बीएण्डसीलाई एमवीवीएस शिक्षण अनुमति दिने निर्णयप्रति काँग्रेसको आपत्ति

<p>काठमाडौं । प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई एमवीवीएस शिक्षण अनुमति दिन लागिएकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । कामचलाउ सरकारका शिक्षामन्त्रीको ठाडो निर्देशनमा ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरित विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना नगर्न काँग्रेसले भनेको छ । ‘कामचलाउ सरकारका शिक्षामन्त्रीको ठाडो निर्देशनमा झापास्थित प्रस्तावित बीएण्डसी कलेजलाई [&hellip;]</p>

काठमाडौं । प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई एमवीवीएस शिक्षण अनुमति दिन लागिएकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

कामचलाउ सरकारका शिक्षामन्त्रीको ठाडो निर्देशनमा ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरित विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना नगर्न काँग्रेसले भनेको छ ।

‘कामचलाउ सरकारका शिक्षामन्त्रीको ठाडो निर्देशनमा झापास्थित प्रस्तावित बीएण्डसी कलेजलाई एमबीबीएसको सम्बन्धन दिने काठमाडौं विश्वविद्यालयसभाको निर्णयप्रति नेपाली काँग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको छ, नेपाल सरकार आफैले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरित बारम्बार यस्ता हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा हो, शिक्षामन्त्री स्वयमले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना नगर्न नेपाली काँग्रेस शिक्षा विभाग सचेत गराउँदछ, अन्यथा यसको परिणाम दुःखद हुने जानकारी गराइन्छ,’ काँग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

केही दिनअघि मात्रै काठमाडौं विश्वविद्यालयको सभाले सो कलेजलाई एमबीबीएस अध्यापन अनुमतिको लागि चिकित्सा शिक्षा आयोगमा सिफारिस गर्ने निर्णय गरेको थियो । सो कलेज नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट भनेर चर्चा गरिएका व्यवसायी दुर्गा प्रसाईले संचालन गरेका हुन् ।

प्रसाईले संचालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । चिकित्सा शिक्षा सुधारका लागि आवाज उठाउँदै आएका अभियान्ता डा. गोविन्द केसीले पनि सो कलेजलाई एमबीबीएस अध्यापन अनुमति नदिन आग्रह गर्दै आएका छन् ।

अहिलेको व्यवस्था अनुसार एउटा विश्वविद्यालयलाई बढीमा ५ वटा कलेजलाई मात्रै एमबीबीएस अध्यापन अनुमति दिन पाउने व्यवस्था छ । तर, काठमाडौं विश्वविद्यालयले यसअघि नै ५ भन्दा बढी कलेजलाई एमबीबीएस अध्यापन अनुमतिको सम्बन्धन दिइसकेको छ । यद्यपि, बीएण्डसीले सम्बन्धनको अनुमतिका लागि अहिलेको कानुन बन्नुभन्दा अगाडि नै प्रक्रिया सुरु गरिसकेकोले यो विषय विवादास्पद बनेको छ ।

Share News