‘बालबालिकामा हुने क्लब फुट समस्या समयमै उपचार गरे निको हुन्छ’

<p>चितवन । बालबालिकामा जन्मजातै खुट्टाको पैताला बाङ्गो हुने या पछाडि फर्किने (क्लब फुट) समस्या समयमै उपचार गरे निको हुने चिकित्सकले बताएका छन् । जन्मेपछि मात्रै थाहा हुने सो रोगको शल्यक्रिया वा प्लास्टर गरेर निको पार्न सकिने उनीहरुको भनाइ छ । विश्वको तथ्याङ्कअनुसार एक हजारमध्ये एक जनामा यो रोग देखिने गरेको भए पनि नेपालमा यसको यकिन [&hellip;]</p>

चितवन । बालबालिकामा जन्मजातै खुट्टाको पैताला बाङ्गो हुने या पछाडि फर्किने (क्लब फुट) समस्या समयमै उपचार गरे निको हुने चिकित्सकले बताएका छन् । जन्मेपछि मात्रै थाहा हुने सो रोगको शल्यक्रिया वा प्लास्टर गरेर निको पार्न सकिने उनीहरुको भनाइ छ ।

विश्वको तथ्याङ्कअनुसार एक हजारमध्ये एक जनामा यो रोग देखिने गरेको भए पनि नेपालमा यसको यकिन तथ्याङ्क भने छैन । भरतपुर अस्पतालका प्रवक्ता वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौला यस्ता खालका समस्या लिएर आउने गरेका जनाउँदै आफूहरुले यस्ता बिरामीलाई अर्थाेपेडिक सर्जनकामा पठाउने गरेको बताए । उनले भने, ‘समयमा उपचार गर्दा यो रोग निको हुन्छ ।’ जन्मनुअघि नै यसको रोकथाम गर्न भने नसकिने उनको भनाइ छ ।

अस्पतालका वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राडा कृष्णप्रसाद पौडेल क्लब फुट भएका बालबालिकालाई अवस्था हेरी प्लास्टरदेखि शल्यक्रियासम्म गर्नुपर्ने बताउँछन् । उनले भने, ‘धेरै आत्तिनु पर्दैन, समयमै उपचार गर्न सके यसलाई सामान्य बनाउन सकिन्छ ।’

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरको सिटिइभिटी कार्यक्रमका सहायक प्राचार्य मुकेश मल्लिकले बालकभन्दा बालिकामा यो समस्या कम देखिने गरेको बताए । बालबालिकामा यो समस्या वंशाणुगत गुण, कलिलैमा गर्भवती हुँदा र जुम्ल्याहा बच्चा जन्मँदा देखिन सक्ने उनको भनाइ छ । क्लब फुट भएका बालबालिकालाई स्प्लिन्ट (विशेष जुत्ता), पोन्सेटी (प्लास्टर) र थेरापी विधिबाट उपचार गराउन सकिने चिकित्सकको सुझाव छ । रासस

Share News