सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?

<p>काठमाडौं । रियल सेक्टरका कम्पनीहरु पुँजी बजारमा आएनन् भनेर गुनासो भइरहेको समयमा सर्वाेत्तम सिमेन्ट पुँजी बजारमा आउने अन्तिम तयारीमा छ । तर, यो कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आइपिओ जारी गर्न लागेको छ । अहिलेसम्म प्रतिकित्ता अंकित मूल्य (सामान्यतः प्रतिकित्ता सय रुपैयाँ) मा र प्रिमियम मूल्यमा आइपिओ जारी हुँदै आएकोमा सर्वाेत्तमले भने बुक [&hellip;]</p>

काठमाडौं । रियल सेक्टरका कम्पनीहरु पुँजी बजारमा आएनन् भनेर गुनासो भइरहेको समयमा सर्वाेत्तम सिमेन्ट पुँजी बजारमा आउने अन्तिम तयारीमा छ ।

तर, यो कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आइपिओ जारी गर्न लागेको छ । अहिलेसम्म प्रतिकित्ता अंकित मूल्य (सामान्यतः प्रतिकित्ता सय रुपैयाँ) मा र प्रिमियम मूल्यमा आइपिओ जारी हुँदै आएकोमा सर्वाेत्तमले भने बुक विल्डिङ प्रक्रियाबाट आइपिओ जारी गर्न लागेको हो ।

अहिलेसम्म नेपालमा बुक विल्डिङ प्रक्रियाबाट आइपिओ जारी हुन लागेको यो नै पहिलो पटक भएको धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी बताउँछन् । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले यसैपाली बुक विल्डिङ निर्देशिका २०७७ जारी गरेपछि सर्वाेत्तम सिमेन्टले सोही प्रक्रियाबाट आइपिओ जारी गर्ने तयारी अन्तिम अवस्थामा पुर्याएको हो ।

के हो बुक विल्डिङ प्रक्रिया ?

बोर्डले जारी गरेको निर्देशिका ‘बुक विल्डिङ विधि भन्नाले संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया सम्झनु पर्छ’ भनेर परिभाषा खण्डमा लेखिएको छ ।

यसलाई अझ सजिलो हुने गरी यसरी बुझौं ।

जस्तो कि कुनै कम्पनीले आइपिओ जारी गर्न लाग्यो भने सो कम्पनीले पुँजी बजारका संस्थागत लगानीकर्तालाई आफ्नो कम्पनीको सबै विवरण उपलब्ध गराउँछ । सबै विवरण पाएपछि संस्थागत लगानीकर्ताले सो कम्पनीको सेयर आफूले यति मूल्यमा किन्न सक्ने भनेर जानकारी आइपिओ जारी गर्ने कम्पनीलाई गराउँछन् ।

संस्थागत लगानीकर्ताले आइपिओ जारी गर्ने कम्पनीको मूल्य प्रस्ताव पठाउनुअघि आफ्ना विशेषज्ञलाई कम्पनीको वित्तीय अवस्था, आगामी योजना, सम्भावित प्रतिफल, कम्पनीको संचालक समिति र व्यवस्थापनको नेतृत्व गरिरहेका अधिकारीहरुको विगतदेखिको कार्यसम्पादनका आधारमा अब कस्तो कम्पनी बन्ला भन्ने विश्लेषण, दोस्रो बजारमा कम्पनीको सेयरले पार्ने प्रभाव लगायतका विषयको विश्लेषण गर्छन् । यस्तो विश्लेषणबाट प्राप्त नतिजाको आधारमा संस्थागत लगानीकर्ताले आइपिओ जारी गर्ने कम्पनीको आइपिओ आफूले यति मूल्यमा किन्ने भनेर प्रस्ताव पठाउने गर्छन् ।

यसरी विभिन्न संस्थापक लगानीकर्ताबाट प्राप्त भएको आइपिओको मूल्यको औसत मूल्य आइपिओ जारी गर्ने कम्पनीले निकाल्छ । यसरी निकालिएको मूल्य नै आसय हुन्छ । यो आसय मूल्य तय हुने प्रक्रिया नै बुक विल्डिङ विधिबाट आइपिओको मूल्य तय हुने विधि वा प्रक्रिया हो ।

कतिवटा लगानीकर्ताले तय गरेपछि निर्धारण हुन्छ आसय मूल्य ?

निर्देशिकाले यसको पनि निक्र्योल गरेको छ । कम्तिमा १० वटा संस्थागत लगानीकर्ता सहभागी भएर उनीहरुले मूल्य प्रस्ताव गरेपछि आसय मूल्य तय हुन्छ । अर्थात सर्वाेत्तम सिमेन्टको हकमा पनि कम्तिमा १० संस्थागत लगानीकर्ताले पठाएको मूल्यको औसत निकालेपछि आसय उसको आइपिओको आसय मूल्य तय हुन्छ ।

को हुन् संस्थागत लगानीकर्ता ?

