लकडाउनको एक वर्षः आर्थिकमन्दी कायमै, के पायौं, के गुमायौं ?

<p>काठमाडौं । विश्व महामारीको रुममा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारले गत वर्ष चैत ११ गते लकडाउन गर्यो । कोरोना भाइरसकै कारण सरकारले लकडाउन गरेको हिजो मात्रै एक वर्ष पुरा भएको छ । लामो समयसम्म लकडाउन भएछि  कोरोनाको संक्रमण केही कम भए पनि अझै बढ्ने हाेकि भन्ने त्रास जनमानसमा छ । छिमेकी राष्ट्र भारतमा कोरोना [&hellip;]</p>

काठमाडौं । विश्व महामारीको रुममा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारले गत वर्ष चैत ११ गते लकडाउन गर्यो । कोरोना भाइरसकै कारण सरकारले लकडाउन गरेको हिजो मात्रै एक वर्ष पुरा भएको छ । लामो समयसम्म लकडाउन भएछि  कोरोनाको संक्रमण केही कम भए पनि अझै बढ्ने हाेकि भन्ने त्रास जनमानसमा छ । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि फेरि कोरोनाको संक्रमणदर बढ्ने होकि भन्ने अनुमान गरिएको छ ।

सरकारले पनि फेरि सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिसकेको छ । लामो समयसम्म भएको लकडाउनको कारण देश ठूलो आर्थिकमन्दीमा पर्यो । धेरै उद्योगधन्दा बन्द मात्र भएनन् हजारौं मानिसले रोजगारी गुमाए । लकडाउन भएर पनि अवस्था सामान्य भइसके पनि अझै देश आर्थिकमन्दीमै छ भने वेरोजगार बनेकाहरु बेरोजगार नै भएर बस्नु पर्ने बाध्यता सिर्जना भएको छ । फेरि लकडाउन हुने होकि भन्ने त्रासले पनि उद्योगी व्यवसायी मात्र होइन सम्पूर्ण क्षेत्रलाई त्रासपूर्ण अवस्थामा जिउन बाध्य बनाएको छ ।

गत वर्ष लकडाउनकै कारण वेरोजगार भएर भोकभोकै पूर्वको सोलुखुम्बुदेखि रातारात हिँडेर कैलाली पुगेका दर्दनाक घटनाहरु देखिए । विदेशमा काम गरिरहेका हजारौं मानिस वेरोजगार भएर मात्र होइन कोरोनाकै कारण सयौं युवाहरुका लाश बाकसमा बाँधिएर आएका दुखद पलहरुले अहिले पनि धेरैलाई झस्काउँछ ।

मानिसहरु घरबाट बाहिर निस्कन पाएनन् । देश सुनसान भयो । आर्थिक गतिविधिहरु ठप्प भए । मानिस भोकै बस्न नसकेपछि सडकमा निस्किए । धेरै सामाजिक संघ संस्था र व्यक्तिहरुले सडकमा भेटिएकाहरुलाई खाना खुवाउने अभियान पनि चलाए । फलस्वरुप उनीहरु भोकै मर्न बाध्य भएनन् । जसोतसो एक छाक खाना खुवाउने सामाजिक संस्था र अभियानहरु उनीहरुका लागि भगवान सावित भए ।

सरकार कोरोना भाइरसको संक्रमण कम गर्न तर्फ उदार देखिएपछि सामाजिक अभियान्ता तथा युवाहरुको समूह सडकमा नारा जुलुसमा निस्किए । सोही क्रममा युवाहरुको समुह इनफ इज इनफले सरकारको कडा आलोचना मात्र गरेन  सबैलाई पिसिआर चाहिन्छ भन्ने मुद्दा बोकेर सडकमा समेत निस्कियाे ।  सो समूहको एजेण्डालाई सम्बोधन गर्ने भन्दै सरकार सबैको पीसीआर परीक्षण गर्त तर्फ लाग्यो । लामो समयसम्म गरेको लकडाउनले कोरोना भाइरस संक्रमण कम गर्न प्रभावकारी काम नगरेको भन्दै लकडाउनको विरोध पनि भयो ।

मानिस भोकभोकै मर्ने अवस्था भएपछि लकडाउनको विरुद्द मानिसहरु उत्रिए । अन्तिममा सरकार लकडाउनबाट पछि हट्दै सीमित ठाउँमा निषेधाज्ञाबाट हुँदै सामान्य अवस्थामा फर्कियो । लकडाउन अन्त्य भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा अलग–अलग रूपमा निषेधाज्ञा र लकडाउन गरिएको थियो । तर, संक्रमित नियन्त्रणमा आउनुको सट्टा दैनिक बढ्न थाल्यो ।

संक्रमण रोग विशेषज्ञ डा अनुप सुवेदी पनि सरकारले सुरुवाती चरणमा सुरु गरेको लकडाउनले खासै प्रभावकारी काम नगरेको बताउँछन् । उनी अब त्यसबाट पाठ सिकेर सरकारले अगाडि बढ्नु पर्ने सुझाव दिन्छन् ।

‘सबै तरिका अपनाएपछि पनि महामारी कम नभएको अवस्थामा मात्र लकडाउन अन्तिम उपाय हो, तर नेपालले परिक्षण, ट्रेसिङ्ग, स्वास्थ्य मापदण्ड जस्ता कुनै पनि विधी नअपनाई सिधै लकडाउन सुरु भयो, जसकारण लकडाउन कहिले खुला गर्ने भन्ने कुरामा नै सरकार नै अलमलमा पर्यो, तयसबाट नागरिकले दुख मात्र पाए, कोरोना कम भएन,’ डा. सुवेदीले भने ।

एउटा मानिस देखेर अर्को मानिस डराउनु पर्ने, भाग्नु पर्ने अवस्था कोरोना भाइरसले नै सिर्जना गर्यो । त्यसको परिणाम स्वरुप फ्रन्टलाइनमा खटिने अधिकांश डाक्टरलाई घरबेटीले घरमा बस्न नदिएका घटनाहरु घट्न भ्याए । लकडाउनकै समस्यमा महँग्गीले पनि नागरिकलाई सतायो । कालोबजारी मौलायो ।

आर्थिकमन्दी कायमै

कोरोना भाइरसकै कारण हामीले मानविय क्षति व्यहोनु पर्यो । त्यस सँ-सँगै आर्थिकमन्दीमा देश पर्यो । अर्थविद्हरुका अनुसार नेपालमा यो हालसम्मकै ठूलो आर्थिकमन्दी हो । नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी असर पारेको कोरोना भाइरसले हो ।

लामो समयसम्म भएको लकडाउनले देशको अर्थतन्त्रलाई नराम्रोसँग असर पार्यो । उद्योगधन्दा, व्यापार पर्यटन, हवाई सेवा ठप्प रहेकै कारण अर्थतन्त्रमा नकारात्मक सुचकहरुले प्रशय पायो । देशको आर्थिक वृद्धिदरमा नराम्रोसँग धक्का लाग्यो । देशको अनुमान गरेको आर्थिक वृद्धिदरभन्दा कमै हुने अवस्था आइलाग्यो ।

आर्थिक वर्ष २०७६/७७ को कुल गार्हस्थ्य उत्पादन जीडीपीको वृद्धि वा आर्थिक वृद्धिदर झन्डै दुई प्रतिशतले ऋणात्मक हुनपुग्यो । अघिल्लो वर्षको तुलनामा उक्त अवधिमा देशको अर्थतन्त्र खुम्चियो। सरकारले महामारी हुँदाहुँदै पनि सवा दुई प्रतिशतले अर्थतन्त्र विस्तार हुनसक्ने ठानेकोमा अहिले तथ्याङ्क विभागले नै १.९९ प्रतिशतले अर्थतन्त्र खुम्चिएको आँकडा प्रस्तुत गरेको छ ।

