काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति समक्ष ८ बुँदे सुझाव पेश गरेको छ। मन्त्रालयले बिहीबार मित्रराष्ट्र भारत, बेलायत, जमर्नी, फ्रान्सलगायतका युरोपेली मुलुकमा कोभिड–१९ को संक्रमण दरमा बृद्धि भएको भन्दै सीसीएमसीलाई सुझाव दिएको हो ।
मन्त्रालयले दिएको सुझाव पत्रमा भारतबाट नेपाल प्रवेश गर्ने सिमानाकामा निगरानी बढाउने तथा अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा निगरानी र स्वास्थ्य परीक्षण बढाउने, नेपाल र भारतबीचको सिमानाकामा अवस्था हेरी नाका घटाउनुपर्ने लगायत उल्लेख छन्।
यस्तै मानिसको भिडभाड हुने कार्यक्रम नगर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, साबुन पार्नीले हात हुने र स्यानिटाइजरको प्रयोग गर्ने लगायत अनुगमन बढाउन सम्बन्धित मन्त्रालयलाई सुझाव दिइएको छ।
कोभिड–१९ को संक्रमण बढ्ने सम्भावना भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउने, सीमानाकाहरुमा संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च भएमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्ने, संक्रमणबाट जोगिन सचेतना कार्यक्रम अगाडी बढाउने लगायतका सुझाव दिएको छ ।