७ जना ओभरसियरमा कारोना देखिएपछि नागढुङ्गा सुरुङमार्गको काम प्रभावित, ५०० जना कामदार जाेखिममा

<p>काठमाडौं । बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा कार्यरत ७ जना ओभरसियरलाई कोरोना भाइरसको संक्रमण देखिएपछि सुरुङमार्गको काम प्रभावित बनेको छ । सरकारले तोकेको मापदण्ड अपनाएर हालसम्म काम भइरहेको भएपनि साइटमा खटिने ७ जना ओभरसियरमा कोरोना संक्रमण देखिएपछि काम प्रभावित भएको हो । हालसम्म निर्माणको गतिले तीव्रता लिँदै आएको यस सुरुङमार्गको काममा निषेधाज्ञा भएपछि भने केही असर परेको [&hellip;]</p>

काठमाडौं । बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा कार्यरत ७ जना ओभरसियरलाई कोरोना भाइरसको संक्रमण देखिएपछि सुरुङमार्गको काम प्रभावित बनेको छ । सरकारले तोकेको मापदण्ड अपनाएर हालसम्म काम भइरहेको भएपनि साइटमा खटिने ७ जना ओभरसियरमा कोरोना संक्रमण देखिएपछि काम प्रभावित भएको हो ।

हालसम्म निर्माणको गतिले तीव्रता लिँदै आएको यस सुरुङमार्गको काममा निषेधाज्ञा भएपछि भने केही असर परेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।

‘निषेधाज्ञा भएपनि हामीले सरकारले तोकेका स्वास्थ्य मापदण्डहरु पालना गरेर निरन्तर काम गरिरेहका छौं, तर आज मात्रै ७ जना ओभरसियरलाई कोरोना संक्रमण देखिएको छ, यसले कामलाई केही प्रभाव पार्ने अनुमान हामीले गरेका छौं,’ उनले भने ।

उनले निषेधाज्ञाको समय भएपनि निर्माण सामग्री र कामदारहरुको संख्या भएकोले ढुक्क भएर काम गरिरहेको भएपनि केहीमा कोरोना देखिएपछि भने फेरि निर्माणको काममा समस्या आउन सक्ने बताए ।

यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारी (सीडीओ) हरुको मंगलबारको बैठकले पुराना पासहरु खारेज गर्ने निर्णय गरेसँगै कामका लागि ओहोर दोहोर गर्न समस्या भइरहेको उनले बताए ।

नयाँ पास लिनको लागि आज छलफल भइरहेको छ, नयाँ पास मिल्यो भने काम नरोकिएर धमाधम हुन्छ, पास नमिल्यो भने फेरि समस्या आउँछ, केहीमा कोरोना देखिएसँगै साइटमा कामदारहरु पनि डराएका छन्, उनीहरुलाई हामीले सुरक्षित किसिमले काम गराइरहेका छौं,’ उनले भने ।

उनका अनुसार अहिले साइटमा ५ सय जना कामदार छन् । ओभरसियरहरुमा कोरोना देखिएसँगै साइटमा रहेका ५ सय जना कामदारहरु जोखिममा रहेका छन् । दैनिक १३ देखि १४ मिटर खन्ने लक्ष्य भए पनि हाल दैनिक आठ मिटर खन्ने काम भइरहेको उनले बताए ।

कोरोनाको महामारीमा पनि सडक, खोला डाईभर्सन, विस्फोट गर्नेलगायत विभिन्न तयारीको काम भइरहेको उनले बताए । अवको १४ महिना भित्र अरु काम बाँकी रहे पनि सुरुङ खन्ने काम सम्पन्न हुने उनको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्षको कात्तिक ४ गते उक्त सुरुङ मार्ग शिलान्यास गरेका थिए । काठमाडौँको थानकोट दहचोकदेखि–सिस्नेखोलासम्म सुरुङको लम्बाई २.५ किलोमिटर, चौडाई ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

Share News