कोभिड विरुद्धको खोपमा ‘प्याटेन्ट राइट’ नराख्न अमेरिका सहमत, उत्पादन बढ्ने र मूल्य घट्ने विश्वास

<p>काठमाडौं । महाशक्ति राष्ट्र अमेरिका कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको ‘प्याटेन्ट राइट’ (सर्वाधिकार) र बौधिक सम्पत्ति अधिकार अन्तरगत नराख्न सहमत भएको छ । विश्व व्यापार संगठन (डब्लुटिओ) ले अघि बढाएको यो अभियानमा अमेरिकाले समर्थन जनाएको हो । कोभिड विरुद्धको खोपमा प्याटेन्ट राइट र बौद्धिक सम्पत्ति अधिकारभित्र राख्न हुँदैन भन्ने अभियान भारत र दक्षिण अफ्रिकाले अघि [&hellip;]</p>

काठमाडौं । महाशक्ति राष्ट्र अमेरिका कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको ‘प्याटेन्ट राइट’ (सर्वाधिकार) र बौधिक सम्पत्ति अधिकार अन्तरगत नराख्न सहमत भएको छ ।

विश्व व्यापार संगठन (डब्लुटिओ) ले अघि बढाएको यो अभियानमा अमेरिकाले समर्थन जनाएको हो । कोभिड विरुद्धको खोपमा प्याटेन्ट राइट र बौद्धिक सम्पत्ति अधिकारभित्र राख्न हुँदैन भन्ने अभियान भारत र दक्षिण अफ्रिकाले अघि सारेका थिए । यी दुई देशले अघि सारेको अभियानलाई विश्व व्यापार संगठनले समर्थन गरेको थियो ।

संगठनका करिब ६० देशले खोपको प्याटेन्ट राइट र बौद्धिक सम्पत्ति अधिकार हटाउन छ महिना अघिदेखि अभियान संचालन गरेका थिए । अमेरिकाको यसअघिको ट्रम्प प्रशासन, बेलायत र युरोपेली युनियनले सो अभियानको कडा विरोध गरेपछि कार्यान्वयन हुन सकेको थिएन । तर, अमेरिकामा केही महिना अघि भएको निर्वाचनमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएर जो वाइडेन निर्वाचित भएपछि बाइडेनले डब्लुटिओको अभियानलाई समर्थन गरेका हुन् ।

बाइडेनले राष्ट्रपति निर्वाचनताका कोभिड विरुद्धको खोपमा प्याटेन्ट राइट र बौद्धिक सम्पत्ति अधिकार हटाउने प्रतिवद्धता जनाएका थिए । उनले हिजो (बुधबार) आफ्नो प्रतिवद्धता दोहोर्याएपछि कोभिड विरुद्धको खोपमा प्याटेन्ट राइट र बौद्धिक सम्पत्ति अधिकार हट्ने अनुमान गरिएको छ ।

अमेरिकाको यस्तो प्रतिवद्धतापछि विश्व व्यापार संगठनले अमेरिकाको यो प्रतिवद्धता महत्वपूर्ण हुने प्रतिक्रिया दिएको छ । खोपमा प्याटेन्ट राइट र बौद्धिक सम्पत्ति अधिकार नराख्दा उत्पादन बढ्ने र सुपथ मूल्यमा कम आय भएका देशमा पनि खोपको पहुँच पुर्याउन सकिने संगठनको भनाई छ ।

कोभिड विरुद्धको खोपमा सर्वाधिकार र बौद्धिक सम्पत्ति संरक्षण गर्नुपर्ने नियमका कारण महामारी नियन्त्रणका लागि चाहिने जति खोप उत्पादनमा समस्या उत्पन्न भएको विकासशील देशहरुले बताउने गरेका छन् ।

यसअघि औषधि कम्पनीहरूको बौद्धिक सम्पत्तिको प्रयोग गर्दै विकासशील देशहरूले खोप उत्पादन गर्न सक्ने भारत र दक्षिण अफ्रिकाको नेतृत्वमा ल्याइएको प्रस्तावलाई अमेरिकाले छलफल गर्न रोको थियो ।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईले अहिलेको अभूतपूर्व समयमा अभूतपूर्व कदम चालिनु पर्ने बताइन् । औषधी उत्पादक कम्पनीहरुले भने अहिले गरिएको प्रस्तावले सोचे अनुरुपको परिणाम दिन नसक्ने दाबी गरिरहेका छन् । तर, अब वार्ता प्रयास अघि बढाउने र त्यस्तो छुट दिलाउने प्रयास गरिने टाइले बताइन् ।

व्यापार प्रतिनिधि टाईले विश्व व्यापार संगठनका १६४ सदस्यहरूले यसबारेमा सहमतिमा निर्णय गर्न केही समय लाग्ने बताइन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड हानोम गेब्रियसोसले राष्ट्रपति बाइडेनको पछिल्लो कदम कोभिड–१९ विरुद्धको लडाइँमा महत्वपूर्ण क्षण भएको बताएका छन् । ओक्स्फामकी स्वास्थ्य नीति व्यवस्थापक एना मेरिओटले अहिले भएको निर्णय विश्वलाई आवश्यक भइरहेको निर्णय हो भन्दै स्वागत गरिन् । यो निर्णयपछि विश्वव्यापी रुपमा खोपको आपूर्ति बढ्ने उनको विश्वास छ ।

तर औषधि कम्पनीहरूले सो निर्णयको विरोध जनाउँदै सर्वाधिकार मुख्य अवरोध नरहेको उल्लेख गरेका छन् । उनीहरूले यस्तो कदमले नयाँ औषधि अन्वेषण र खोजमा अवरोध पुर्याउन सक्ने चेतावनी पनि दिएका छन् । औषधी उत्पादकहरुको संघ र स्वयम् औषधी उत्पादक कम्पनीहरुले बाइडेन प्रशासनको यो निर्णय निराशाजनक भएको प्रतिक्रिया दिएका छन् ।

विविसी डटकमको सहयोगमा

Share News