अर्थतन्त्र खुम्चिएका कारण यसको प्रत्यक्ष असर गरिबीमा परेको देखिन्छ । योजना आयोगकै प्रतिवेदनमा पनि थप १२ लाख मानिस गरिबीमा धकेलिएको भन्ने विवरण आएको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सो बजेटले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर कोरोनाका कारण प्रभावित यो बजेटको खर्चको अवस्था भने कमजोर रह्यो ।

विनियोजित बजेटको कुल ७१.१८ प्रतिशत अर्थात १० खर्ब ९१ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत बजेटमा खर्चको अवस्था गत वर्ष १ खर्ब ८९ अर्ब अर्थात ४६.३४ प्रतिशत मात्रै खर्च भएको छ । त्यस्तै सरकारले उक्त वर्ष कुल राजस्व संकलनको लक्ष्य ११ खर्ब १२ अर्बको लक्ष्य राखेकोमा त्यसको साढे ७५ प्रतिशत मात्रै संकलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाउँछ । लकडाउनकै कारण पुँजी बजारको कारोबार पनि करीब ३ महिनासम्म बन्द नै रह्यो ।

राहतमा सरकारको कदम

कोरोना भाइरसकै कारण समस्यामा परेका व्यवसायी तथा उद्योगीहरुलाई सरकारले पनि राहत प्रदान गर्यो । सहुलियत कर्जा, पुनर्कर्जा लगायतका सुविधाहरु ल्याएर सरकारले राहत प्रदान गरेको छ । जसले निजी क्षेत्रका केही समस्याहरु समाधान पनि भएका छन् ।

कर तिर्ने समावधि थप, विद्युत महसुल मिनाह, दण्ड जरिवाना नगर्ने लगायत सुविधाहरुले उद्योगी व्यवसायीहरुले राहत प्रदान गरे । तर सरकारले गर्नु पर्ने काम भने प्रयाप्त छन् । देशको पर्यटन क्षेत्र अझै माथि उठ्न सकेको छैन । पर्यटन क्षेत्रलाई चलायमान बनाउनको लागि अझै पनि सरकारले प्रयाप्त काम गर्न सकिने अवस्था छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट ग्रस्त अर्थतन्त्रको व्यवस्थापन गर्न सरकारले उल्लेख्य काम गरेको बताए ।

सरकारको बजेट र राष्ट्र बैंकको मौद्रिक नीतिका कारण व्यवसायलाई सहज बाटोमा लिन सहज भएको उनको भनाई छ । लामो समयसम्को लकडाउन र निषेधाज्ञाले गत वर्ष दुई प्रतिशतले आर्थिक वृद्धि ऋणात्मक रह्यो भने यो वर्षको पहिलो तीन महिनामा साढे चार प्रतिशतले ऋणात्मक रह्यो, तर दोस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा सुधार आउन सुरु भएको छ, राहातमा पनि सरकारले राम्रो काम गर्यो,’ उनले भने ।

सरकारले निजि र सरकारी अस्पताललका स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता पनि उपलब्ध गराएको छ । जसले उनीहरुलाई काम गर्न झन प्रोत्साहन मिल्यो । देशभर बढाएको पीसीआर परीक्षण ल्याबदेखि क्वारेन्टिन निर्माणमा पनि सरकारले उल्लेख्य काम गरेको छ ।

अर्थविद् तथा आर्थिक विश्लेषकहरुले अझै लकडाउन भए मुलुकको अर्थतन्त्र धरासायी बन्ने बताइरहेका छन् । यस अगाडि लामो समयसम्म भएको लकडाउनले सिर्जना गरेको आर्थिकमन्दी सामान्य अवस्था नहुँदै लकडाउन भए देश ठूलो आर्थिक चपेटामा पर्ने उनीहरुको तर्क छ ।

प्रविधिमा फड्को

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले विश्वलाई नै सिकाएको पाठ भनेकै प्रविधिको प्रयोग हो । कोरोना भाइरसकै कारण उत्पन्न लकडाउनको समयमा घरभन्दा बाहिर निस्किन नसकेका सर्वसाधारणलाई एक अर्कामा सञ्चार र काम सहज गर्ने गतिलो माध्यम प्रविधि बन्यो । जसको कारणले मानिसले आफुलै दैनिक रुपमा गर्दै आएका कामहरु त्यसबाटै गर्न सफल भए ।

बैंक वित्तीय संस्थाहरुले होस् वा अन्य कुनै कार्यालयहरुले नै किन नहोस् उनीहरुले प्रविधिको प्रयोग बढाएर नियमित रुपमा कामलाई अगाडि बढाए । लकडाउनै समयमा अनलाइन मिटिङदेखि इन्टरनेटमै अर्थात घरबाटै कामहरु गर्न मानिसहरु सक्षम भए । लकडाउनपछि प्रविधिको प्रयोग पहिलेको भन्दा धेरै बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि प्रविधिको प्रयोग बढाएर आफ्ना ग्राहकहरुलाई सहज र सरल बैंकिङ सुविधा उपलब्ध गराए ।

अधिकांश शैक्षिक संस्थाहरुले अनलाइनबाट पठनपाठन गरे । जसले गर्दा शिक्षक र विद्यार्थीहरुलाई प्रविधिसँगको दूरी कम गरायो ।

फेरि लकडाउन हुने त्रास

अहिलेसम्म नेपालमा कोभिड–१९ का २ लाख ७६ हजार ३ सय ८९ संक्रमितहरू पुष्टी भएका छन् । कोभिड–१९ संक्रमितमध्ये ३ हजार २० जनाको मृत्यु भएको छ । हाल १ हजार १ सय ८२ सक्रिय संक्रमित छन् ।

छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले नेपालमा पनि फेरि बढेर सरकारले लकडाउन गर्ने होकि भन्ने वहश चौतर्फि रुपमा भइरहेको छ । तर, सरकारले भने हालसम्म लकडाउन बारे कुनै योजना नबनाएको बताइसकेको छ ।

तर, सतर्कता अपनाउन भने सरकारले सुझा पटक–पटक दिँदै आएको छ । गत वर्ष पनि भारतमा कोरोना संक्रमितको संख्या बढसँगै पछि नेपालमा पनि बढेका थिए । गृहमन्त्रालयका सुचना अधिकारी खुमकान्त आचार्य तत्कालै लकडाउनको योजना नभएको बताउँछन् ।

‘अझै पनि कोरोना भाइरसको संक्रमण कायमै छ, छिमेकी राष्ट्र भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ, हामी सबैले सतर्कता अपनाउनु पर्छ,’ उनले भने । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै भीडभाड हुने कार्य नगर्नरनगराउन अनुरोध गरिसकेको छ ।

यस्तै सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले विभिन्न जिल्ला तथा स्वास्थ्य संस्थाहरुलाई क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

भारतबाट स्वदेश फर्किनको घुइँचो

भारतमा कोरोनाको संक्तमण बढेसँगै भारतमा कामका लागि गएकाहरु स्वदेश फर्किने क्रम पनि बढ्दै गएको छ । देशका विभिन्न नाकाहरुबाट स्वदेश फर्किनेहरु अहिले बढ्न थालेका हुन् ।

नेपाल फर्कनेको संख्या बढे पनि सरकारले नाकामा भने कुनै सतर्कता र सुरक्षाका विधिहरु अपनाएको छैन । पछिल्लो समय भारतबाट आउने नेपालीहरुमा कोरोना भाइरस संक्रमण देखिएको पनि बताइएको छ । भारतबाट आएका नेपालीमा संक्रमण देखिएपछि सरकारले नाकामा कडाइ गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

Share News