
फाइल फोटो
काठमाडौं । ग्रील तथा स्टील उद्योगीले उद्योगमा भएका अक्सिजन ग्यास सिलिण्डर अस्पताललाई दिने भएका छन् । अस्पतालमा अक्सिजन सिलिण्डर अभावहुँदा धेरै विरामीले ज्यान गुमाउने क्रम बढ्दै गएको भन्दै व्यवसायीले ग्यास सिलिण्डर अस्पताललाई दिने निर्णय गरेका हुन् ।
बुधबार ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालको अध्यक्षतामा बसेको भर्चुअल माध्यमको बैठकबाट सबै उद्योगले ग्यास खपतलाई कटौली गर्दै अस्पताललाई सहयोग गर्ने निर्णय गरेको जनाईएको छ ।
उद्योगमा प्रयोग भइरहेको अक्सिजनको खपतलाई केही समयको लागि रोकेर अक्सिजन आपूर्र्ति कर्ता संस्थान मार्फत अस्पताललाई ग्यास सिलिण्डर दिने निर्णय भएको अध्यक्ष कटुवालले जानकारी दिए । उनका अनुसार बुधबारको निर्णय अनुसार बिहीबारदेखि नै ग्यास सिलिण्डर संकलनको काम सुरु भएको छ ।
ग्रील तथा स्टील उद्योगले कोरोना संक्रमणबाट बच्न प्रयोग गरिने सुरक्षाको विधिहरुमध्ये हातमा सेनिटाइजनर गर्ने हेन्ड फ्री सेनिटाइजर स्टाण्ड, साबुन पानीले हात धुन हेन्ड फ्री पेडल हेन्ड्वास स्टेशन समेत निर्माण गरेका छन् ।
कोरोना संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले विभिन्न जिल्लामा लागु गरेको निषेधाज्ञा लम्बिदै जादा उद्योगी व्यवसायीलाई समस्या हुनेभन्दै राहतका कार्यक्रमहरु घोषणा गर्न समेत उद्योगीले सरकारलाई आग्रह गरेका छन् ।
हाल देशभर ११ हजार भन्दा बढी ग्रील तथा स्टील उध्योगमा १ लाख ६० हजार श्रमिक कार्यरत रहेका छन् भने १५ लाख भन्दाबढी मानिस आश्रीत रहेको महासंघले जनाएको छ ।