काठमाडौं । ललितपुरको बागमती गाउँपालिकाले विगत ३ वर्षदेखि देखि एकल पुरुषलाई मासिक भत्ता दिँदै आएको छ । विभिन्न पालिकाहरुले एकल महिला तथा वृद्ध भत्ता दिँदै आएको भए पनि बागमति गाउँपालिकाले भने एकल पुरुषहरुर्लाइ पनि मासिक भत्ता दिँदै आएको हो ।
एकल महिला, वृद्ध महिला तथा पुरुषको हकमा समाज केही उदार बने पनि एकल पुरुषहरू पनि उत्तिकै पीडित बनेको देखेर आफ्नो गाउँपालिकाले विगत ३ वर्षदेखि एकल पुरुषहरुलाई पनि मासिक भत्ता दिँदै आएको गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चनले बताए ।
अध्यक्ष लोप्चनका अनुसार गाउँपालिकाले यो ३ वर्षको अवधिमा गाउँपालिकाका एकल पुरुषहरुलाई १३ लाख रुपैयाँ भत्ता वितरण गरिसकेको छ । ‘हामीले वियोगमा परेका थुप्रै एकल पुरुष देखेपछि उनीहरुका लागि पनि एकल भत्ता दिनु पर्छ भन्ने सोच बनाएका हौं, एकल पुरुषलाई मासिक भत्ता दिने बागमति नै पहिलो गाउँपालिका हो,’ अध्यक्ष लोप्चनले भने ।
६० वर्ष पुगेका तर ७० वर्ष ननाघेका एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको उनको भनाई छ । ७० वर्ष माथिका पुरुषहरुलाई गाउँपालिकाले वृद्ध भत्ता दिँदै आएको छ ।

फाइल फाेटाे
विगत ३ वर्षेदेखि एकल पुरुष भत्ता मासिक १ हजार रुपैयाँ दिँदै आएका छौं, अब उनीहरुलाई उपचार खर्च भनेर ५ सय रुपैयाँ दिने योजना पनि बनाएका छौं, अब कुल १५ सय रुपैयाँ उनीहरुले पाउने छन्,’ उनले भने ।
उनका अनुसार गाउँपालिकामा रहेका ५० जना एकल पुरुषले मासिक भत्ता पाउदै आएका छन् । गाउँपालिकाले वर्षेनी बजेटमा ५ लाख रुपैयाँ एकल पुरुष भत्ताका लागि छुट्याउँछ ।
७ सय ५३ स्थानीय तहमध्ये एकल पुरुष भत्ता वितरण गर्ने पहिलो बागमति गाउँपालिका भएको उनको दावी छ । ‘पहिले एकल महिलाले मात्र भत्ता पाउँथे, अब एकल पुरुषलाई पनि दिनु पर्छ भन्ने सोच बनाएर उनीहरुलाई पनि दिँदै आएको उनको भनाई छ ।
२०७४/०७५ को बजेटबाट सुरु
अध्यक्ष लोप्भनले आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रममा एकल पुरुष भत्ता कार्यक्रम सुरु गरिएको बताए ।
सुरुमा भत्ता पाउने एकल पुरुषको उमेर ६० पुगेको हुनुपर्ने मापदण्ड बनाइएको छ । ६० देखि ७० वर्षका पुरुषलाई मात्रै भत्ता दिने मापदण्ड बनाइएको छ। ‘७० वर्षदेखि वृद्धभत्ता नै पाउने भएकाले दोहोरो सुविधा नपाउने व्यवस्थाका लागि उमेर हद तोकेका हौं,’ लोप्चनले भने।
गाउँपालिकाको सानो सहयोगले बुढेसकालमा एकल बस्नेलाई काम लागोस् भनेर यस्तो व्यवस्था गरिएको उनको भनाई छ । आर्थिक स्तर कमजोर भएका, परिवारमा कोही नभएका, परिवारबाट अपहेलित बनेका, आयस्रोत नभएका पुरुषले यस्तो सुविधा पाउने अध्यक्ष लोप्चनले बताए ।