काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि धेरै शुल्क लिएको भन्दै विवादमा तानिएको हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल) ले स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम शुल्क लिएको जनाएको छ ।
कोरोना संक्रमति विरामीबाट धेरै शुल्क लिएको भन्दै विवादमा तानिएपछि अस्पतालले एक विज्ञप्ती जारी गर्दै एक वर्षदेखि सरकारले तोके बजोजिम जनरल बेडको प्रतिदिन न्यूनतम ७ हजार रुपैयाँ शुल्क लिने गरेको जनााएको हो ।
‘विगत १ बर्ष देखि उक्त शुल्कमा सेवा प्रदान गरिआएको छौ । जनरल बेडको हकमा सरकारले तोके बमोजिम नै सात हजार रुपैयाँ प्रति दिनमा विरामीलाई सेवा प्रदान गरिरहेको जानकारी गराउन चाहान्छौं’, अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हाल भर्ना भएका सवै विरामी आइसोलेसनका लागि नभएर अक्सिजन सहितको उपचारको लागि भर्ना भएकाले नेपाल सरकारले तोके बमोजिम नै शुल्क लिईएको हो ।’
यसैगरी, अस्पतालले क्याविनको हकमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम थप रकम लिन पाउने व्यवस्था अनुरुप बैज्ञानिक हिसावले दर तोकेका जनाएको छ ।
जनरल बेड होस वा क्याबिन जुनसुकै बेडमा बसेर उपचार गरे पनि हामीले बिरामीलाई दिने सेवा एउटै हो । आर्थिक हैसियतको हिसावले विरामीको उपचार फरक ढंगले गर्दैनौं । विरामीले अतिरिक्त सुविधाका लागि क्याबिनमा बस्दा केहि अतिरिक्त शुल्क तिर्ने मात्र भएको अस्पतालले जनााएको छ ।
देशकै उच्च प्रविधि तथा दक्ष जनशक्तिले सु(सज्जित यस अस्पताल नेपालमा प्राईभेट स्तरबाट कोभिड-१९ का विरामीको उपचार सेवा शुरु गर्ने पहिलो अस्पताल रहेको कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार ह्याम्स अस्पतालले मात्र ५ प्रतिशत मृत्युदरमा १६०० भन्दा बढी कोभिड-१९ का विरामीको सफल उपचार गरिसकेको छ ।
अस्पतालले सरकारले तोकेभन्दा धेरै ८० प्रतिशतसम्म बेड कोभिड विरामीका लागि छुट्टाईएको समेत जनाएको छ ।
‘गुणस्तरीय तथा इन्फेक्सन रहीत सेवा प्रदान गर्नु परेको छ भने अर्को तर्फ खर्चमा उल्लेख्य बृद्धि भएको छ । अस्पतालले कोभिड-१९ का क्याविनमा बसेर उपचार गराउने विरामीबाट शुल्क थोरै बृद्धि गरेर लिनु बाध्यता हो’, कार्यकारी निर्देशक डा शर्माले भने ।