बुक विल्डिङ निर्देशिका २०७७ ले बुक विल्डिङ प्रक्रियामा सहभागी हुनको लागि योग्य संस्थागत लगानीकर्ता पनि तोकेको छ । निर्देशिका अनुसार (क) सूचिकृत संगठित संस्था, (ख) विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, (ग) सामूहिक लगानी कोष व्यवस्थापक, (घ) सामूहिक लगानी कोषका योजना, (ङ) मर्चेन्ट बैंकर, (च) मान्यता प्राप्त अवकाश कोष, (छ) बोर्डले समय समयमा तोकेका अन्य कोष वा कम्पनी वा संस्थालाई योग्य संस्थागत लगानीकर्ता भनिएको छ ।

यस्तै, बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन सम्बन्धी अन्य व्यवस्था बोर्डले निर्देशिकामा तोके बमोजिम हुनेछ भनिएको छ । यो भनेको धितोपत्र व्यापार र धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनी हुन् । यी दुबै प्रकारका कम्पनीको नेटवर्थ कम्तिमा पनि १० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

कस्ता कम्पनीले पाउँछन् बुक विल्डिङ विधिबाट आइपिओ जारी गर्न ?

यसको पनि मापदण्ड बनाइएको छ । बोर्डले (क) संगठित संस्था विगत तीन आर्थिक बर्षदेखि लगातार खुद नाफामा संचालनमा रहेको, (ख) संगठित संस्थाको साधारणसभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको, (ग) संगठित संस्थाको प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत रहेको, (घ) संगठित संस्थाले कम्तिमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

योग्यता पुगेका संगठित संस्थाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । यसरी प्राप्त भएको खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्ने हुन्छ ।

योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको सेयर नेप्सेमा सूचिकरण भएको मितिले छ महिनासम्म बिक्री वा हस्तान्तरण गर्न भने पाइदैन । तर, सर्वधारणको हकमा भने यस्तो बन्देज छैन ।

सर्वसाधारणलाई १० प्रतिशत सस्तो

बुक विल्डिङ प्रक्रियाद्वारा तय भएको आधार मूल्य संस्थागत लगानीकर्ताको हकमा हो । सर्वसाधारणले भने यसरी तय भएको मूल्यमा १० प्रतिशत सस्तोमा आइपिओ किन्न पाउँछन् ।

कति कित्ता किन्नुपर्छ ?

अहिले आइपिओ हाल्नको लागि कम्तिमा एक हजार रुपैयाँ भए हुन्छ भन्ने जस्तो सन्देश प्रवाह भएको छ । किनभने धितोपत्र बोर्डले कम्तिमा १० कित्ताको लागि आइपिओ माग गरे हुने भनेको छ भने कम्तिमा १० कित्ताका दरले पुगेजति सबैलाई आइपिओ बाँडफाँड गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।

तर, बुक विल्डिङ प्रक्रियाबाट आइपिओ जारी गर्ने कम्पनीको १० कित्ता किनेर हुँदैन । सर्वसाधारणले पनि यस्तो आइपिओ कम्तिमा पनि ५० कित्ता किन्नको लागि आवेदन दिनुपर्ने भनिएको छ ।

सर्वाेत्तमको आइपिओको मूल्य कति ?

सर्वाेत्तम सिमेन्टले बुक विल्डिङ प्रक्रियाबाट निष्कासन गर्न लागेको आइपिओको आधार मूल्य प्रतिकित्ता ७५० रुपैयाँ तोकिएको छ । तर, अहिले भनिएको यो मूल्य नै अन्तिम नहुन पनि सक्छ । किनभने कम्पनीले भनेको यो ७५० रुपैयाँ मूल्य अण्डरराइटर कम्पनीहरुले तय गरेको मूल्य हो ।

संस्थागत लगानीकर्ताबाट सर्वाेत्तम सिमेन्टले प्राप्त गरेको आसय मूल्यका आधारमा प्रतिकित्ता ७५० रुपैयाँ नै आधार मूल्य तय भएपनि सर्वसाधारणको लागि योभन्दा १० प्रतिशत सस्तो अर्थात प्रतिकित्ता ६७५ रुपैयाँ हुनेछ ।

तर, सर्वाेत्तम सिमेन्टले मेरो आइपिओको आसय मूल्य यति यति प्राप्त भयो, त्यसको आधारमा आधार मूल्य यति हो भनेर नियामक निकाय धितोपत्र बोर्डमा कुनै जानकारी गराएको छैन । कम्पनीले प्राप्त गरेको आसय मूल्यका आधारमा तय भएको आधार मूल्यप्रति पनि नियामक निकाय धितोपत्र बोर्डले थप अध्ययन गर्न सक्ने अवस्था रहन्छ । त्यसैले सर्वाेत्तम सिमेन्टको बुक विल्डिङ प्रक्रियाबाट जारी हुने आइपिओको मूल्य कति हो भनेर यकिन भइसकेको छैन । यद्यपि कम्पनीले आफ्नो आधार मूल्य प्रतिकित्ता ७५० रुपैयाँ नै हो भनेर दाबी गरेको छ ।

किन ७५० रुपैयाँ ?

