काठमाडौं । मष्तिष्कघात भई शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।
नेता जोशीको अवस्थामा सुधार भएपछि हिजो(सोमबार) बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।
‘सोमबार बिहानदेखि उनले आफैंले सास फेरिरहनुभएको छ । मेसिनले सास फेराउनु परेको छैन ।’ डा. झाले भने- ‘उनको रक्तचाप पनि निकै कम थियो, औषधिको प्रयोगबाट त्यो नर्मलभन्दा पनि राम्रोतर्फ गइरहेको छ ।’
बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिने डा. झाले बताएका छन् । ‘यस्ता गम्भीर बिरामीलाई श्वास फेराउन मुखबाट लामो पाइप हाल्न नपरोस् भन्ने उद्देश्यले घाँटीमा सानो प्वाल पार्ने सर्जरी गर्न लागेका हौं ।’ उनले भने- ‘त्यसपछि उहाँलाई हामीले बिस्तारै भेन्टिलेटरबाट निकाल्न सक्छौं कि भन्ने आशा पलाएर आएको छ ।’
डा. झाका अनुसार नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि खतरामुक्त भने भइसकेको होइन । ‘मष्तिष्कघात हुने व्यक्ति उपचारपछि खतरामुक्त हुन ३ देखि ४ हप्ता समय लाग्छ ।’ झाले भने- ‘अहिलेको अवस्थालाई हामी भेन्टिलेटर सपोर्टसहितको स्पोन्टेनियस मोड भन्छौं ।’