५० मुरी धान उत्पादन गर्नेलाई ५० हजारसम्मको गोरु दिएका छौं- गाउँपालिका अध्यक्ष थत्लुङ

<p>नेपालको प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो मैवाखोला गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । गाउँपालिकाको पूर्वतर्फ आठराई त्रिवेणी गाउँपालिका, पश्चिममा संखुवासभा जिल्लाको पञ्चखपन नगरपालिका र चैनपुर नगरपालिका, उत्तरमा ताप्लेजुङ जिल्लाकै [&hellip;]</p>

नेपालको प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो मैवाखोला गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ ।

गाउँपालिकाको पूर्वतर्फ आठराई त्रिवेणी गाउँपालिका, पश्चिममा संखुवासभा जिल्लाको पञ्चखपन नगरपालिका र चैनपुर नगरपालिका, उत्तरमा ताप्लेजुङ जिल्लाकै मिरिङदेन गाउँपालिका एवं दक्षिणमा तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिका रहेका छन् । ६ ओटा वडा रहेको यो गाउँपालिका १ सय ३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २ हजार २९ घरधुरी रहेको यस गाउँपालिकामा १२ हजार ८९ जनाको बसोबास रहेको छ ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष राजन कुमार थत्लुङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ?

कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । यहाँका धेरै नागरिकहरू कृषि पेशामै आधरित छन् । हामीले उन्नत जातका बाख्रा कृषकलाई वितरण गरेका छौं । गाउँपालिकाले अनुदान दिएर गाईपालनको काम पनि सुरु भएको छ । ५० मुरी धान उत्पादन गर्ने कृषकलाई ५० हजार रुपैयाँसम्म पर्ने गोरु पनि वितरण गर्दै आएका छौं । राम्रो धान उत्पादन गर्ने कृषकलाई पनि अनुदानको व्यवस्था मिलाएका छौं ।

हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराएका छौं । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र धेरैजसो ५० प्रतिशत अनुदानको बिउ वितरण गर्दै आएका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं ।

यो वर्षदेखि हामीले गाउँपालिकामा धान पकेट क्षेत्र पनि छुट्याएका छौं । धेरै आलु उत्पादन गर्ने कृषकलाई उत्पादन अनुसारको पैसा तथा कृषि सम्बन्धि औजारहरू दिने भनेका थियौं तर हामीले बनाएको मापदण्ड अनुसार कृषकले आलु उत्पादन गर्न सकेका छैनन् । हामीले मनग्ये कृषि उत्पादन गर्ने कृषकलाई कृषि औजारहरु पनि वितरण गर्दै आएका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ७५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक वा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । गाउँपालिकामा होमस्टे पनि सञ्चालन भएका छन् । पर्यटन विकासका लागि पर्यटक सम्बन्धि योजना पनि तयार पारेका छौं । झ्याउपोखरी, छाँगा, सिदुलमया झरना आदि यहाँको पर्यटकीय स्थलको रूपमा निक्कै चर्चित रहेका छन् । डीपीआर गरेर मठमन्दिरको निर्माण गर्ने काम पनि गरिरहेका छौं । पर्यटकीयस्थलमा सडक पुर्याउने काम पनि भएको छ । पर्यटन पूर्वाधारलाई हामीले विशेष जोड दिएका छौं ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ?

ठुला योजनाको रूपमा गाउँपालिकामा सडक निर्माणको काम नै रहेको छ । खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । १० देखि १५ लाख रुपैयाँसम्मका खानेपानीका योजनाहरू गाउँपालिकामा रहेका छन् । हाम्रो पालिकाको सबै वडामा सडक पुगिसकेको छ । गाउँपालिकाको सबैभन्दा दुर्गम रहेको ६ नं. वडामा पनि सडक निर्माणको काम भइरहेको छ । संघ र गाउँपालिकाको साझेदारीमा वडा नं ६ मा ५९ लाख रुपैयाँ बराबरको स्वास्थ्य भवनको निर्माण भइरहेको छ ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?

पढाईको गुणस्तरलाई राम्रो बनाउनको लागि विशेष जोड दिएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । हाम्रो गाउँपालिकामा २८ ओटा सामुदायिक विद्यालयहरू रहेका छन् ।

प्रधानाध्यापक र अभिभावकहरूलाई राखेर कसरी पढाईलाई गुणस्तरीय बनाउन सकिन्छ तथा विद्यालयको आवश्यकताको बारेमा पनि व्यापक छलफलहरू भएको छ । ५ कक्षा भन्दा मुनिका विद्यार्थीलाई ज्याकेट र झोला दिने काम भइरहेको छ । विद्यालयमा उत्कृष्ट पढाउने शिक्षकलाई पुरस्कृत गर्ने गरेका छौं भने गाउँपालिका भरीका सबै विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने पनि गरेका छौं ।

खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ?

