काठमाडौं । कोरोना अति प्रभावित काठमाडौं उपत्यकाका तीन जिल्ला सहितका १४ जिल्लाका विद्यालय बन्दको निर्णय जिल्ला प्रशासनले गर्ने भएको छ ।
शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित जिल्लाको रुपमा राखेका १४ जिल्लाका विद्यालय बन्द गर्ने वा आंशिक रुपमा खोल्ने निर्णय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिने निर्णय गरेका हो ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतका पदाधिकारी बीच भएको छलफलले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको डीसीसीएमसीले आवश्यकता अनुसार विद्यालय बन्द गर्ने वा खोल्ने निर्णय गर्ने सक्नेगरी अधिकार दिने निर्णय गरेको हो ।
आजको बैंठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने, विद्यालयभित्र अनावश्यक भिडभाड नगर्ने, सभा सम्मेलन तथा वार्षिक उत्सव गर्न नपाईन मापदण्ड तोकिएको छ । यसैगरी, जोखिमका कारण बन्द भएका विद्यालयहरुले ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार विद्यार्थीलाई सिकाइसँग जोड्नुपर्ने पनि बैठकले निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको थियो ।