मेरो नाम मैना दनुवार । म काभ्रे पाँचखालको किसान हुँ । हामी पाँचखालका किसान धेरै पीडित छौं । कागजमा थुप्रै सम्झौता हुन्छ, किसानलाई यो गर्छु ऊ गर्छु भन्ने । तर व्यवहारमा केही पनि छैन ।
हामी दनुवार जातिको आफ्नो भूमि छैन । अर्काको भूमि फोरेर खाइरहेका छौं । पोहोरको सालमा तरकारी बिक्री नभएर हामीले खान पनि पाएनौं । यसको मतलब किसालाई यो गर्छु, त्यो गर्छु भन्ने सबै कागजमै सीमित भएको छ । कुट्टो समाउन नसक्नेहरु ‘हामी किसान हो’ भन्दै अघि सर्दै आउनुहुन्छ । र, उहाँहरुले ट्याक्टर, मिसिन(धान कुट्ने, मकै छोडाउने) सबै पाउनुहुन्छ ।
तर हामीले केहि पाउँदैनौं । निवेदन दिन जाँदा पनि निवेदन पनि लिदिनुहुन्न । त्यसैले हामी यो दनुवार जाति यति पिछडिएका छौं कि । कुरा नगरौं ।
हामी दनुवार, भुजेल, धामी, चेपाङ्ग, पहरी गरी ५ वटा जातिलाई अल्पसंख्यकमा राखेको छ । यो अल्पसंख्यकमा राख्ने जातिलाई तपाईंहरुले के गर्नुहुन्छ ? कुन दृष्टिले हेर्नुहुन्छ ? यो प्रश्न अरु कसैलाई होइन अर्थमन्त्रालयको सचिवलाई प्रश्न हो ।
हामीलाई अनुदान केही छैन । कहाँ कहाँ गयो त्यो अनुदान । कुन कुन संघसंस्थाबाट अनुदान आइरहेका हुन्छन् । तर ती कहाँ बिलाउँछन्, पत्तो हुँदैन ।
हामीलाई त तपाईंहरुले अन्नदाता मान्नुपर्छ । हामीले नफलाए तपाईंले कहाँबाट खान पाउनुहुन्छ ? ३६० दिन नै हामी खेतबारीमै लडिरहेका हुन्छौं । तर त्यसको त्यो मूल्याङ्कन छैन ।
सचिवज्यू, अब किसान पहिचानको लागि परिचय पत्र (कार्ड) बनाईदिनु पर्यो । साच्चिकै किसान को हो ? त्यसको पहिचानको लागि हामीलाई कार्ड चाहियो । त्यसपछि कार्ड भएकाले मात्रै सरकारको अनुदान पाउने भन्ने व्यवस्था हुनुपर्यो ।
उत्तरमा यसो भन्छन् अर्थसचिव शिशिर ढुङ्गाना
हामीले किसानको परिचयपत्र दिनको लागि भनेर विभिन्न कार्यक्रमहरु गर्न गइरहेका छौं । एउटा गरिब पहिचान परिचयपत्रको कार्यक्रम शुरु गर्दै छौं । त्यसबाट सहुलियपूर्ण कर्जा, अनुदान र अन्य प्रकारका राज्यले उपलब्ध गराएका सेवाहरु दिने कोशिस गर्ने छौं । त्यसको लागि केही समय पख्नुस् । तपाईंले भनेजस्तो व्यवस्था पुर्याउन सरकार प्रतिवद्ध छ ।
हो, तपाईंले भनेजस्तै तपाईंहरुले काम नगरिदिँदा अरुले खान पाउँदैनन् । तपाईंहरुले नै गर्ने हो । तपाईंहरुलाई पनि राज्यको तर्फबाट मुक्ति दिलाउने छौं ।
ढुक्क हुनुस्, अल्पसंख्यकहरुलाई राज्यले केही व्यवस्था गर्ने नै छ ।
(माइक्रोफाइनान्स एशोसियशन अफ नेपालले आयोजित गरेको कार्यक्रममा अर्थमन्त्रालयका सचिव शिशिर ढुङ्गाना र कृषक मैना दनुवारले राखेका सम्पादित अंश)