खेलकुद विकासको लागि हामीले खेलकुद समितिको पनि गठन गरेका छौं । गाउँपालिकाकै सबैभन्दा ठुलो क्लबका रुपमा जलजले युवा क्लब रहेको छ । गाउँपालिकाको सबै वडामा युवा क्लबहरु गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ ।

गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । यो एक वर्ष कोरोनाको कारणले खेलकुदका सबै कार्यक्रमहरू स्थगित भएका थिए । खेलकुद आयोजना गर्ने वडाहरुलाई सहयोग गरेर खेलकुद विकास गर्ने भन्ने पनि हाम्रो योजना रहेको छ । ‘एक वडा एक रङ्गशाला’ भन्ने हाम्रो अभियान रहेको छ । ४२ रोपनीको जग्गामा खेल मैदानको निर्माण गरेका छौं । यसलाई हामीले व्यवस्थित गर्न सकेका छैनौं । १० लाख रुपैयाँको बजेटमा यस खेल मैदानको हामीले डीपीआर गरेका छौं । राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ ।

गाउँपालिकामा स्वास्थ्य क्षेत्रको विकासका लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

स्वास्थ्य क्षेत्रको विकासका लागि पनि हामीले धेरै काम गर्दै आएका छौं । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएको छ । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । स्वास्थ्य इकाईहरू गाउँपालिकाको सबै वडाहरूमा रहका छन् ।

हाम्रो पालिकामा स्वास्थ्य चौकीका भवनहरू कतै बनिसकेका छन् भने कतै बन्ने क्रममा रहेका छन् । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । साबिक गाविसहरुमा हामीले प्रजनन् केन्द्रको पनि स्थापना गरेका छौं । स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सम्बन्धि प्रचारप्रसार पनि गरिरहनु भएको छ । ठुलो रोगको उपचार गाउँपालिकामा हुन चाहिँ सकेको छैन ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवाहरूलाई कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले भनिरहेका छांै । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । सामान्यतया हामीले यो वर्ष देखि युवालाई ऋण दिने कामको सुरुवात पनि गरेका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा लागु भएको छ । उद्यमशीलता विकासमा युवालाई लगाउनु पर्छ भनेर पनि हामीले जोड दिएका छौं ।

काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् ।

तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताइदिनुस् न

पहिलो कुरा त हामी संघीय संरचनामा रहेका छौं । पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । हामी आउँदा कसरी कार्यालय चलाउने भन्ने जस्ता समस्याहरू रहेको थियो । यस्ता समस्याहरूको समाधान गरेका छौं । देखिने खालका कामहरू पनि भएका छन् । भौतिक संरचनाहरूको निर्माण पनि भएका छन् । सडक पिच हुन नसके पनि सडकको विकास भएका छन् । खानेपानीको व्यवस्था हुन थालेको छ । वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयहरूका भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम पनि अगाडि बढाइरहेका छौं ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारिक कम्पनी कुन हो ?

हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग त छैनन् । यद्यपी हाम्रो गाउँपालिका उद्योगको बढी सम्भावना बोकेको ठाउँ चाहिँ हो । गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरू धेरै नै छन् । पलिकामा बरु कृषि उद्योग धेरै संख्यामा रहेको छ । कृषकहरूले कुखुरापालन तथा भैँसीपालन लगायतका काम पनि गर्दै आएका छन् । गाउँपालिकामा ६ ओटा हाइड्रोपावर सञ्चालन भएका छन् ।

सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन् हो नि ?

गाउँपालिकामा ठुलो उद्योगहरू नभइसकेपछि धेरै कर तिर्ने कम्पनी पनि हुने कुरै भएन । तरपनि सामान्य व्यवसायहरूबाट कर सङ्कलन हुने गरेको छ ।

तपाईंले चाहेर पनि गर्न नसकेका विकास निर्माणका कामहरू के–के होलान् नि ?

हामीले यहाँ ठुला योजनाहरूतर्फ काम गर्न सकेका छैनौं । गाउँपालिका समृद्ध हुने खालको योजना त बनायौं तर वार्षिक बजेटले एउटा योजनालाई पनि राम्रोसँग काम गर्न पुग्दैन । गाउँपालिकाका सडकहरूलाई आवश्यकताअनुसार ग्राबेल अथवा पिच गर्न चाहिँ हामीले चाहेर पनि सकेका छैनौं । होमस्टेको पनि राम्रो व्यवस्था गर्न सकेका छैनौं ।

अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

अहिलेसम्मको काम गराईबाट म सन्तुष्टनै छु । मैले गरेको काममा जनताको गुनासो आउने गरेको छैन । नागरिकको सन्तुटिलाई नै म आफ्नो सन्तुष्टि ठान्दछु ।

अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?

हाम्रो कार्यअवधी ५ वर्षको हुन्छ । गाउँपालिकासम्म जाने सडक ग्राबेल गर्ने योजना बनाएको छु । एम्बुलेन्स खरिद गर्ने योजना पनि रहेको छ । पालिकामा रोलर र जेसिभि पनि रहेको छ ।

स्वास्थ्य, शिक्षा, खेलकुद लगायतको विकास गर्ने योजना बनाएको छु । हामीले दीर्घकालीन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको हामी अन्तिम चरणमा पुगेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । पूर्वाधार विकासको कुरामा पनि हामी अगाडि बढी रहेका छौं ।

Share News