काठमाडाैं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यस अघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्यप्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।
समितिका निर्णयहरु सुनाउँदै सभापति कल्याणी कुमारी खड्काले भनिन्, ‘आयोजना पूर्वतयारीका काम सम्पन्न नगरी ठेक्का नलगाउन समितिले यस अघि नै मन्त्रालयहरुलाई र सम्बन्धित निकायलाई निर्देशन दिएको विषयमा पुन स्मरण गराउँदै आगामी दिनमा सोही अनुसार प्रक्रिया पुरा गरी आयोजनाको काम अगाडि बढाउन र कडाईका साथ समितिको निर्देशनलाई कार्यान्वयन गरी काम अगाडि बढाउन समिति नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन गर्दछ ।’
हनुमन्ते कोरिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिएपनि मध्यपुरथिमि र सुर्यविनायक नगरपालिका भित्रका केही स्थानमा देखिएका समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित सबैलाई समितिले सुझाव समेत दिएको छ ।
कोरिडोर निर्माणका क्रममा नागरिकको जग्गा समेत पर्ने भएकोले सम्पत्तिको हक संरक्षण गरी जग्गा एकीकरण योजना मार्फत सुनिस्चित गर्ने र अन्य समस्या समाधानका लागि समितिले समेत पहल गर्ने निर्णय बैठकले गरेको सभापति खड्काले बताइन् ।