
काठमाडौं । शुक्रबार नेपालभर ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ८३६ र एन्टिजेन परीक्षणबाट ६४ जना गरी ९ सय जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको तथ्यांक अनुसार देशभर ५ हजार ५ सय ३७ पीसीआर परीक्षण गरिएको थियो भने ६ सय २१ एन्टिजेन परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा काठमाडौँका २८६, ललितपुरका ४३ तथा भक्तपुरका १९ जनामा संक्रमण पुष्टि भएको हो। उपत्यकामा संक्रमितको संख्या ३४८ पुगेको छ।
शुक्रबार २०८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ।