राम्रो कृषि उत्पादन गर्ने कृषकहरुलाई पुरस्कार स्वरूप १ लाख रुपैयाँ दिँदै आएका छौं- गाउँपालिका अध्यक्ष राई

<p>नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलको भोजपुर जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो पौवादुङमा गाउँपालिका । बि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १५ हजार ३ सय ९४ जनाको बसोबास रहेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका कृषि [&hellip;]</p>

नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलको भोजपुर जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो पौवादुङमा गाउँपालिका । बि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १५ हजार ३ सय ९४ जनाको बसोबास रहेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ ।

गाउँपालिकाको पूर्वतर्फ अरुण नदि, पश्चिममा भोजपुर नगरपालिका, उत्तरमा अरुण गाउँपालिका र त्यसैगरी दक्षिणमा रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिका रहेका छन् । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष किरण राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

तपाईंहरुको गाउँपालिका कृषि उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्र हो, कृषि विकासका लागि के–कसरी काम गर्दै आउनु भएको छ ?

गाउँपालिकाले कृषि विकासकै लागि भनेर धेरै काम गर्दै आएको छ । सिँचाई सम्बन्धी काम भइरहेको छ । यसको व्यवस्थापन गर्नको लागि हामीले विशेष जोड दिएका छौं । सिँचाइको समस्या न्युनिकरण गर्नको लागि कृषकहरूलाई पालास्टिक पोखरीको निर्माण गर्नको लागि अनुदान दिने काम हामीले गरेका छौं । यसको व्यवस्थापन गर्नको लागि कृषकहरुलाई पाइपहरू उपलब्ध गराईदिँदै आएका छौं । थोपा सिँचाइको व्यवस्थापनमा पनि हामी लागि परिरहेका छौं । हामीले पालिकामा पकेट क्षेत्रहरु छुट्याएका छौं । पशुपालन तर्फ पनि हामीले जोड दिएका छौं । पशु सुधार कार्यक्रम पनि सञ्चालन गरेका छौं । हाम्रो गाउँपालिकालाई समृद्ध बनाउने मूल तत्वको रुपमा कृषि क्षेत्रलाई पनि लिन सकिन्छ । विशेषगरी यहाँ धान, गहुँ, मकै, कोदो, फापर अन्नबाली र अम्रिसो, अलैँची, अदुवा आदि उत्पादन हुने गरेको छ ।

भूगोल अनुसार किवी, लिचि, आँप, तरकारी आदि बिरुवाहरू वितरण गर्ने तथा कृषकहरूलाई प्रोत्साहन गर्ने काम पनि गरिरहेका छौं । कृषिका प्राविधिकहरु पनि गाउँपालिकामा रहेका छन् । कृषि प्राविधिहरूले कृषिमा आएका समस्यालाई समाधान गर्नमा पनि ठुलो भूमिका खेलेका छन् । कृषकहरूको २५ प्रतिशत लगानी र गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा धेरै कृषिका कार्यक्रमहरु अगाडि बढाएका छौं । कृषकहरूलाई तरकारीको विउ पनि अनुदानको रूपमा वितरण गर्दै आएका छौं । निर्वाह कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्छ भनेर जोड दिइरहेका छौं । हामीले गाउँपालिकामा पशु र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । हामीले कृषकहरूलाई उन्नत जातका बाख्रा, गाई पनि वितरण गर्दै आएका छौं । कुखुरापालन गर्ने कृषकहरूलाई चारोको पनि व्यवस्था गरिदिएका छौं । गाउँपालिकाको मुख्य पेशा नै कृषि हो ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । कतिपय युवाहरू भने वैदेशिक रोजगारीमा गएका छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । प्रतिशतमै भन्नुपर्दा करिब ९० प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । तर पनि आधुनिक खेति गर्ने कृषकहरू गाउँपालिकामा १५ प्रतिशत रहेका छन् । हामीले राम्रो कृषि उत्पादन गर्ने किसानलाई पुरस्कार दिने व्यवस्था मिलाएका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकहरुलाई पुरस्कार स्वरूप १ लाख रुपैयाँ दिँदै आएका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ?

हामी जनप्रतिनिधि, करिव पहिलाको स्थानीय तहहरु, जिल्ला विकासको निर्वाचन नभएको करिव २० वर्ष पछाडि हामी निर्वाचित भएर पालिकामा आयौं । हिजो जिल्ला विकास चलाए जस्तो तथा गाउँविकास चलाए जस्तो पक्कै छैन । १० वर्ष जन युद्ध र द्धन्दको कारणले गर्दा क्षतविक्षत भएका संरचना पुन निर्माण गर्ने र भूकम्पले क्षतिगरेका संरचना पुनः निर्माण गरेका छौं । विद्यार्थीहरूलाई विद्यालयमा निरन्तर आउने वातावरण मिलाउनको लागि बाल कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिगो खाजाको पनि व्यवस्था मिलाएका छौं । संघीय सरकारको बजेट भन्दा बाहेक बजेटको व्यवस्थापन गरी विद्यार्थीहरूलाई न्यानो कपडा पनि वितरण गरेका छौं । विद्यार्थीहरुलाई पाठ्य पुस्तकको व्यवस्था मिलाई पठ्यपुस्तक बक्ने झोलाको पनि व्यवस्था गरेका छौं । प्राविधिक शिक्षालाई पनि हामीले विशेषे जोड दिइरहेका छौं । विद्ययार्थीहरुलाई निरन्तर विद्यालयमा पठाउनका लागि अभिभावकहरूलाई जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि चलाइरहेका छौं ।

