अक्सिजन उत्पादक भन्छन्ः अक्सिजनको अभाव छैन, अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या भयो

<p>काठमाडौं । जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, काजोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन । विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरु साँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना गर्ने र मानिसले चाहिएभन्दा बढी भण्डारण गर्ने गर्दा समस्या निम्तिएका उदाहरण प्रशस्त छन् । नयाँ भेरियन्टसहित [&hellip;]</p>

काठमाडौं । जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, काजोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन ।

विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरु साँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना गर्ने र मानिसले चाहिएभन्दा बढी भण्डारण गर्ने गर्दा समस्या निम्तिएका उदाहरण प्रशस्त छन् ।

नयाँ भेरियन्टसहित दोस्रो लहर चलिरहेको कोरोनाकालको वर्तमान विषम परिस्थितिमा उक्त प्रवृत्ति दोहोरिने संकेत देखा परेको छ । त्यो संकट टार्नै विषयमा सरकारले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने देखिएको छ ।

नेपाल अक्सिजन उत्पादक संघका अनुसार अहिले नेपालमा अक्सिजन पर्याप्त मात्रामा छ । माग कम भएकैले उद्योग पूर्ण क्षमतामा चलेकै छैन तर पनि हल्लैहल्लाका कारण अक्सिजन अभाव हुने आशङ्कामा अहिले मानिसले चाहिएभन्दा बढी भण्डारण गर्न थालेकाले अलिकति समस्या हुने हो की भन्ने देखिएको सङ्का अध्यक्ष गौरव शारदा बताउँछन् ।

उनले सिलिण्डर (भाँडो) भने सीमित रहेको स्वीकार गरे । ‘पर्याप्त सिलिण्डर हुने हो भने कुनै समस्या आउने थिएन, नेपालमा सिलिण्डर नबन्ने, यसअघि चालु रहेका सिलिण्डर सीमित छ, त्यही सिलिण्डर मानिसले घरमा राख्यो भने समस्या हुने नै भयो, त्यसैले सिलिण्डर खरिदका लागि सरकारलाई सुझाव दिएका छौँ’, उनले भने ।

नेपालमा साविकभन्दा निक्कै बढी अक्सिजन उत्पादन भइरहेको छ । गत वर्षको यो समयमा २० प्रतिशत मात्रै अक्सिजन उत्पादन भएको थियो । तर यसपटक भारतमा देखिएको अभावले नेपालमा खपत ह्वात्तै बढेको छ । तर त्यो प्रयोग हुनुभन्दा पनि स्टकमा गएको अनुमान संघको छ ।

अभाव हुने हल्ला सुनेका मानिसले मात्रै होइन, अस्पतालले समेत अक्सिजन सिलिण्डर स्टक राख्न लागेका छन् ।

उनले भने, ‘नेपालमा क्षमतानुसारको अक्सिजन उद्योग चलेकै छैन, त्यो सबै चल्यो भने दैनिक आठ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिन्छ, त्यसले नेपालको पूरै माग धान्छ । भारतमा अभाव भएको कारणले नेपालमा पनि अभाव हुन्छ कि भनेर व्यक्तिले र केही अस्पतालले सिलिडर स्टक राख्न थाल्नु नै समस्या हो । अझ विभिन्न अस्पतालले चलाइरहेको प्लान्टको उत्पादन छुट्टै छ ।’

उनका अनुसार काठमाडौंमा अहिले दैनिक पाँचदेखि ६ हजार सिलिण्डर अक्सिजनको माग छ । माग पूरा गर्न अहिले कुनै समस्या छैन । ‘अलिकति नेपालगञ्ज क्षेत्र र तराईमा केही ठाउँमा माग बढेको छ, पूर्वी नेपालमा क्षमताको २० प्रतिशत पनि उत्पादन भएको छैन, त्यसैले ढुक्क हुनुस् अक्सिजनको अभाव हुँदैन’, अध्यक्ष शारदाले भने, ‘स्टक राख्ने विषयमा भने गम्भीर हुनै पर्छ, त्यसरी स्टक राख्न जरुरी नै छैन ।’

अक्सिजन उत्पादन गर्ने २४ उद्योग

हाल नेपालमा अक्सिजन उत्पादन गर्ने २४ वटा उद्योग छन् । त्यसमध्ये आठ उद्योग काठमाडौंमा छन भन एउटा उद्योग चलेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ । ती अस्पतालले दैनिक दुई हजार ५४९ सिलिण्डर अक्सिजन भर्नसक्ने क्षमता राख्छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी बताउँछन् । उनका अनुसार तीन अस्पतालमा करिब छ हजार सिलिण्डर भरिएका छन् ।

अक्सिजन विक्रेताबाट दैनिक आठ हजार सिलिण्डर भर्न सक्ने जानकारी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सीमित रहेकाले सिलिण्डर अभाव हुनसक्ने हुँदा सिलिण्डर ल्याउने विषयमा कूटनीतिक पहल जारी रहेको मन्त्रालयले जनाएको छ ।

अक्सिजन व्यवसायीले भने नेपालमा अक्सिजन अभाव नहुने तर सिलिण्डरको अभाव हुनसक्ने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष शारदाले सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँगको छलफलमा नयाँ सिलिण्डर आयात गर्नेतर्फ सरकारलाई सुझाव दिएको जनाए । ‘तल्कालै भारतबाट सिलिण्डर ल्याउन सम्भव देखिँदैन, चीनबाट जीटुजीमार्फत सिलिण्डर ल्याउनुपर्छ । तब मात्रै समस्या हटेर जान्छ’, उनले भने ।

Share News