङ सेवाबारे मलाई बताइरहेको थियो ।
हुन त त्यो साथीले भनेका कुरा पनि सही हुन् । तर, आफूले जम्मा गरेको रकम नगदै झिक्छु भनेर कुनै बचतकर्ताले खोज्यो भने त्यो त उसको अधिकार नै हो । फेरिसबैले मोवाइल वैंकिङ चलाउँछन् नै भन्ने पनि छैन । हाम्रो देशमा इन्टरनेट बैंकिङ र एटिम चलाउन नजान्नेको संख्या ठूलो छ । क्युआर पेमेन्टको पूर्वाधार, प्रविधि र बानी सबै नेपाली समक्ष पुगिसकेको पनि छैन ।
त्यतिमात्र कहाँ हो र ! अबको २ महिनामा आर्थिक वर्ष पनि समाप्त हुँदैछ । यो वर्ष गाउँघरमा बाटोघाटो, पुलपुलेसा बनाउनेदेखि शहरमा चिल्ला र फराकिला सडक बनाउने भनेर छुट्टयाइएको विकास बजेट अहिलेसम्म आधा पनि खर्च भएको छैन । अस्पताल, विद्यालय बनाउने भनिएको पनि त्यही विकास बजेट नै त हो । त्यो पैसा सबै खर्च गरेपछि न हामीले राम्रो सडकमा हिड्न पाउने हो । तुन्द्रुंग झुण्डिदै तुइन तर्नुपर्ने वा हल्र्याङ–हल्र्याङ हल्लिने झोलुंगे पुल विस्थापित गरी पक्की पुल बनाउने भनेर सरकारले राखेको विकास बजेट खर्च हुने अबको यही २ महिनामा हो । यस्तो अवस्थामा बैंक वन्द हुँदा र निश्चित समयमा मात्र सेवा दिँदा विकासका कामहरु ठप्प नै हुँदैनन् र ? के यसले देश विकासमा दुरगामी असर पर्दैन र ? अनि त्यसैगरी अर्थतन्त्रमा चैं धक्का लाग्दैन र ?
मनमा कुरा खेल्न रोकिएन । यस्तै झट्ट बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको याद आयो ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि यस्तो विपतको घडिमा चौविसै घण्टा वैंकिङ सेवा दिने वारेमा सोच्न जरुरी छ । सर्वसाधारणलाई बैंकसम्म आउन नलगाई बरु टोलटोलमै पुगेर कसरी सेवा दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन ढिला भइसकेको छ । त्यति मात्र होइन, घुम्ति सेवाको अवधारणालाई कसरी विकास गर्ने, घुम्ति काउन्टर र घुम्ति एटिम सेवा कसरी प्रवाह गर्ने भन्ने वारेमा पनि सोच्नुपर्ने भइसकेको छ । यो आलोपालो बैंक खोल्ने वा एक तिहाई कर्मचारीबाट मात्र वैंक चलाउने भन्ने कुरा आफैंमा हास्यास्पद कुरा हो जस्तो लाग्छ । नत्र त यस्तो प्रथाको विकास गरी राष्ट्र बैंकले आफ्नो जिम्मेवारीबाट पन्छिन चाहिँ मिल्दै मिल्दैन ।
मनले फेरि अर्काे कोणबाट सोच्यो । बैंकर भएपनि ऊ त मेरो साथी हो नि ! उसको र परिवारको सुरक्षाबारे म कति निष्ठुर भएछु । म कति प्राविधिक जस्तो बनेछु । त्यो साथीप्रति फेरि भाबुक बनेँ ।
अर्काे मनले भन्यो– कुरो त्यस्तो होइन । ऊ बैंकमा काम गर्ने कर्मचारी हो । स्वास्थ्यकर्मी पनि त साथी नै हो । ऊ एक दिन अस्पताल गएन भने के हुन्छ ? उसले विरामीलाई हेरचाह गरेन भने के हुन्छ ? आङ सिरिङ्ग भयो । रौं ठाडा भए । अहँ, हुँदैन । आफ्नो जिम्मेवारी र कामको प्रकृति अनुसार सबैले जिम्मेवारी निभाउनु पर्छ ।
अलि आवेशमा आएछु क्यारे । फेरि फोन गरेर सोध्न मन लाग्यो– संसार बेचैनीमा रहेको बेला वर्क फ्रम होम भनेर कसरी चैनमा बस्न सक्यौ बैंकर मित्र ? हुँदैन, त्यस्तो नगरौं भन्ने लाग्यो फेरि ।
अब आयो बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरुको कुरा । अत्यावश्यक सेवा भनेको के हो र म कस्तो सेवामा काम गर्छु भन्ने वारेमा कर्मचारीहरुले पनि राम्रोसँग बुझ्न जरुरी छ । अत्यावश्यक क्षेत्रमा नोकरी गर्नका लागि मरिहत्ते गर्ने, अनि जिम्मेवारी वहन गर्ने बेलामा आफ्नो खुसीलाई प्राथमिकतामा राख्न खोज्ने कार्य कति न्यायोचित हो ? राज्यका अरु अत्यावश्यक क्षेत्रहरु स्वास्थ्य, प्रहरी, सेना लगायतबाट आवश्यक परेको बेला कसरी भूमिका निभाउन अग्रसर हुनुपर्छ भनेर सिक्न जरुरी छ ।
बैंक र बैंक व्यवस्थापकहरुले पनि अब आफ्ना सम्पूर्ण कर्मचारीलाई चाँडोभन्दा चाँडो कार्यालयमा उपस्थित गराई नागरिकप्रतिको जिम्मेवारी कसरी बहन गर्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ । यस्तो विपत्तीको घडिमा चौबिसै घण्टा सेवा प्रवाह गर्ने, नसके कार्यालयलाई दुई सिफ्ट सञ्चालन गरी ८ घण्टाबाट बढाएर सोह्र घण्टासम्म सेवा दिन जरुरी छ ।