काठमाडौं । टन्टलापुर घाम । बोराभरी कागती । फाट्टफुट्ट मानिसको आवतजावत । ती मानिसहरुमध्ये पनि केहीको मात्र ध्यान जान्थ्यो साइलीमाया तर्फ । कुनै दिन त एक दाना कागती नै बिक्री नगरी रित्तै हात घर फर्किनु पर्थ्यो साइलीमायाले । हो, काभ्रे धुलिखेल नगरपालिका ४ की साइलीमाया जिम्बा आजभन्दा २६ वर्ष अगाडिका दिनहरु यसरी नै सम्झिन्छन् ।
गाउँका रुखहरुमा फलेको कागतीहरु लिएर वानेश्वर चोकमा बसेर बिक्री गर्नु उनको दैनिकी थियो त्यतिखेर । ‘म १८ वर्षकी थिएँ, आफ्नै केही व्यापार व्यवसाय गर्नु पर्छ भन्ने मेरो सानैदेखिको चाहना थियो, त्यसैले पनि चोकमै बसेर कागती बेच्न सुरु गरेँ, यो यात्रा निरन्तर छ, अहिले यही काम गरेको २६ वर्ष पुग्यो,’ आफ्नो विगतलाई सम्झिँदै साइलीमाया भन्छिन्,‘कागतीलाई नेपालमा नै फलाएर विस्तार गर्ने मेरो ठूलो चाहना छ ।’
साइलीमाया अहिले ४४ वर्षकी भइन् । तर, आफ्नै व्यापार व्यवसाय गर्ने उनीभित्रको इच्छा भने कायमै छ । वानेश्वर चोकमा कागती बिक्री गरेको केही वर्षपछि उनी तीनकुनेको हरित स्मार्ट कृषि बजारमा आइन् । अहिले उनी सोही कृषि बजारमा कागती बिक्री गरिरहेकी छिन् ।
सुरुवाती दिनहरुलाई सम्झँदै साइलीमाया भन्छिन्, पहिले एक रुपैयाँको ४/५ दाना कागती पाइन्थे, ३ सय रुपैयाँकै कागती खरिद गरेर मैले कागतीको व्यापार सुरु गरेकी थिएँ, तर अहिले धेरै महँगियो ।’
३ सय रुपैयाँबाट सुरु गरेको कागती व्यापारले अहिले साइली मायाको निकै परिवर्तन भएको छ । साइली माया जिम्बाका दुई छोरा छन् । जेठो छोरा अष्ट्रेलियामा र कान्छो छोरा स्नातकमा पढ्छन् ।
साइली मायाका श्रीमानले फर्निचर व्यवसाय गर्छन् । उनी आजभोलि दैनिक ४० हजार कारोबार हुने बताउँछिन् । ‘दैनिक ४० हजार रुपैयाँ कारोबार हुन्छ, मासिक ४० हजार रुपैयाँ नाफा हुन्छ, नेपालमा कागतीको सम्भावना र व्यापार धेरै राम्रो छ,’ उनले भनिन् ।
आफुले सोचेको भन्दा राम्रो कमाई र व्यापार भइरहेको उनको भनाई छ । उनले भारतबाट कागती आयात गर्ने गरेकी छिन् । उनै साइलीमाया जिम्बाको पसलबाट बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक केजी कागती खरिद गरे ।
गभर्नर अधिकारीले सो तरकारी बजारमा क्यूआर कोडको आरम्भ गर्दै उनको पसलबाट कागती खरिद गरे । १५० स्टलमध्ये गभर्नर अधिकारीले साइलीमायाको कागती पसल नै रोजेर कागती खरिद गरेपछि उनले खुसी पोख्दै भनिन्, ‘आज म धेरै खुसी छु, क्यूआर कोडमार्फत पैसा भुक्तानी गरेर सामान खरिद बिक्री हुन्छ होला भन्ने कहिल्यै सोचेको थिएनँ, आज आफ्नै पसलबाट गभर्नरज्यूलाई क्यूआर कोडमार्फत नै सामान बिक्री गरेँ ।’
उनले अब आफु सुरक्षित महसुस हुने पनि बताइन् । ‘दैनिक ३०/४० हजार रुपैयाँ कारोबार हुन्थ्यो, खल्तीभरि पैसा बोकेर साँझ घर फर्किन्थेँ, आफुलाई असहज र असुरक्षित महसुस पनि हुन्थ्यो, अब घर जाने बेला ढुक्क जान पाइने भयो, पैसा बोक्नु परेन, सबै पैसा खातामै आउने भयो, धेरै खुसी छु,’ उनले भनिन् ।
बुधबार गभर्नर अधिकारीले सो तरकारी बजारमा १२० रुपैयाँको कागती खरिद गरेर क्युआर कोडमार्फत भुक्तानीको आरम्भ गरेका हुन् । माछापुच्छ्रे बैंकको सहकार्यमा सो तरकारी बजारमा क्युआर कोडको सुरुवात भएको हो ।
तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी हुने भएपछि सो तरकारी बजारका व्यापारी खुसी देखिन्थे ।
कुल १ सय ५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । अब केही दिनमै सबै स्टलमा क्युआर कोड मार्फत भुक्तानी गर्न सकिने बताइएको छ । व्यापारीहरुले क्यूआर कोडमार्फत कारोबार हुने प्रणालीको सुरुवात गरेपछि उनीहरुलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए ।
क्यूआर कोड लगायतका अनलाइन भुक्तानीले पारदर्शीता सँसँगै समयको पनि बचत हुने उनकाे भनाई छ । ‘यसले कारोबारमा पारदर्शिता ल्याउँछ, बैंकबाट कर्जा पाउन पनि सजिलो हुन्छ,’ उनले भने ।
यस्तै, उनले क्यूआर कोडमार्फत कारोबारका लागि सर्वसाधारणलाई अभ्यस्त बनाउने सरकारको लक्ष्य रहेको बताउँदै चाँडै नै राष्ट्र बैंकले नागरिकका लागि पृथक खालको कार्यक्रम ल्याउने बताए ।