काठमाडौं । सरकारले तेस्रो चरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीलाई कोभिड –१९ विरुद्धको खोप लगाउने भएको छ । फागुन २ गतेदेखि तेस्रो चरणको खोप लगाउन सुरु गर्ने तयारी सरकारको छ ।
तेस्रो चरणमा बढी भिडभाड हुने सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत, पालिकाहरुका सबै कार्यालयहरुमा काम गर्ने कर्मचारी, बैंकका तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई खोप लगाउने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी जस्ता कोभिड– १९ नियन्त्रण र रोकथामको लागि फ्रन्ट लाइनमा खटिने व्यक्तिहरुलाई र दोस्रो चरणमा पत्रकार तथा संचारकर्मीलाई खोप लगाइएको थियो ।
तेस्रो चरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीलाई खोप लगाउनको लागि सरकारले प्रक्रिया थालेको छ । खोप लगाउनको लागि यो क्षेत्रमा रहेका कर्मचारीको विवरण सरकारले मागेको छ ।
बैंकिङ क्षेत्रका कर्मचारीलाई खोप लगाउनको लागि स्वास्थ्य मन्त्रालयले कर्मचारीको विवरण मागेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले जानकारी दिए । मन्त्रालयले एसोसिएसन मार्फत कर्मचारीको विवरण मागेको हो ।
‘तेस्रो चरणमा बैंकिङ क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई खोप लगाउनको लागि कर्मचारीको विवरण मागिएको छ, बैंकर्स एसोसिएसनमा सरकारले पत्र पठाएको थियो, एसोसिएसनले सबै बैंकहरुलाई पत्र पठाएर विवरण पठाउन भनेको छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले भने ।
सरकारले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थामा कार्यरत व्यक्तिहरुलाई पनि खोप लगाउनको लागि यसैगरी विवरण मागेको छ ।
तेस्रो चरणमा बैंकिङ क्षेत्रको साथै बीमा कम्पनीहरुमा कार्यरत व्यक्तिहरुलाई पनि खोप लगाउन लागिएको छ । यसका लागि जीवन र निर्जीवन दुबै बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संस्थामार्फत विवरण माग गरिएको छ ।
बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीलाई खोप लगाउन सरकारले विवरण मागेको र सोही अनुसार विवरण दिन सबै कम्पनीहरुलाई भनिएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।
‘सबै बीमा कम्पनीहरुका कर्मचारीलाई खोप लगाउनको लागि कर्मचारीको विवरण मागिएको छ, हामीले सबै बीमा कम्पनीहरुलाई आफ्ना कर्मचारीको विवरण दिनु भनेर पत्राचार गरेका छौं,’ समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक पौडेलले भने ।
सरकारले तेस्रो चरणमा बैंकिङ क्षेत्र तथा बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीलाई खोप लगाउँदा प्रादेशिकस्तरमै लगाउने तयारी गरेको छ । दोस्रो चरणमा पत्रकारहरुलाई खोप लगाउँदा केन्द्रीयस्तरमा अस्पताल तोकेर लगाएको थियो ।