आफ्नो कम्पनीको आइपिओको मूल्य ७५० रुपैयाँ नै हुनुका पछाडि कम्पनीले १५ कारण रहेको दाबी गरेको छ । सर्वाेत्तम सिमेन्टले दाबी गरेका १५ वटा आधार यस्ता छन्ः

१. कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता ३ हजार मेट्रिक टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन क्षमता र कम चुक्ता पूँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने ।

२. कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउदै आएको र विगत ३ वर्षको औषत नाफा (कर पछिको) वार्षिक १ अर्ब ४ करोड रुपैयाँभन्दा वढी भएको ।

३.विगत तीन वर्षको औषत इपीएस ५२ रुपैयाँ रहेको र आगामी तीन वर्षको औषत इपीएस ४५ रुपैयाँभन्दा वढी प्रक्षेपित गरिएको ।

४. कम्पनीको रिजर्भमा २०७७ माघ मसान्तसम्म २ अर्ब ३१ करोड रुपैयाँभन्दा वढी रहेको ।

५. हाल कम्पनीको सम्पति २० अर्ब रुपैयाँ रहेको ।

६. आगामी ३ वर्षसम्म आयकरमा ५ प्रतिशत छुट पाउने भएकोले वढी प्रतिफल दिनसक्ने ।

७. आइपिओबाट प्राप्त रकममध्ये ४० प्रतिशतले ऋण भूक्तानी गरी शतप्रतिशत ऋण मुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर हुने भएकाले, यसबाट ४ बर्षपछि बार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढि हुन जाने प्रक्षेपण गरिएकाले ।

८. आइपिओ जारी पश्चात पहिलो ३ महिनाभित्रै १० प्रतिशत वोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएकोले सो वापत झण्डै १०० रुपैयाँ प्रतिसेयरको आम्दानी तत्कालै हुने ।

९. सेयरधनीले तिरेको ६५० रुपैयाँ प्रिमियमको १५ प्रतिशतले हुन आउने प्रतिसेयर ९७.५० रुपैयाँ कम्पनीको रिजर्भमा रहने भएकोले सो वापत थप वोनस सेयर जारी हुने संभावना रहेको ।

१०. इक्राबाट आइपिओ रेटिङ्ग थ्रीबीप्लस पाएकोले कम्पनी लगानीकर्ताको लागि औषतभन्दा बढी राम्रो रहेको । साथै इक्रा रेटिङ्ग अनुसार कम्पनीको चुनढुंगा तथा ढुवानीको लागत अन्य सिमेन्ट उद्योगकोभन्दा कम रहेकोले कम्पनीले बढी प्रतिफल दिन सक्ने ।

११. संस्थागत लगानीकर्तालाई ७५० रुपैयाँ मूल्य तोकिएकोमा सर्वसाधारणले ७५० मा १० प्रतिशत घटाई ६७५ रुपैयाँमा सेयर पाउने भएकोले सर्वसाधारण लगानीकर्तालाई सहुलियत भएको ।

१२. कम्पनीले आफ्नो हालसम्मको रिजर्भबाट १० प्रतिशत वोनस सेयर र २५ प्रतिशत नगदा लाभांश दिने भएकोले, सेयर खरिदको तीन महिना भित्रै लगभग १०० रुपैयाँ बराबरको प्रतिफल प्राप्त हुने । यसरी सर्वसाधारण लगानीकर्ताको सेयर मुल्य ५७५ रुपैयाँ मात्र पर्न जाने ।

१३. २५ बर्षभन्दा बढी सिमेन्ट उद्योग सञ्चालन गरेका अनुभवी सञ्चालकहरुबाट सञ्चालित उद्योग भएकाले, संचालन लगात न्यून रहेकाले ।

१४. डेनमार्कवाट आयातित अत्याधुनिक भीआरएम प्रविधिवाट सिमेन्ट उत्पादन गर्दा विद्युतमा ३० प्रतिशत वचत हुने तथा कोइला खपतमा २० प्रतिशतसम्म वचत हुने भएकाले लागत कम भई बढी प्रतिफल दिने ।

१५. कम्पनीसँग ९० वर्ष पुग्ने चुनढुङा खानी रहेकोले उत्पादन क्षमता वढाउदै लैजान सजिलो रहेको ।

Share News