नेपालको सन्दर्भमा बैंकिङ क्षेत्र दुई दशक यता एउटा यस्तो क्षेत्रको रुपमा स्थापित भइसकेको छ जसले लाखौंको संख्यामा रोजगारी सिर्जना गरिरहेको छ । यस्तै, कैयौं लगानीकर्तालाई वर्षैपिच्छे मुनाफा प्रदान गर्दै, व्यापार व्यवसाय गर्न चाहनेका लागि लगानीको वातावरण बनाइदिँदै आएको छ । अनि राजस्वको रुपमा सरकारलाई करोडौं रकम बुझाउँदै देश र जनतालाई आत्मनिर्भर बनाउन धेरै हदसम्म सफल पनि भएको छ ।
सायद बैंकिङ क्षेत्र एउटा इज्जतिलो क्षेत्रको रुपमा स्थापित भइसकेको कारणले गर्दा नै हुनुपर्छ, यस क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवा जमातको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । एकातर्फ यसरी यो क्षेत्रमा प्रवेश गर्न चाहनेहरु धेरैको संख्यामा भेटिन्छन् भने अर्कोतिर आफ्ना लागि बैंकिङ क्षेत्र पटक्कै सुहाएन भन्ने चिन्ताले बैंकको जागिर छाडेर अन्य कुनै क्षेत्रमा भविष्य खोज्नुपर्छ भन्नेहरु पनि भेटिइरहेका हुन्छन् ।
त्यसो भए के हो त बैंकिङ क्षेत्र ? यो क्षेत्रलाई कस्ता बानी बेहोरा भएकाले रोज्ने ? तपाईं यदी यो क्षेत्रमा प्रवेश गर्न पाए हुन्थ्यो भनेर सोचिरहनुभएको छ भने तपाईंले आफूमा कस्तो बानीको विकास गर्ने भन्ने लगायतका कुरामा केन्द्रीत रहँदै केही टिप्स तयार पारेको छु । तपाईंलाई बैंकिङ क्षेत्र रोज्ने अथवा अन्यत्रै भविष्य खोज्ने भन्ने जिज्ञासाको केही हदसम्म भएपनि सरलताका साथ जवाफ दिनेछ ।
बैंकिङ क्षेत्रमा शत प्रतिशत नै वित्तीय पारदर्शिता हुने भएकोले तपाईं हिसाव किताबमा कत्तिको चनाखो हुनुहुन्छ, पारदर्शितामा कत्तिको विश्वास राख्नुहुन्छ, करोडौं रकम भित्रिने र बाहिरिने हुँदा कत्तिको गोपनियता कायम राख्न सक्नुहुन्छ भन्ने कुराले बैंकिङ क्षेत्रमा ठूलो अर्थ राख्ने गर्दछ । यदी तपाईंमा प्यारप्यार बोलिरहने, कुरा गोप्य राख्न नसक्ने लगायतका बानी छन् भने आजैबाट आफ्नो यी बानीहरुमा सुधार ल्याउनुहोस् ।
यो क्षेत्र एउटा अध्ययनशील क्षेत्र पनि हो । बैंकिङ सिस्टम, नेपाल रास्ट्र बैंकको डाइरेक्टिभहरु, सम्बन्धित बैंकको सर्कुलर लगायतका कुराहरु समय समयमा परिवर्तन भइरहने हुनाले तपाईंले आफूलाई सधै अध्ययनशील बनाइरहनु पर्ने हुन्छ ।
यो क्षेत्रमा स्टाफले कत्तिको मिहिनेत गरिरहेको छ भन्ने कुराले गहिरो अर्थ राख्ने भएकोले कार्यालय समयभन्दा थोरै बढी समय दिनुपर्दा पनि तपाईं बिना हिचकिचाहट तयार हुनुपर्ने हुन्छ ।
आफूलाई अरुभन्दा अव्वल देखाउन तपाईं कार्यालय समयभित्रै पुग्ने, प्रतिस्पर्धी बैंकहरुको योजना, बजारको अवस्था लगायतलाई नजिकबाट बुझ्ने लगायतका काम गर्न जरुरी हुन्छ । त्यसैले आफूलाई यस्ता कुराहरुका लागि हरक्षण तयार राख्नुपर्ने हुन्छ ।
सेवाग्राहीले तपाईंसँग बोल्ने वित्तिकै तपाईं र तपाईंको बैंकप्रति धारणा बनाउने हुनाले तपाईंले आफ्नो ड्रेसअप, बडि ल्याङ्वेज, बोल्नेशैली लगायतमा विशेष ध्यान पुर्याइरहनुपर्ने हुन्छ ।
बैंकिङ क्षेत्र एउटा अनुशासित क्षेत्र भएकोले तपाईं कत्तिको अनुशासित हुनुहुन्छ, आफूभन्दा सानालाई कत्तिको माया गर्नुहुन्छ अनि ठूलालाई कत्तिको आदर गर्नुहुन्छ भन्ने कुराले विशेष अर्थ राख्ने गर्दछ ।
बैंकिङ काम मुख्य रुपमा कम्प्युटरबाटै गरिने भएकोले गर्दा तपाईं कम्प्युटर, फोटोकपी मेशिन, स्क्यानर लगायतका प्रविधिहरुसँग राम्रो जानकार हुनुपर्ने हुन्छ ।
कामको शिलशिलामा तपाईंलाई कार्यालयले जतिवेला पनि जिम्मेवारी हेरफेर गर्नसक्ने भएकोले तपाईं त्यसका लागि हरदम तयार हुनुपर्ने हुन्छ ।
त्यसैगरी बैंकिङ क्षेत्र सिकेर कहिल्यै नसिद्धिने भएकोले तपाईंमा हरदम नयाँ कुरा सिक्ने जोश जाँगर कायम रहनुपर्ने हुन्छ ।
यस्तै, बानी व्यहोराहरु तपाईंलाई आफूमा लागू गर्न सक्छु जस्तो लाग्छ भने यो क्षेत्र पक्कै पनि तपाईंकै लागि हो । अन्यथा हतारमा जागिर खाएर फुर्सदमा पछुताउनु बाहेक अरु केही विकल्प तपाईंसँग बाँकी रहनेछैन ।