काठमाडौं । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई भेन्टिलेटरबाट निकालिएको छ । जोशीको अवस्थामा सुधार आएको र उनी आफैंले सास फेर्न थालेपछि उनलाई भेन्टिलेटरबाट निकालिएको अस्पतालले जानकारी दिएको छ ।
उनको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि उनले सामान्य रुपमा सास फेर्न थालेका छन् ।
‘यो भनेको अनपेक्षित सुधार हो ।’ डा. झाले भने- ‘जोशीको स्वास्थ्यमा यति चाँडै यति राम्रो सुधार होला भन्ने लागेको थिएन ।’
सोमबार बिहानदेखि उहाँलाई मेसिनले सास फेराउने कामलाई घटाउँदै लगिएको थियो । अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रुपमा भेन्टिलेटरबाट निकालिएको हो ।
सुरुवातमा मष्तिष्कघातका कारण उनको बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको थियो । तर, बिहीबार साँझदेखि उनले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थालेका छन् । तर, प्यारालाइसिस नै नभएको भनेर भनिहाल्ने अवस्था भने नरहेको चिकित्सकहरुको भनाई छ ।
बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिएको थियो । यहीकारण पनि जोशीलाई चाँडै भेन्टिलेटरबाट निकाल्न सकिएको डा. झाले बताए ।