
म्यागङ गाउँपालिका नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोट जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित छ ।
९७ दशमलब ८३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस गाउँपालिकामा २०६८ को जनगणना अनुसार १३ हजार ४ सय ७९ जनाको बसोबास रहेको छ । ६ ओटा वडा रहेको यस गाउँपालिकामा विभिन्न जातिहरू एकआपसमा मिलेर बसिरहेका छन् ।
विभिन्न प्रजातीका रुखहरु, चिलाउने, सल्ला, उत्तिस, वकाइनो साल आदि यहाँ पाइन्छन् । जडिबुटि उत्पादनको सम्भावना रहेको यस गाउँपालिका भित्र विभिन्न औषधीजन्य जडिबुटिका साथै टिम्मुर, चिराइतो, धुपि आदि पाइन्छन् । गरिवी निवारणका लागि साना घरेलु उद्योग, नगदे वालीतर्फ आकर्षण, तरकारी खेतीको व्यवसाय, होमस्टे, पर्यटकियस्थल पहिचान तथा व्यवस्थापन सहकारीको विकास, पशुपालन आदिबाट म्यागङ गाउँपालिकाको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ ।
गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष आशा तामाङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।
सर्वप्रथम कृषिकै कुराबाट सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?
हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशील भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशानै अँगालेका छन् । निर्वाहमुखी कृषकलाई व्यावसायिक बनाउने काम हामिले गर्दै आएका छौं । हाम्रो गाउँपालिकामा मकै, कोदो, धान, गहँु आदि उत्पादन हुने गरेको छ । तरकारी बालीमा आलु उत्पादन हुन्छ भने नगदे वालीमा चिया, अलंैची, भुईंस्याउ, सुन्तला, तोरी, किवी आदि उत्पादन हुने गरेको छ ।
गाउँपालिकाको वडा नं २ र ४ लाई चिया पकेट क्षेत्रको रुपमा छुट्याएका छौं । तरकारी तथा फलफुका विउ ५० प्रतिशत अनुदानमा वितरण गर्दै आइरहेका छौं । कृषि औजारहरु पनि अनुदानको रूपमा वितरण गर्दै आएका छौं । काउली तथा गोलभेडा खेती गर्ने कृषकलाई गाउँपालिकाले प्लास्टिक टनेलहरू ५० प्रतिशत अनुदानमा दिने गरेको छ । पशुपालनका कार्यक्रमहरू पनि अघि सारेका छौं ।
आधुनिक कृषि प्रणालीलाई पनि विशेष जोड दिएका छौं । कृषि विकासको लागि ४० लाख रुपैयाँ बजेट छुट्याएका छौं । कृषकलाई कृषि सम्बन्धि तालिमको पनि व्यवस्था मिलाएका छौं । लघु उद्यम कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ ।
गाउँपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध छन् होला ?
यहाँका धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । यहाँका नागरिकहरुको मुख्य पेशा कृषि नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ९५ प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं ।
गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ?
ठुला योजनाको रूपमा गाउँपालिकामा सडक निर्माणको काम रहेको छ । ७० प्रतिशत जति विकास निर्माणको काम पनि गरिसकेका छौं । खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । यहाँका सम्पूर्ण वडामा सडक पुगिसकेको छ भने सबै वडामा बिजुली बाल्न पनि सफल भएका छौं । वडा नं. १, ५, ६ र २ मा आउने आर्थिक वर्षमा वडा भवनको निर्माण गर्ने योजना बनाएका छौं । गाउँपालिकाको भवन निर्माण गर्नको लागि ६ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएका छौं । भवनको काम पनि डीपीआर प्रक्रिया बाट अगाडि बढिरहेको छ ।
स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?
गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकी रहेका छन् । पहिलो प्राथमिकताको रुपमा पनि स्वास्थ्य क्षेत्रलाई नै राखेका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएको छ । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । गाउँपालिकामा एम्बुलेन्स सेवा नभए पनि बिरामी परेका नागरिकलाई एम्बुलेन्सको व्यवस्था मिलाएका छौं ।
अहिले हामीले गाउँपालिकाका सबै वडामा अधारभुत स्वास्थ्य चौकीको स्थापना गरेका छौं । सबै रोगको उपचार गर्नसक्ने अवस्था त छैन तर पनि प्राथमिक स्वास्थ्य सेवासम्म गाउँपालिकाको सबै नागरिकहरूको पहुँच पुगेको छ ।
तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताईदिनुस् न
पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । देखिने खालका कामहरू पनि धेरै भएका छन् । संरचना पनि बनेका छन् । अहिले गाउँपालिका भित्र सडकको विकास भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । जनताको आवश्यकता पुरा गर्नमा हामी खटिरहेका छौं । पहिलाको तुलनामा हाल ८० प्रतिशत जनताको आवश्यकता पुरा गरेको जस्तो हामीलाई लाग्छ ।
सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रहरु रहेको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम अगाडि बढिरहेको छ ।
तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ?
हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग छैनन् । बरु कृषि क्षेत्रका साना उद्योगहरु गाउँपालिकामा केही संख्यामा रहेका छन् । यद्यपी हाम्रो गाउँपालिका उद्योगको बढी सम्भावना बोकेको ठाउँ चाहिँ हो । हाल गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरू छन् ।
खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ?
खेलकुद विकास गर्नको लागि भनेर हामीले खेल मैदानको व्यवस्था गरेका छौं । स्वस्थ रहन पनि खेल खेल्नु पर्छ भन्ने मान्यता र गाउँपालिकाको नाम पनि खेल बाटै चिनाउनु पर्छ भनेर जोड दिएका छौं ।
गाउँपालिकामा युवा क्लबहरु पनि गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् ।
अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
अहिलेसम्मको काम गराईबाट म सन्तुष्ट नै छु । नागरिकको सन्तुष्टी नै हाम्रो सन्तुष्टी हो ।
आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?
हामीले गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिरहेकै छौं । गाउँपालिकामा पर्यटन पूर्वधारको पनि विकास गरेका छौं । पर्यटन सम्बन्धी व्यवसायमा पनि हामीले जोड दिएका छौं ।
पर्यटन स्थलको रूपमा मेघाङ डाँडा, नाउर, लाम्डापाङ, क्रईपङ्ग, फइसिंमने, पोखरीगङ्ग, कल्लेरीगङ्ग, पासम्चोक, उरग्यान्पो, ताक्पा गाङ, लिङगरचो, कतोल्हा टुँडी डाँडा, वेकरनेन डाँडा पनेरा भन्ज्याङ डाँडा, थाङमाचोत, ग्युरमाने, थलागाङ, च्यारगाङ डाँडा, उचेनडाँडा, गोम्वोगाङ आदि रहेका छन् । पर्यटन विकासको लागि हामीले केही बजेट पनि छुट्याएका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । गाउँपालिकामा धार्मिक स्थलहरू पनि रहेका छन् ।
शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?
हाम्रो गाउँपालिकामा २२ ओटा सामुदायिक विद्यालयहरू रहेका छन् । विद्यालय भवन निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिएका छौं ।
गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्राविधिक शिक्षाको लागि पनि विशेष जोड दिएका छौं ।
गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?
युवा रोजगारीको लागि गाउँपालिकामा जिविकोपार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गरेका छौं । विदेशमा गएर अरूको काम गर्नुभन्दा आफ्नै ठाउँमा बसेर आफैं काम गर्ने, आफैं साहु भएर युवाहरुले काम गर्ने हो भने हाम्रो गाउँपालिका समृद्ध हुनेछ । युवा रोजगारको लागि ५० लाख रुपैयाँ बजेट पनि छुट्याएका छौं ।
कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा लागु भएको छ । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् ।
अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?
पहिलो कुरा त सभ्य समाजको निर्माण गर्ने कल्पना छ । सबै नागरिकलाई शिक्षाको पहुँचबाट टाढा हुन नदिने, सकारात्मक सोचको विकास गर्ने हो । कृषिलाई कसरी पकेट क्षेत्र बनाउने, पर्यटन विकास कसरी गर्ने भन्ने योजना पनि बनाएको छु । यसका साथै स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई पनि राम्रो बनाउने योजना छ । कृषिलाई आधुनिकीकरण गर्ने योजना पनि बनाएको छु । यसका साथै पूर्वाधार विकासको काममा पनि जोड दिएको छु ।
गाउँपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउने गरेका छन् नि ?
धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । कोही भने शिक्षा क्षेत्रका समस्या लिएर आउँछन् भने कोही चाहीँ विकास निर्माणको समस्या लिएर आउँछन् । विकास कहिले पनि गरेर सकिने रहेनछ । तरपनि त्यस्ता समस्याहरूलाई समाधान गरेर मात्र हामी अगाडि बढ्ने गरेका छौं ।