काठमाडाैं । राष्ट्रिय ट्रमा सेन्टरमा खानेपानी जडान गरेसँगै अस्पताल वार्षिक ३६ लाख फाइदा भएकाे अस्पतालले बताएकाे छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सन्ताेष पाैडेलले खानेपानी जडान गर्नुअघि अस्पतालमा मासिक ३ लाख रुपैयाँकाे जारकाे पानी किन्नुपर्ने वाध्यता रहेकाे बताए ।
अस्पतालले लकडाउन अघि उपकार सेवा नेपालकाे सहयाेगमा अस्पतालमा कार्यरत सबै कर्मचारी, बिरामी र कुरुवाकाे लागि प्रशाेधित शुद्ध पिउने पानी जडान गरेकाे पाैडेलले जानकारी दिए ।
यसकाे जडानसँगैं बिरामी र कुरुवाकाे दैनिक मिनिरल वाटरमा भएकाे खर्च पनि हटेकाे उनकाे भनाइ छ । यसअघि अस्पतालमा शुद्ध पिउने पानीकाे व्यवस्था नहुँदा बिरामी, कुरुवा र अस्पतालका कर्मचारीहरु बाेतलकाे पानी किनेर खान बाध्य थिए ।
अस्पतालले जडान गरेकाे वाटर प्लान्ट ट्रिपल फिल्टरेसन सिस्टम आर्वाे जडान गरिएकाे उपकार सेवा नेपालले जानकारी दियाे । उक्त सिस्टमले पानीलाई फिल्टर मात्र नभएर पानीमा मानव शरीरलाई चाहिने सबै मिनिरल्स राखिरहने बताइएकाे छ । उक्त पानी देशकाे विभिन्न ठाउँमा परीक्षण गराएर पिउने याेग्य रहेकाे पुष्टि भएकाे छ ।
उक्त प्लान्टले प्रतिघण्टा ५०० देखि ७०० लिटर पानी फिल्टर गरेर अस्पतालकाे प्रत्येक तल्लामा पुराउने गरेकाे छ ।
अस्पतालले बिहीबार उक्त प्लान्टकाे उद्घाटन गरेकाे थियाे ।