एजेन्सी । विश्व व्यापार संगठन (डब्ल्युटिओ) ले इतिहासमै पहिलो पटक महिला प्रमुख पाएको छ । उक्त पदमा पुग्ने भाग्यमानी अफ्रिकी महिला हुन्, नाइजेरियाकी पूर्व अर्थमन्त्री डा.एन्गोजी ओकोन्जो इवेला ।
लामो समयको अन्यौलता चिर्दै उनी डब्ल्युटिओको महानिर्देशक जस्तो सम्मानित पदमा नियुक्त भएकी हुन् ।
‘मलाई एकदमै गर्व लागेको छ, म सेवा दिनमा तत्पर छु,’ डब्ल्युटिओको प्रमुखमा नियुक्त भएपछि बेलायती मिडिया द गार्जियन सँग खुसी व्यक्त गर्दै इवेलाले भनेकी छन् ।
उनले कोरोना भाइरसको महामारीले निम्त्याएको संकटलाई समाधान गर्र्न पहल गर्ने बताएकी छन् । इवेलाले आफूले आफैलाई योद्धाका रुपमा चिनाएकी छन् । गरिब मुलुकहरुलाई सहयोग पु¥याउने उनले प्रतिबद्धता जनाएकी छन् ।
यस्तै, विकास र जलवायु परिवर्तनका मुद्दाहरूलाई पनि उनले पहिलो प्राथमिकतामा राखेकी छन् । उनलाई जिताउन डब्ल्युटिओका सदस्य राष्ट्रहरुले भर्चुअल विधिबाट भोट हालेका थिए । आगामी मार्च १ देखि उनले आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । उनको कार्यकाल सन् २०२५ को अगस्ट ३१ सम्म रहनेछ ।
विश्वभर फैलिएको कोभिड –१९ को असरले अर्थतन्त्र थिलथिलो बनाएको थियो । कोभिडको असरले आर्थिक संकटबाट गुज्रिरहेका मुलुकहरुलाई राहत प्रदान गर्ने जिम्मेवारी पाएको डब्ल्युटिओ आफै संकटमा परेको थियो । अहिले पनि डब्ल्युटिओका अगाडी थुप्रै जिम्मेवारी र चुनौतीका चाङहरु छन् । सबै मिलेर काम गरे अझ उपलब्धी हासिल गर्न सकिनेमा उनले विश्वास गरेकी छन् ।
सुरुमा त इवेलालाई ट्रम्प प्रशासनले असहमति जनाएको थियो । हालै अमेरिकाका नयाँ राष्ट्रपति जोइ बाइडेनको प्रशासनले भने उनलाई समर्थन ग¥यो । गत सोमबार डब्ल्युटिओका १ सय ६४ जना सदस्यहरुले इवेलालाई महानिर्देशक पदमा चुनेका हुन् । उनको कार्यकाल चार वर्षको रहनेछ । हाल डब्ल्युटिओको बजेट २ सय २० मिलियन डलर रहेको छ, जहाँ ६ सय ५० जना स्टाफहरु कार्यरत छन् ।
हालका अध्यक्ष रोबर्टो एजेभेडोको कार्यकाल सकिएपछि इवेलालाई महानिर्देशक पदका लागि प्रस्ताव गरिएको थियो । अमेरिका बाहेक अन्य राष्ट्रहरुले उनको समर्थन गरे । अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्युटिओ चीनमुखी भएको आरोप लगाउँदै इवेलालाई समर्थन गरेनन् । बरु ट्रम्प प्रशासनले दक्षिण कोरियाकी व्यापार मन्त्री यु युङ हिलाई महानिर्देशक पदका लागि अघि सारेको थियो । पछि युले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी थिईन् ।
विश्वकै पहिलो आर्थिक महाशक्तिको दौडमा रहेका वासिङटन र बेइजिङबीच बढ्दो दुरीलाई डा. इवेलाले जोड्ने अपेक्षा गरिएको छ । दुई पटक नाइजेरियाको अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी इवेलाले मुलुकको ऋण घटाउन महत्वपूर्ण भूमिका खेलेकी छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै तत्कालिन कार्यकारी निर्देश्क रोबर्टो अजिभेडाले राजीनामा गरेपछि डब्ल्युटिओको नयाँ प्रमुखको नियुक्ति रोकिएको थियो ।
यस्तो छ इवेलाको पृष्ठभूमि
६६ वर्षीया अर्थशास्त्री इवेलाले यसअघि विश्व बैंकमा महत्वपूर्ण पदमा रहेर जिम्मेवारी सम्हालेकी थिइन् । अर्थशास्त्री र अन्तर्राष्ट्रिय डेभ्लप्मेन्ट एक्सपर्ट इवेला स्ट्यान्डर्ड चार्टड बैंक, ट्वीटर, ग्लोबल अलायन्स फर भ्याक्सिन, अफ्रिकन रिस्क क्यापासिटीको बोर्डमा बसेर काम गरिसकेकी छन् । २५ वर्ष उनले विश्व बैंकमा महत्वपूर्ण पदमा रहेर काम गरिन् । नाइजेरियाको उनी पहिलो महिला अर्थ मन्त्री हुन् ।
नाइजेरियाका डेल्टा राज्यमा जन्मिएकी डा. इवेलाका बुबा प्रोफेसर हुन् । नाइजेरियाकै क्वीन्स स्कुलमा उनको प्रारम्भिक शिक्षादिक्षा भयो । त्यसपछि उनी सन् १९७३ मा हाभर्ड युनिभर्सिटी पुगिन् । सन् १९८१ मा उनले अमेरिकाको म्यासाचुसेट्स इन्सिटिच्युट अफ टेक्नोलोजीमा रिजनल इकोनोमिक्स विषयमा विद्यावारिधि हासिल गरेकी छन् । नाइजेरियाको एबिया राज्यका न्युरोसर्जन इकेम्बासँग विवाह गरेकी इवेलाका चार सन्तान छन् । सन् २०१९ मा उनले अमेरिकाको नागरिकता लिइसकेकी छन् ।
उनले विश्वका चौध वटा प्रतिष्ठित विश्वविद्यालयबाट मानार्थ डिग्री हासिल गरेकी छन् । अफ्रिकन अफ द इयर, ग्लोबल लिडरसिप अवार्ड, ग्लोबल फाइनान्स मिनिस्टर अफ द इयर, टाइम्स युरोपियन हिरोज् अवार्ड जस्ता प्रतिष्ठित अवार्ड पाईसकेकी छन् । थुप्रै संघसंस्थामा पनि उनको आवद्धता छ ।