काठमाडौं । सिन्धुपाल्चोकका जुरे पहिरो पीडितले उचित क्षतिपूर्ति नपाएपछि आन्दोलन गर्ने भएका छन् । सिन्धुपाल्चोकस्थित बलेफी गाउँपालिकाका जुरे पहिरो पीडितलाई रकम वितरण गर्न खोज्दा गृह मन्त्रालयले रोकेपछि गाउँले आन्दोलनको तयारीमा गरेका छन् ।
जुरे पहिरो पीडितले फागुन ८ गते माइतिघरमा आन्दोलन गर्दैछन् । २०७१ सालमा सिन्धुपाल्चोकको जुरे पहिरोमा १ सय ४५ जनाले ज्यान गुमाएका थिए भने धेरै घरबार बिहिन भएका थिए । त्यसबेला पीडितहरूको सहयोगार्थ आर्थिक संकलन गर्ने अभियान चलाइएको थियो । उक्त कोषमा २ करोड २४ लाख रुपैयाँ रकम जम्मा भएको थियो ।
यो रकम जिल्ला विपद व्यवस्थापन समीतिमा जम्मा गरिएको छ । उक्त रकम पीडितलाई गृह मन्त्रालयले नबाड्न निर्देशन दिएपछि पीडितले विरोध जनाएका हुन् । पहिरो पीडितले यसअघि भुकम्पबाट भत्किएको घर बनाउन पैसा लिईसकेको कारण पैसा नबाड्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
‘जनताबाट संकलन भएको पैसा सरकारले बाड्न नदिएका कारण माइतीघरमा आन्दोलन गर्न बाध्य भयौं ।’ गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले प्रतिक्रिया दिए ।
पहिरोपछि जुरेबासीलाई भूकम्पले थप असर गरेको थियो । भुकम्पमा घर बनाउन ३/३ लाख रुपैयाँ सरकारले प्रदान गरेको थियो । भुकम्प पीडितलाई घर बनाउने पैसा दिई सकेको भन्दै गृह मन्त्रालयले उक्त कोषमा संकलित रकम बाँड्न रोकेको हो । यो रकम वितरण गर्नका लागि गाउँपालिकाले सिन्धुपाल्चोक सीडीओ कार्यालयमा पत्र पनि पठाएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले बताए ।