विद्यालयहरूका भौतिक सुधारको कार्यक्रम गरिरहेका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । शैक्षिक सुधारको लागि हामीले विशेष जोड दिएका छौं । गाउँपालिकामा बाल विकास केन्द्रलाई पनि विशेष जोड दिएका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । पहिलेको तुलनामा त गाउँपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन आएको छ । गाउँपालिकामा केही विद्यालयका भवनहरु निर्माण भएका छन् भने गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिइरहेका छौं ।

कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ?

हालै हाम्रो पालिकाका नागरिकहरु कोरोनाका कारण त्रसित हुनु पर्ने अवस्था छैन । बाहिरी ठाउँबाट मानिसहरु पालिका भित्र कमै मात्रमा आउने गर्छन् । पोहोर गाउँपालिकामा कोरोनाको कारण धेरै नागरिकहरू त्रसित भएका थिए । गत वर्ष हामीले कोरोना नियन्त्रणको लागि हामीले विशेष पहल गरेका थियौं । गाउँपालिका भित्र प्रवेश गर्ने नाका पनि बन्द गरेका थियौं । पालिका भित्रकै एक वडाबाट अर्को वडामा जना पनि निषेधाज्ञा जारी गरेका थियौं तर पनि कोरोना संक्रमणबाट बच्न सुरक्षित मापदण्ड अपनाएकै थियौं । कोरोना सम्बन्धी सूचना पनि प्रकाशन गरेका छौं । कोरोनाको मापदण्ड अपनाएर नै विकास निर्माणको कामहरू अगाडि बढाउनु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

संक्रमण दर पोहोरको भन्दा हाल भयावह भइरहेको छ । यसलाई रोक्नको लागि संघीय सरकारले गरेको निर्णयहरू तत्कालै हाम्रो जिल्लामा पनि विपत व्यवस्थापन सम्बन्धी कोरोना नियन्त्रणको बैठक बस्ने छ । अरू छिमेकी जिल्ला र नगरपालिको समन्वय र सहकार्यमा हामी सावधानी अपनाउने कुरा बारे नागरिकलाई सचेत बनाउने कुरामा लाग्ने नै छौं । स्वास्थ्य मापदण्डहरू अपनाउनका लागि हामीले नागरिकहरूलाई पनि आग्रह गरिरहेका छौं । हामीले पनि कोरोना नियन्त्रणको लागि विभिन्न सुरक्षाका मापदण्ड अपनाएका छौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवन यापन गरिरहेका छन् तर पनि नागरिकहरूलाई कोरोना देखि सचेत रहन आग्रह गरेका छौं ।

तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि पनि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । मठमन्दिरको निर्माण गर्दा ठुलो खर्च हुने भएकाले प्रदेश सरकारसँग बजेटको अपिल पनि गर्दै आएका छौं, त्यसैले हामी संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढि रहेका छौं । पालिकाको वडा नं. १ को डाँडमा पनि पर्यटपकिय स्थल रहेको छ । त्यस डाँडा बाट धेरै ठाउँको दृश्यअवलोकन गर्न सकिन्छ । बुडा पाकाको भनाइ अनुसार अरुण, तम्बर र दुधकोशीमा गएर पूजा गर्न नसक्नेहरुले डाँडामा निस्किएर पूजा गर्ने परम्परा रहेको छ ।

त्यस डाँडामा ८० रोपनी जग्गा लाई समेटेर गुरु योजना पनि तयार गरेका छौं जसमा पर्यटनहरू आउदा बस्ने खाने, वनभोजको लागि आउने नागरिकहरूलाई बस्ने ठाउँ, पिउने पानीको व्यवस्थापन, शौचालयको व्यवस्थापन गर्नका साथै अन्य नागरिकको सुविधा समेटेका छौं । यो काम सम्पन्न गर्नका लागि प्रदेश सरकार र गाउँपालिका बजेट छुट्याएका छौं । अरुण डाँडा, चिवाचुङ डाँडा, शिवालय पार्क, च्याङ्ग्रे पोखरी, सन्तानेश्वर महादेव, शिर्शिरे डाँडा आदि पर्यटकीय स्थलहरुको रुपमा चर्चित रहेका छन् । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् । पर्यटन विकासले रोजगारीको पनि सृजना गर्ने भएकाले पर्यटन विकासमा पनि हामीले जोड दिइरहेका छौं ।

तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् नि ?

हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम सकिसकेका छौं । काम नै गर्ने नसक्ने कुराहरू घोषणा पत्रमा लेखेको थिएनौं । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । गाउँपालिकाको ठुलो समस्याको रूपमा खानेपानी रहेको छ र त्यस समस्या न्यूनिकरण गर्नको लागि हामीले जोड दिइरहेका छौं । ठुला योजनाको रुपमा खानेपानी नै रहेको छ । प्रत्येक वडामा वडा भवनको निर्माण गर्ने तथा कर्मचारी व्यवस्थापन गर्नको लागि ध्यान दिइरहेका छौं । प्रत्येक वडामा खोप केन्द्रको व्यवस्थापन गर्ने देखि लिएर स्वास्थ्य भवनको निर्माण गरेका छौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास गर्न पुग्दैन । हामीले गर्छैं भनेको कुरा बाहेक अरु कुराहरू महत्वपुर्ण पनि हुन्छ सक्छन् ।

तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ?

धरान र धनकुटा हुँदै आयो भने करिव अरुण नदि बाट ३९ किलोमिटरको दुरीमा हाम्रो गाउँपालिकाको वडा नं. २ मा प्रवेश गरिन्छ । त्यस ठाउँबाट करिव १ किलोमिटरको दुरीमा गाउँपालिकाको सदरमुकामसम्म पुग्न सकिन्छ । पालिकामा केही सडकहरू ग्राबेल पनि भएका छन् भने सडक सञ्जाल चाहिँ सबै वडामा पुगेको छ । पहिलाको साविक वडाहरूमा पनि कच्ची सडक पुर्याएका छौं ।

सडक सञ्जाल सबै ठाउँमा पुग्नु पर्ने कुरामा पनि ध्यान दिइरहेका छौं । हामीले सडकको स्तरोन्ती पनि गरेका छौं । हामीले सडकलाई ३ ओटा समुहमा विभाजन गरेका छौं । अन्तर जिल्ला जोडने सडक, एउटा जिल्ल बाट अर्को जिल्लामा जोडने सडक र एक वडाबाट अर्काेवडा जोडने सडक गरी ३ वर्गमा सडकलाई छुट्याएका छौं । गाउँपालिकाको सडकहरू बाह्रै महिना सञ्चालन हुने अवस्था भने कमै मात्रमा छ ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवाहरूलाई कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले भनिरहेका छांै । रोजगारीको कुरा पनि बजेटसँग नै जोडिदो रहेछ । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत गरिबिका रेखामुनी रहेका र बेरोजगारी भएका युवाहरु मात्र छनोट भएका छन् । संघीय तथा प्रदेश सरकारले पालिकामा ठुलो बजेट पठाउने कुरा र ऐन नियम राम्रो बनाएर पठाएको खण्डमा हाम्रो जस्तो पालिकाका एक घर एक युवालाई रोजगारीको व्यवस्था मिलाउन सकिन्छ ।

युवाहरू जुन पेशामा लागेका छन् त्यहि पेशालाई राम्रो बनाउन आग्रह गरेका छौं । युवाहरूलाई धेरै भन्दा धेरै उत्पादन गरी उत्पादन गरेको सामानहरुको बजार व्यवस्थापन हामी गरी दिन्छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं ।

कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ?

कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर र गाडा रहेको छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता लिएको छ । पालिकाका कुनै पनि सेवा प्रवाहमा समस्या रहेको छैन । जनताको सेवाको लागि तत्पर रहनको लागि कर्मचारीहरूलाई आग्रह गरेको छु । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । राष्ट्र सेवक कर्मचारी भइसके पछि आवश्यक परे शनिवार पनि जनताको सेवाको लागि खटिनु पर्छ भनेर कर्मचारीहरूलाई भनेको छु । म जनप्रतिनिधि भएको हिसाबले मैले कर्मचारीहरूलाई नेपाल सरकारले दिएको सबै सुविधाहरू लिनुहोस् तर जनताको काम भने राम्रो हुनुपर्छ भनेको छु । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हुन्छ । अहिले सम्म जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो नै रहेको छ ।

अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । गाउँपालिकालाई समृद्ध बनाएर चिनाउने विचा रहेको छ । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य बनाएको छु । हामीले पालिका स्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दीर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।

अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनु हुन्छ ?

नागरिकको धेरै भन्दा धेरै अपेक्षा रहेको छ र त्यो अपेक्षा अनुसार हामी जनप्रतिनिधिले काम गर्ने प्रयत्न गरेका छौं । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । सडक निर्माणको कुरामा पनि हामीले जोड दिइरहेका छौं । यो भूगोलको परिचालन गर्ने भनेको नै नागरिकहरूले हो । गाउँपालिकालाई समृद्ध बनाउनको लागि नागरिकको पनि ठुलो भूमिका रहेको छ । स्थानीय स्रोतको परिचालन गरी विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।

Share News